27th January | 2021 | Wednesday | 7:28:13 PM

बढ्दो चिसोेसँगै मानव स्वास्थ्य प्रतिकूल

  POSTED ON : पुष २२, २०७७ (८:०७ AM)

बढ्दो चिसोेसँगै मानव स्वास्थ्य प्रतिकूल

केही दिनबाट चिसोको प्रभाव बढिरहेको छ र यो क्रम जारी छ । चिसो झन्झन् बढिरहेको अवस्थामा यसले मानव स्वास्थ्यलाई नकारात्मक असर पार्ने कुरा निर्विवाद हो । मौसमविद्हरूले मौसम चिसिने क्रम केही दिन रहने बताएका छन् । हाम्रो देश आकारमा सानो भए पनि भौगोलिक बनावटमा यसमा विविधता छ । निकै होचा तराईका मैदानदेखि संसारकै सबैभन्दा अग्ला हिमाल यहाँ छन् । त्यसैले हिमालमा हिउँ परिरहन्छ र हिमाली क्षेत्रमा धेरै चिसो हुनेगर्छ । चिसो मौसममा त्यहाँ हिउँ नपर्ने कुरा भएन । हिमालका काखदेखि निकै तलका उच्च पहाडी भागमा हाल हिमपात भइरहेको छ । ती ठाउँहरूको जनजीवन निकै कष्टकर भएको छ । शीतप्रदेशको मात्र कुरा होइन समशीतोष्ण पहाडी भाग अहिले निकै चिसिएका छन् । वर्षाद् हुन राम्ररी सकेको छैन तर लामो समयसम्म बदली रहनाले चिसोले कठांग्रिनुपर्ने बाध्यता छ । 

तराई वा मधेस हाम्रो देशको मैदानी भाग हो । यहाँ धेरैजसो गर्मी हुन्छ । गर्मी महिनामा यहाँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी पुग्छ । गर्मीमा लू लागेर धेरै मान्छेको निधन हुन्छ तर हिउँदमा कठांग्रिने जाडो हुन्छ । चिसोले बरु हिमाली क्षेत्रमा मान्छे मरेको सुनिँदैन तराईमा धेरै मान्छे मर्ने गरेका छन् । केही दशक पहिलेसम्म काठमाडौंका सम्पन्न मानिसले हिउँदमा काठमाडौंको जाडो छल्न भनेर तराईमा घरजग्गा राखेका हुन्थे र जाडो महिनामा तराई र गर्मी महिनामा काठमाडौंमा बस्ने गर्थे । तर, मौसमको फेरबदलले गर्दा आजकाल जाडो महिनामा काठमाडौंमा भन्दा तराईमा चिसो हुनेगरेको छ । देहाततिरका विपन्न मानिसहरू घुर तापेको भरमा चिसो समय कटाउने गर्छन् । तिनीहरूसँग पर्याप्त लाउने लुगा र ओढ्ने ओछ्याउने नहुनाले चिसाका कारण तिनीहरू नै मृत्युका मुखमा पर्ने गरेका छन् । 

पहाड न चिसो महिनामा धेरै चिसो न गर्मीमा सहनै नसक्ने गर्मी हुने ठाउँ भएका कारण यहाँका मानिस चिसैका कारण मृत्युका मुखमा पर्नुपरेको घटना कमै पाइन्छन् । तर, यसो भन्दैमा चिसाको प्रभाव पहाडमा पर्दैन भन्ने होइन । प्रभाव धेर–थोरमात्र हो । चिसाले हाल सबैतिर प्रभावित बनाएको छ । बुढापाकाले भन्ने गरेको मीन पचासको बेला हो यो । मंसिर २० देखि माघ १० सम्मका पचास दिनलाई मीन पचास भन्ने गरिएको छ । यसअवधिमा माछालाई समेत जाडो हुन्छ भन्ने मान्यता राखिन्छ । चिसोका समयमा श्वासप्रश्वास, ब्रोङ्काटिस, निमोनिया, बाथजस्ता रोगले बढी चाप्ने गर्छ । यस्ता दीर्घ रोगीलाई चिसोबाट बचाउनु सबैको दायित्व हो । श्वास नली खुम्चिने हुनाले दमका रोगीलाई चिसामा बढी गाह्रो हुन्छ । संरक्षकहरूले तिनको संरक्षणमा विशेष ध्यान दिनु र निगरानी पु¥याउनुपर्ने हुन्छ । बुढाबुढीका लागि चिसो अभिशाप हो । तिनको संरक्षण परिवारजनको अर्को विशेष जिम्मेवारीमा पर्न जान्छ । 

चिसोले रक्तसञ्चारमा बढी असर गर्ने हुनाले मुटुमा जाने रक्तनली साँघुरा बनाउने र रगत जमाउने गर्नाले समस्या पैदा हुन्छ । अहिले त कोरोनाको महामारी पनि थपिएको छ । गत वर्ष यस्तै चिसो महिनाबाट यो महामारी देखापरेको हो । हाल बेलायत र अन्य केही मुलुकमा देखापरेको कोरोनाको नयाँ प्रकारबाट सावधान हुनुपर्ने त छँदैछ । त्यसमाथि पनि धुवाँ र धुलाको मारबाट जोगिन नसक्दा समस्या अझै बल्झिन सक्छन् । धूमपान गर्नेका लागि यो झन् प्रतिकूल समय हो । मौसम पूर्वानुमान महाशाखाले चिसोबाट बच्न अनुरोध गरेकोबाट पनि मौसमको प्रतिकूलताको अनुमान गर्न सकिन्छ । तर, सरकारको दायित्व अनुरोध र आग्रह गरेरमात्र पूरा हुने होइन । सचेतना र सहयोग पुग्ने खालका कार्यक्रम ल्याउनुपर्छ । संघ, प्रदेश र पालिका वा स्थानीय निकायले आआफ्ना सामथ्र्य र स्तरका कार्यक्रम ल्याएर यस्तो बेलामा रणनीतिक कार्यक्रम अगाडि सार्नु तिनको प्रमुख जिम्मेवारी हो । 


Views: 65

सम्बन्धित सामग्री:

धर्म अफिम नै हो त ?

: माघ १४, २०७७ (८:३७ AM)

नेकपाको अबको स्थिति के !

: माघ १३, २०७७ (९:११ AM)