27th January | 2021 | Wednesday | 7:57:26 PM

आन्दोलन प्रमुख प्रतिपक्षको जिम्मेवारी

  POSTED ON : पुष २३, २०७७ (७:२५ AM)

आन्दोलन प्रमुख प्रतिपक्षको जिम्मेवारी

हाल नेपालको राष्ट्रिय राजनीति एउटा गम्भीर मोडमा पुगेको अवस्था छ । सर्वमान्य संसदको गरिमामय प्रतिनिधिसभा विघटन भएको छ । सत्तारुढ दलकै एउटा घटक सरकारको विरोधमा सडक आन्दोलनमा छ । प्रधानमन्त्री तथा राष्ट्रपतिका विरोधमा उनीहरूबाट असभ्य नारा लागिरहेका छन् । प्रधानमन्त्री पनि तिनका विरुद्धमा गाली गलौजमै हुनुहुन्छ । यी सबै अवस्थालाई हेर्दा तत्काल यसको कुनै निकास देखिँदैन । प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिबाट भएको प्रतिनिधिसभा विघटनको विरुद्ध सर्वोच्च आदालतमा विघटित प्रतिनिधिसभाको पुनस्र्थापनाका लागि रिट निवेदन परेका छन् । सडक संघर्षमा रहेकाहरू प्रतिनिधिसभा पुनस्र्थापना हुनेमा ढुक्क छन् । उता प्रधानमन्त्री आफूले विघटनको सिफारिश गरेको प्रतिनिधिसभा पुनस्र्थापना हुँदैन भन्नेमा ढुक्क हुनुहुन्छ । निर्वाचन आयोगमा पनि विभाजित नेकपाका दुवै घटक पार्टीको आधिकारिकता र झण्डा तथा चुनाव चिन्हको दाबीसहित उपस्थिति भएका छन् । 

सर्वसाधारण जनता भने पहिलेदेखिको राजनीतिक अस्थिरता हटोस् भन्ने चाहनाले आफूले नेकपालाई दिएको झण्डै दुई तिहाइ मतबाट पनि राजनीतिक स्थिरता पैदा नभएको, त्यसबाट झन् अस्थिरता निम्तिएको देखेर निरास भएका छन् । अब नेपालको राजनीतिले कुन बाटो समात्ने हो भन्ने चासोका साथ हेरिरहेका छन् । तोकिएको समयमै चुनाव हुने हो भने वैशाख १७ र २७ अब धेरै पर छैनन् । चार महिनापछि त्यो समय आइहाल्छ । अब फेरि कसलाई कुन प्रयोजनका लागि मत दिने भन्ने चिन्ता जनतामा हुनु अस्वाभाविक होइन । उता नेपाली कांग्रेस हाल प्रमुख प्रतिपक्षमा छ । पाँच वर्षका लागि नेकपाले बहुमत पाएसँगै कांग्रेसका लागि प्रतिपक्षमा बस्नुको विकल्प थिएन । उसले जिम्मेवार प्रतिपक्षीको भूमिकामा रहनैपथ्र्यो र उसले उक्त जिम्मेवारी इमानदारीताका साथ पूरा गर्ने प्रण पनि गरेकै हो । 

तर, सत्तारुढ दालभित्रकै अन्तरकलह र विग्रहका कारण एक थरि सडकमा पुगेका छन् र अर्को थरि सरकारमा छन् । वास्तवमा नेपाली कांग्रेसका लागि यो अवसर थियो । सत्तामा जान पाँच वर्ष पर्खिनुपर्नेमा साढे तीन वर्षमै उका लागि अवसर आएको हो । नेपाली कांग्रेसभित्रको एउटा पक्षले यस्तो सोच बनाएको थियो । त्यसैले सडक आन्दोलनका लागि सर्वोच्चको निर्णय पर्खिनुपर्छ भन्ने तर्क गरिएको थियो । प्रजातान्त्रिक पार्टी भएका कारण चुनावमा जानुपर्छ भन्ने आवाज यही तर्कको पक्षमा आएको हो । तर, राजनीति गर्नु सत्तामा जानका लागिमात्र होइन । मन्त्री तथा अन्य उच्च पदमा रहनका लागिमात्र होइन भन्ने निष्कर्षमा हाल नेपाली कांग्रेस पुगेको छ । प्रजातान्त्रिक पार्टी भएका नाताले प्रजातन्त्र र वर्तमान पद्धतिको रक्षा गर्नु आफ्नो कर्तव्य हो भन्ने उसले ठानेको छ । हाल जनस्तर, साना दल र केही जिम्मेवारहरूबाटै पनि गणतन्त्रको विरोध भइरहेको छ । जनतालाई करको गरुंगो भारी बोकाउने खर्चिलो गणतन्त्र र यसअन्तर्गत रहेका प्रदेशसभाहरू खारेजीमा आवाज उठिरहेको छ । सरकारबाट पनि त्यही आशयका अभिव्यक्ति आउने गरेका छन् ।

यस्तो अवस्थामा नेपाली कांग्रेसले यो राज्यव्यवस्या र संविधानको रक्षाका लागि चुनावमा जानका लागि हतारिनु हुँदैन । सम्मानित न्यायपालिकाबाट चुनावकै पक्षमा फैसला भएको खण्डमा प्रजातान्त्रिक पार्टी भएको हुँदा जनतासामू गएर मत माग्नु त छँदैन । हालका लागि संविधान र व्यवस्थाको संरक्षणका लागि सडक आन्दोलन गर्नु नै उपयुक्त हो । उक्त कुरा बुझेरै नेपाली कांग्रेसले विरोधका कार्यक्रम दिएको छ । जसअनुसार पुस २५ गते देशभरका प्रदेशसभाभित्रका ३ सय ३० ठाउँमा सरकारविरुद्ध प्रदर्शन गर्ने, माघ ३ गते स्थानीय तहका ७ सय ५३ स्थानमा र माघ ८ गते ६ हजार ७ सय ४३ वडाहरूमा विरोधका कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ । यसरी हाल कांग्रेसले निकै सोच विचारपछि सरकारको विरोधमा जुन कार्यक्रम दियो त्यो निर्वाचनको हतारोभन्दा उपयुक्त बाटो हो । यदि निर्वाचन भइहाल्यो भने हालको विरोधका कारण उसलाई कुनै अप्ठ्यारो पर्दैन बरू फाइँदै हुन्छ । 


Views: 61

सम्बन्धित सामग्री:

धर्म अफिम नै हो त ?

: माघ १४, २०७७ (८:३७ AM)

नेकपाको अबको स्थिति के !

: माघ १३, २०७७ (९:११ AM)