6th December | 2020 | Sunday | 4:20:38 AM

फेरि उही कुरा

  POSTED ON : मंसिर ५, २०७७ (९:२३ AM)

फेरि उही कुरा

नेपाल कम्युनिष्ट पार्टीको कलहले गम्भीर रूपमा दुई पक्षलाई सोचनीय बनाएको छ । पहिलो नेपालको लोकतन्त्रका मूल्यमाथि गम्भीर प्रहार र दोस्रोे राष्ट्रिय स्वाधीनता र स्वतन्त्रतामाथि सिधा हस्तक्षेप । यसैकारण नेपाल कम्युनिष्ट पार्टीभित्रको कलह घर झगडामात्र हो भनेर अब बस्नु निश्चय अनुचित हुनेछ । तीन वर्ष पहिले ठूला दुई कम्युनिष्ट पार्टी मिल्दा ती दुई नेतृत्वका बीचमा अन्तिम सत्य सत्ता भन्ने सिद्धान्तले पूर्ण निर्देशित गरेको थियो । तर जनतालाई समृद्धि र विकासको रसमलाई चखाउने काम भयो र जनताले पनि पत्याएकै हुन् । तर यो तीन वर्षको शासकीय समयमा समृद्धि आफैं भाग्यो, विकास नेपाली जनताको ढोकासम्म आएन । उल्टै लोकतन्त्रका स्थापित सिद्धान्त र मूल्यहरूमाथि घातक हमला हुनपुग्यो र राष्ट्रको स्वाधीनता नै खतराको विन्दुमा पुगेको अवस्था छ । नेपाली जनताले प्रतिदिन नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष बीचको चिथोराचिथोरीले देश र लोकतन्त्र अनि परिवर्तन नै घाइते भएको हेर्नु र व्यहोर्नु परिरहेको छ ।
अहिले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीसमेत रहनु भएका केपी ओलीविरुद्ध प्रस्तुत गर्नुभएको आरोप पत्र र वारकि पार हुनै पर्ने ओलीको प्रत्युत्तरले यो पार्टी एक भएर बस्नुको अर्थ अब कुनै हालतमा राष्ट्रको दुर्गतिको कारण बन्नु हुने देखिन्छ । नेपाल कम्युनिष्ट पार्टीका नेता र सिंगो पार्टी पंक्तिबाट राष्ट्रको दुर्गतिको कारण बन्नुभन्दा विभाजित भएर शक्तिसन्तुलनको ढोका खोल्न अर्को कुनै उचित विकल्प खोज्नु सुदूर भविष्यका लागि हितकर हुनसक्छ । यसै पनि यी दुई दलको एकता नर न नारीको अवस्थामा भएको थियो वैचारिक रूपमा ।लोकतान्त्रिक प्रणालीलाई वरण गरे पनि उनीहरूले आफूलाई लोकतन्त्रप्रति पूर्ण प्रतिबद्ध बनाउने विचार ग्रहण गरेका छैनन् भने समाजवादका नाममा एकदलीय तानाशाहीको यात्रामा पनि आफूलाई प्रतिबद्ध गराउन सकेका छैनन् । अर्थात् न हाँसको चाल न कुखुराको चाल चल्दै नेपाली जनतालाई एकापट्टि हाँसको दृश्य र अर्कापट्टि कुखुराको दृश्य देखाएर भ्रमित तुल्याउने काम भएको छ । अब यस प्रवृत्तिको अन्त्य हुनु जरुरी छ । यसतो प्रवृत्तिको अन्त्य यो नेकपा नामको पार्टी सिंगो रहेसम्म सम्भव हुँदैन । नगरी खाने न मरी जाने अवस्थामा देशलाई यो एकताले वर्वादबाहेक केही असल काम गर्ने कुनै लक्षण छैन । नेपाल कम्युनिष्ट पार्टीको पछिल्लो पुस्ता यदि एकताका पक्षमा उभियो भने त्यो पुस्ता पनि देशलाई वर्वाद गराउन जिम्मेदार मानिनेछ । किन भने फुटेको घैंटोमा जति पाइन् लगाए पनि जोडिने छैन र पानी जति भरे पनि घरसम्म पुग्ने छैन बाटैमा चुहेर सिद्धिनेछ ।

नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विरोध र विवादको उत्कर्षमा उही पुरानो कुरा स्मरण गर्नुपर्ने भएको छ । छिमेकी मित्र राष्ट्र चीनका राजदूतको हस्तक्षेपकारी र अत्यन्त आपत्तिजनक सक्रियता र नेपालका राष्ट्रपतिको पक्षपातपूर्ण व्यवहार । यी दुई पार्टीको एकता नेपालको हित, नेपाली जनताको स्वार्थ र नेपालको समृद्धि र स्वाधीनताका लागि नभएर मित्र राष्ट्र चीनको स्वार्थ बोक्ने एक सबल शक्तिको निर्माण गर्नुमा थियो भन्ने तथ्य घाम जत्तिकै छर्लंग भएको छ । बितेको केही वर्षदेखि नै चीनका राजदूतहरूले नेपाल कम्युनिष्ट पार्टीको विवाद मिलाउन खेलिरहेको मध्यस्थताको भूमिका गर्नेलाई भन्दा हेर्नेलाई लाज समान छ ।भारतीय हस्तक्षेपविरुद्ध निरन्तर आवाज उठाएको दाबी गर्ने नेपालका कम्युनिष्टहरू अवसर पाउँदा कसरी अर्को देशका स्वार्थको भरिया हुन तयार हुने रहेछन् स्पष्ट भएको छ । भारत वा चीन अनि अरू कुनै पनि मुलुकको भरिया हुनेहरू राष्ट्रवादी हुनसक्दैनन् । चीनको यो सक्रियताले नेपालको स्वाधीनता र स्वाभिमानमाथि ठाडो हस्तक्षेप गरेको छ र कम्युनिष्ट पार्टी माध्यम बनिरहेको छ । यसैगरी राष्ट्रपति सिंगो नेपाल र नेपालीको हुनुपर्ने मान्यताविपरीत नेपाल कम्युनिष्ट पार्टीको निर्णायक मण्डलीको मुखियामा परिणत हुनुभएको छ । जुन दुर्भाग्यपूर्ण छ । राष्ट्रपतिको यो भूमिका नेपालको लोकतन्त्र र यसका मूल्यविरुद्ध प्रहार भइरहेको छ । हाम्रो आग्रह छ मित्र राष्ट्रको हस्तक्षेप निम्त्याउने र राष्ट्रपतिलाई निर्णय मण्डलीको मुखिया बनाउने काम नेपाल कम्युनिष्ट पार्टीले तत्काल बद गरोस् । यसैमा देश र लोकतन्त्रको भलो छ ।


Views: 90

सम्बन्धित सामग्री:

सकारात्मक कार्यको थालनी

: मंसिर १७, २०७७ (८:५० AM)