18th January | 2021 | Monday | 1:10:54 AM

परीक्षा केन्द्रमा अपेक्षित सुरक्षा

  POSTED ON : मंसिर १०, २०७७ (८:५९ AM)

परीक्षा केन्द्रमा अपेक्षित सुरक्षा

अन्ततः कक्षा १२ को अन्तिम परीक्षा मंगलबारबाट सुरु भएको छ । यसबाट लामो समयदेखि अन्यौलमा रहेको विद्यार्थीहरूको एक प्रकारको चिन्ता टरेको छ । परीक्षा गत वैशाकको अन्तिमा हुनुपर्ने थियो । विगत वर्षमा सोही समयमा हुँदै आएर समयमै परीक्षाफल प्रकाशन हुने गरेकोमा यस वर्ष कोरोना भाइरसका कारण प्रभावित बनेको हो । राष्ट्रिय परीक्षा बोर्डले कार्य तालिका प्रकाशन पनि गरिसकेकोमा सरकारले गत चैत ११ गतेबाट सुरु गरेको लकडाउनले एसइईलगायत उच्च माध्यिमिक तहका परीक्षा प्रभावित थिए । एसइई र कक्षा ११ को परीक्षालाई लोमो समयको छलफलपछि आन्तरिक रूपमै सम्पन्न गर्ने कार्य भयो । एसइईका विद्यार्थीको त परीक्षाफल प्रकाशित भएको लामै समय भयो । कक्षा ११ का विद्यार्थीको परीक्षा पनि आन्तरिक रूपमा सञ्चालन भइरहेको छ । 

उच्च माध्यमिक तहको अन्तिम परीक्षा भएका कारण १२ कक्षाको परीक्षा आन्तरिक रूपमा लिन सहज नभएकाले लामो समय प्रतीक्षा गरियो । सरकारले तत्काल कुनै निर्णय दिन सकेन । कोरोनाको संक्रमण कम हुँदै जाने आशा सरकार, अभिभावक, विद्यार्थी शिक्षक सबैमा थियो तर आशाभन्दा विपरीत संक्रमण झन् बढिरहेको छ । कक्षा १२ का विद्यार्थीहरूको अन्तिम परीक्षासम्बन्धी अन्यौल कायमै रहेका बेला राष्ट्रिय परीक्षा बोर्डले मंसिर ९ गतेबाट उक्त परीक्षा गर्नेगरी कार्य तालिका प्रकाशन गरेको थियो ।

दशैँ, तिहार र छठ सकिनासाथ कोरोनाको संक्रमण अझै बढ्ने आकलन गरेर यो परीक्षा हुन्छ भन्ने कुरामा सबैको सन्देह थियो । उपत्यकाका नगरपालिका प्रमुखहरूले कोरोना संक्रमण कम होस् भन्न कम्तीमा एक महिना पहिलेको भन्दा कडा खालको लकडाउन गरौं भनेर गरेको निर्णय कार्यान्वयन भएका खण्डमा कक्षा १२ को बोर्ड परीक्षालगायत अन्य परीक्षासमेत पुनः प्रभावित बन्न जान्छन् भन्ने अनुमान थियो । तर पूर्वनिर्धारित समयमै परीक्षा सञ्चालन हुनुले विद्यार्थी तथा अभिभावकमा एक प्रकारले उत्साह पैदा भएको छ । साढे ६ महिना पहिलै सम्पन्न भएर हालसम्ममा परीक्षाफल प्रकाशन भइसक्नुपर्ने अवस्थामा अहिले आएर भए पनि परीक्षा सञ्चालन भएको छ । 

अर्कातिर परीक्षा केन्द्रहरूमा भौतिक दूरी कायम गर्नेलगायत सुरक्षा व्यवस्था के कसरी सम्पन्न भएका छन् तिनको प्रबन्ध हुन नसके त्यसबाट पैदा हुने परिणामको भयबाट भने सबै निश्चिन्त हुन सकिरहेका छैनन् । कुनै परीक्षार्थी नै कोरोना संक्रमित भएका खण्डमा उसलाई परीक्षाबाट वञ्चित गराउन त मिल्दैन । परीक्षा बोर्डले त्यस्ता विद्यार्थीहरूलाई अरूभन्दा १५ मिनेटपछि हलमा पठाउने र १५ मिनेट पछिसम्म परीक्षा दिन दिने भनेर गरेको निर्णयमात्र पर्याप्त हुन नसक्ला, साथीको नजिक बसेर परीक्षा दिने चाहनाले कतिपय संक्रमित विद्यार्थीले आपूm संक्रमित भएको कुरा नखुलाएको खण्डमा त्यसको परिणाम कस्तो आउला ? 

यदि कोही संक्रमित विद्यार्थीले इमानदारीताका साथ आपूm संक्रमित भएको जनउ दिएर परीक्षा हलमा प्रवेश गरेको खण्डमा परीक्षा केन्द्रमा उसले प्रयोग गरेका फर्निचरलगाया साधनहरूलाई निर्मलीकरण गर्ने गरिन्छ वा गरिँदैन त्यो महत्वपूर्ण सवाल हो । नत्र उसको संक्रमणबाट अरूलाई सुरक्षित गर्न परीक्ष केन्द्र कसरी सफल होला ? यसरी जोखिमपूर्ण तरिकाले परीक्षा लिनुभन्दा एसइई र ११ कक्षाको जस्तै आन्तरिक लब्धांक हेरेर कक्षा चढाउने काम गरेको भए पनि अन्यथा हुने थिएन । एक सय पूर्णांकमा ४० पूर्णांकको परीक्षामात्र बोर्डले लिइरहेको छ र बाँकी ६० मध्ये ४० कक्षा ११ को अंक हेरेर र बाँकी २० सम्बन्धित क्याम्पसले दिनेगरी यो परीक्षा भइरहेको हो । छोटो समयमै सकिने यो परीक्षा सञ्चालन भइरहेको छ । अब स्थगित हुने सम्भावना छैन । तर, विद्यार्थीहरूको जमघट हुने यस्ता परीक्षा हलहरूमा पर्याप्त सावधानी भने अपनाउनुपर्ने हुन्छ । 


Views: 69