18th January | 2021 | Monday | 12:06:51 AM

महानगरको सराहनीय कार्य

  POSTED ON : मंसिर ११, २०७७ (८:१२ AM)

महानगरको सराहनीय कार्य

काठमाडौं महानगरपालिकाले मोबाइल भ्यानबाट नागरिकहरूका घरघर गएर स्वाब संकलन गर्ने निर्णय गरेको छ र उक्त निर्णय कार्यान्वयनको थालनी भइसकेको छ । महानगरपालिकाको उक्त कार्य प्रशंसनीय छ । यो कार्य निकै पहिलेदेखि हुनुपर्ने थियो । ढिलै भए पनि महागरले गरेको यस कार्यको स्यावासी उसले पाउनै पर्छ । महानगरपालिकाले गरेको यस कार्यको समन्वय सरकारसँग भने नभएको हुन सक्छ । किनभने, सरकारले नागरिकहरूको पिसिआर टेष्ट निःशुल्क गराउन नसक्ने घोषणा गरेको निकै समय भइसकेको छ । 

यतिमात्र होइन सरकारले त कोरोना बीमा गरेका संक्रमितहरूलाई बीमाको रकम नदिने भनिसकेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना संक्रमणको सुरुवातमै नागरिकहरूले होम क्वारेन्टाइनमै बस्नुपर्ने सरकारले उनीहरूका लागि व्यवस्था गर्न नसक्ने बताउनुभएको थियो । उहाँ बेलाबेलामा विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आइरहनुहुन्छ । हालैमात्र उहाँले कोरोनाको खोप प्रमाणित हुनासाथ सबै नेपाली नागरिकका लागि उक्त व्यवस्था गरिने बताउनु भएको छ । उहाँको यो अभिव्यक्तिले ‘पहेंलो पोते नदिनेले तिलहरी ताक्छ’ भन्ने नेपाली उखानको संस्मरण गराएको छ । 

जनताको निःशुल्क पिसिआर टेष्ट गर्न नसक्ने सरकारले विश्वमै दुर्लब र भरखर प्रमाणित हुँदै गरेको खोप झिकाएर आफ्ना नागरिकको सुरक्षा गर्छ भन्ने कुरामा जनविश्वास त हुनु प¥यो । त्यसकारण राष्ट्रको मूल कानुन वा संविधानले नै कुनै ठूलो महामारीका समयमा नागरिकहरूको स्वास्थ्योपचार गरिदिनुपर्ने दायित्व सरकारको हो भनेको हुँदाहुँदै सरकार त्यसबाट हात झिकेर भाग्ने काम गरिरहेको छ । पश्चिमी मुलुकहरूमा नागरिकहरू कर तिर्नका लागि हरिहत्ते गर्छन् भन्ने गरिन्छ । यस कारण आफ्नो सम्पूर्ण जिम्मेवारी राष्ट्रले लिइदिने भएको हुँदा हाम्रो जस्तो कर छल्ने संस्कार त्यहाँ नभएको हो । हाम्रोमा भने नगरिकबाट सकेसम्म बढी कर लिएर पनि सरकार आफ्नो जिम्मेवारीबाट भाग्ने गर्छ । त्यसैले नागरिकहरू कर छल्ने प्रयत्न गर्छन् । 

सरकारसँग उसका स्थानीय निकायहरूको समन्वय राम्ररी हुने गरेको छैन । सरकारले नागरिकको पिसिआर टेष्ट गर्न सक्दिनँ भनेका बखतमा केही प्रदेशहरूले निःशुल्क पिसिआर टेष्ट गरिदिइरहेका छन् । यस्तै स्थानीय निकायहरू पनि आफ्नो स्रोत, साधन र सामथ्र्यका आधारमा नागरिकहरूको कोरोना टेष्ट निःशुल्क गरिदिन अग्रसर बनेको छन् । जसको एउटा उदाहरण हो काठमाडौं महानगरपालिकाले मोबाइल भेन परिचालन गरेर गरिरहेको स्वाब संकलनको कार्य । तर, महानगरपालिकाले सबै वा संक्रमणको शंका लागेका नागरिकको स्वाब लिने कार्य गरेको छैन । अनाथ, असहाय, वृद्ध, रोगीहरूको मात्र मोबाइल टोलीबाट स्वाब लिने कार्य गरेको छ । 

यतिमात्र भए पनि महानगरलाई धन्यवाद दिनै पर्ने हुन्छ । सरकारले हिक्मत हारिरहेका बेला महानगरले अरू केही नगरे पनि अहिले आएर आशा देखाएको छ । काठमाडौं महानगरपालिका आर्थिक रूपमा पनि सबल छ । वास्तवमा अति राजनीतिको प्रभावका कारण अरू केही नगरपालिकाहरूले पनि महानगरपालिका बन्ने सौभाग्य पाएका हुन् । महानगर भनेको नगरहरूमध्येको ठूलो एउटा नगर मात्र हुन सक्नु पर्ने हो र यो काठमाडौंले मात्र प्राप्त गर्नु पर्ने थियो । साधन र स्रोत सम्पन्न नगरपालिका भएका नाताले यसले सबै सम्भाव्य नागरिकहरूको स्वाब संकलन र परीक्षण निःशुल्क रूपमा गरिदिन सके महानगरपालिका अझै प्रशंसाको पात्र बन्नसक्ने कुरा निर्विवाद छ । सक्षम र कन्ट्याक टे«सिङमा रहेकाहरूलाई पिसिआर टेष्स्ट आफैं गर्न महानगरपालिकाले आग्रह गरेको छ जुन अनुचित होइन तर तिनको समेत टेष्ट महानगरपालिकाबाटै गर्ने व्यवस्था हुनसके महापालिकाप्रति नागरिकहरूले सकारात्मक सोच विकास गरी कृतार्थ बन्न पाउँने थिए । महानगरपालिकाका लागि पनि जनताको सेवा गर्ने यो एउटा गतिलो अवसर हुनसक्ने थियो । 


Views: 94

सम्बन्धित सामग्री: