22nd January | 2021 | Friday | 11:11:43 AM

राष्ट्रिय एकता र पृथ्वीनारायण शाहको सम्मानमा

  POSTED ON : पुष २७, २०७७ (८:३५ AM)

राष्ट्रिय एकता र पृथ्वीनारायण शाहको सम्मानमा

इतिहासको वृक्षमा झुण्डिनेहरूले फेदप्रति अनादर गर्न लागे भने के हुन्छ ? यो प्रश्न गर्नै पर्ने भएको छ । यसो पनि हुनसक्छ टुप्पामा बसेर फेद गिड्न लाग्दा गिड्नेलाई के भनिन्छ ? पितामाता पुर्खाले बनाइदिएको घरमा अंशबण्डा गरेर बस्ने र कुस्ती खेल्ने तर त्यो घर निर्माता ती मातापिता पुर्खालाई भने लाञ्छित र अपमानित गर्ने कामलाई के भनिन्छ ? आफ्नो समय र युगमा एक बित्ता जमिन जोड्न नसक्ने सन्तानहरूले आफूलाई महान्, युगान्तकारी परिवर्तनकारी, प्रगतिशील भन्दै गर्दा जसले बस्ने जमिन फराक पारिदियो, कुस्ती खेल्ने मैदान बनाइदियो र स्वतन्त्रता र सुरक्षाको नीतिको जग बसायो त्यसका सबै स्मृति चिन्हहरू मेटाइदियो भने इतिहास भन्ने तत्व नै समाप्त हुन्छ कि हुँदैन ? र वर्तमानबाहेक केही नदेख्नेहरूले निरंकुशता, अधिनायकवाद कायम गरी सबैलाई कमारोमा परिणत गरे भने कसलाई दोष दिने ? यो प्रश्न विस्तारै नेपाली जनताको सामूहिक हुन लागेको छ । 

सन्दर्भ हो तत्कालीन महाराजा पृथ्वीनारायण शाहको स्मृति र राष्ट्रिय एकता दिवसको । बीस वर्षको उमेरमा महान् नेपाल, एकीकृत नेपाल र सुरक्षित नेपाल बनाउने परिकल्पना, योजना र कार्यान्वयनका लागि दृढ मनोबल आजका कुनै मानिसहरूले कल्पना गर्न सक्ने अवस्था छैन । किम्वदन्ती जस्तो लाग्छ पढ्दा र अध्ययन गर्दा । अनेक खाले द्वन्द्वमा अहिले पनि क्रूरतापूर्वक मारिएका छन् मान्छेहरू । हामीले हाम्रै देशमा हाम्रै आँखाले देख्यौं र भौग्यौं पनि । राष्ट्रिय अभियानको समयमा केही क्रूरता, कठोरता भएको हुनसक्छ । अपठित एउटा युवाले गरेको नेतृत्व निश्चय पनि सर्वगुणसम्पन्न भएन होला । आजका अनेक विषयगत विशेषज्ञहरूले चलाइरहेका सत्ता हामीले देखेका छौं । सूचना प्रविधिले सहज बनाएको अवस्था छ । नवीनतम् आविष्कारहरूले मानिसलाई निकै सहज बनाइदिएका छन् । तर पनि हामी शासकीय कुशलता र मर्यादा स्थापित गर्न सकिरहेका छैनौं भने आजभन्दा करिब अढाई सय वर्षपूर्व पृथ्वीनारायण शाहको समय कस्तो थियो होला ? अनुमान गर्न कठिन छ ।

तर उनले बृहत् नेपाल जोड्ने अभियानको नेतृत्व गरे । त्यसक्रममा अनेक नेपालीहरूले बलिदान दिए, रगत बहाए, सर्वस्व गुमाए । तर, यो पवित्रतम् भूक्षेत्रको सुरक्षा गरे, पावन क्षेत्रको रक्षा गरे र आजका दिनमा हामी नेपालीलाई अलिकति फराक देश प्रदान गरे । तर, हामी नेपालीहरूको यो पुस्ता यथार्थमा कृतघ्न भयो, अनेक प्रगतिशीलता र क्रान्तिकारीताका नाममा । पृथ्वीनारायणलाई एकीकरणको अभियानमा सानो सुझाव दिने किम्वदन्तीको नायक बिसे नगर्चीको शालिक स्थापना गर्न तामझाम गर्ने तर तिनै एकीकरणका अभियन्ताको शालिक भत्काउने काम हामी गरिरहेका छौं । गरिब किसानको ऋण माफ गर्न आग्रह गर्नेको इतिहास बनेको छ तर जसले यथार्थमा त्यो सुझाव कार्यान्वयन गर्ने काम ग¥यो उसको कुनै अत्तोपत्तो छैन । बिसे नगर्चीको सम्मान र शंखधरको इतिहास सुरक्षित र सम्मानित हुनु जरुरी छ । उनीहरूले विचार र उपाय प्रदान गरेका हुन् । तर, तिनको शालिकमुनि कार्यान्वयन गर्ने महापुरुषहरूको इतिहासलाई खाल्डोमा पुर्नुुहुँदैन भन्ने हाम्रो आसय हो ।

भीमसेन थापाको साहस गौरवयोग्य छ तर उनको नेतृत्वको युद्धले आधा नेपाल गुमायो । जंगबहादुरका अनेक अवगुणहरू छन् तर सुगौली सन्धिबाट गुमेको भूभागको एउटा महŒवपूर्ण भाग नेपालमा भिœयाए । अहिले लिम्पियाधुरादेखि केही दक्षिणी भूभाग र उत्तरी हिमाली क्षेत्रका केही क्षेत्रफल फिर्ता गर्न हामी सकिरहेका छैनौं । अनि हामी ती इतिहासका पात्रहरूको अपमान गर्नमा शक्ति क्षय गरिरहेका छौं र आफ्नो असफलता, अयोग्यतालाई ढाक्न पर्दा हालिरहेका छौं । नेपालको सुरक्षा नीति आज पनि राजा पृथ्वीनारायण शाहको दिव्योपदेशमा केन्द्रित छ । हाम्रो अवस्थालाई उनले युग युगसम्म परिवर्तन नहुने गरी परिभाषित गरिदिएका छन् । उनी गलत हुन् भने नेपाल बाइसी चौबीसी युगमा फर्कनु प¥यो र अनेक स्वतन्त्र र सार्वभौम हिमाली राज्यहरू हुने परिकल्पना गर्नु प¥यो । 

नत्र सिंगो र आजको नेपालको सुरक्षा गर्ने हो भने उनले दिएको विचारकै जगमा र उनको नेतृत्वमा विस्तारित भूमिकै सहारामा नेपालले आफ्नो यात्रा अघि बढाउनुपर्ने हुन्छ । यो भूमिको जगेर्ना गर्न र यसको विकास गर्न पृथ्वीनारायण शाहका दिव्य उपदेशहरूको स्मरण गर्नैपर्ने हुन्छ । यो स्मरण उनको अपमानबाट होइन सम्मानका साथ हुनु जरुरी छ । तर, राष्ट्रिय एकता दिवस र पृथ्वीजयन्तीको विषयलाई अरू कसैको चर्मचक्षुबाट मूल्यांकन गर्न लागियो भने अनर्थ हुने निश्चित छ । पुस २७ को आजका दिनमा हामी नेपाल राष्ट्रको एकताका सफल र अभियन्ता पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गर्दछौं र राष्ट्रिय एकताको अमरत्वका लागि कामना गर्दछौं । हामी आग्रह गर्दछौं ः इतिहासका नायकहरूलाई खलनायक बनाउने खेलको अन्त्य गरिनुपर्दछ । 


Views: 143