22nd January | 2021 | Friday | 11:19:32 AM

संयन्त्रले जोगाएको अमेरिकी लोकतन्त्र

  POSTED ON : पुष २९, २०७७ (८:४९ AM)

संयन्त्रले जोगाएको अमेरिकी लोकतन्त्र

करिब दुई सय तीस वर्ष पूरा हुँदै गरेको अमेरिकी लोकतन्त्रमाथि यसपटकको चुनावमा पराजय भोगेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण कलंकित हुन पुग्यो । त्योभन्दा पनि जीवनमा एकपटक राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्प आफंै कलंकको पर्याय हुन पुगे । उनी यतिखेर महाभियोगको सामना गर्नुपर्ने अवस्थामा पुगेको छन् । राष्ट्रपतीय कार्यकालको एक हप्ताअवधि बाँकी रहेपनि उनीमाथि महाभियोग दर्ता भएको छ । एउटै कार्यकालमा दुईपटक महाभियोग सामना गर्ने यिनी अमेरिकी इतिहासमा पहिलो राष्ट्रपति हुन पुगेका छन् । एकपटक सत्तरीको दशकमा राष्ट्रपति रिचर्ड निक्सन पनि महाभियोगबाट वर्खास्त हुन पुगेका थिए । निक्सन इतिहास दोहोरिँदै छ ट्रम्पका लागि पनि । उनको सत्तामोहको सिकार हुन लागेको लोकतन्त्रलाई अमेरिकी जनताले निर्वाचनमार्फत धक्का दिए पनि उनको महाŒवाकांक्षाले पैदा गरेको अराजक भीडका कारण झण्डै समस्यामा परेको थियो । जनवरी ६ को साँझ अमेरिकाको राजधानी हृवाइट हाउसको दृश्य इतिहासको कालखण्डमा पूर्ण विलिन भइसकेको रूसको अक्टोबर क्रान्तिलाई सम्झाउने खालको थियो । भ्लादिमिर इ.लेनिनको नेतृत्वमा अल्पमतको जत्थाले बहुमतमाथि आक्रमण गरी क्रेमलिन कव्जा गरेको थियो । लोकतान्त्रिक समाजवादीहरूले पाएको बहुमतलाई निरस्त गर्न त्यो क्रूर खेल खेलेका थिए । लेनिनले संसद भवनलाई घेरामा पारी सुरक्षा गार्ड र आफ्ना समर्थकको सहयोगमा सबैलाई सशरीर समाप्त गर्दै साम्यवादी सत्ताको प्रारम्भ गरेका थिए । जसलाई वोल्सेभिक रिभोल्युसन भनिन्छ र यसलाई नै संसारका साम्यवादीहरूले गौरवका रूपमा व्याख्या गर्दछन् । लोकतान्त्रिक प्रक्रियालाई समाप्त पारी निरंकुश सत्ता कायम गरेको त्यो इतिहास जस्तै गरी ट्रम्प समर्थकले क्यापिटल हिलस्थित अमेरिकी कंग्रेसको भवनमाथि आक्रमण गरेको दृश्य संसारभर टेलिभिजनमार्फत मानिसहरूले मन थामेर हेरेका थिए र अहिले दोहो¥याई तेहे¥याई हेर्न सकिन्छ । अमेरिकी इतिहासमा यो घटनाले लामो समयसम्म चर्चा पाउने निश्चित छ ।

गत नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा वर्तमान रहेका राष्ट्रपति ट्रम्पका पक्षमा जम्मा २३२ इलेक्टोरल र प्रतिपक्षी डेमोक्रेटिक पार्टीका राष्ट्रपति तथा उपराष्ट्रपति पदका उम्मेदवार जोसेफ वाइडेन र कमला हृयारिसका पक्षमा ३०६ इलेक्टोरल मत आएपछि ट्रम्पको मनस्थिति पराजयको वेदना सहन नसक्ने गरी प्रकट हुन पुगेको देखिन्छ । उनले पराजयलाई उल्टाउन अनेक प्रयास गरे । उनी कहिले अदालत त कहिले पुनर्मत गणनाको प्रयासमा जुटे । तर सबैतिरबाट पराजय निश्चित भएपछि उनले आफ्ना समर्थकलाई क्यापिटल हिल कब्जा गर्न दुष्पे्ररित गर्न पुगे । जुनदिन वाइडेन र कमलाको विजय प्रमाणित गर्ने काम हुँदै थियो, जसमा ५३८ जना इलेक्टोरल अर्थात् सबै विजयीको उक मत थियो । त्यसैबेला वाहिरबाट भीडले आक्रमण सुरु ग¥यो । ती आक्रमणकारीलाई रोक्न अनेक प्रयास गरेको देखियो । तर सुरक्षा घेरा तोडेरभित्र पसेको उद्दण्ड भीडले लोकतान्त्रिक अभ्यास र तिनले अमेरिकी जनतामा स्थापित गरेको ऐतिहासक संस्कृतिको धज्जी उडाउने काम गरेको देखियो । त्यो अराजक भीडलाई उकास्दै ट्रम्पले ट्विटमार्फत दिएको सन्देश झन् खतरानक छ । उनले भनेका छन् ः तपाइँहरूले हाम्रो देशलाई फिर्ता गर्नुपर्छ, मलाई विश्वास छ तपाइँहरू यो काम गर्न समर्थ हुनुहुन्छ । त्यहाँ गएर कलियो बन्नुपर्छ म पनि साथमा हुनेछु । उनको यो सन्देशले आगोमा घ्यू थप्ने काम गरेपछि तल्लो दिनकी सभामुख न्यान्सीको कार्यकक्षसमेत बिरूप बनाए प्रदर्शनकारीले । निर्वाचनमा हुने पराजय स्वीकार गर्न नसक्ने मानसिकता खतरानक हुन्छ । निर्वाचनबाटै तानाशाही जन्मन्छ भन्ने इतिहासमा अध्ययन गर्नेहरूलाई ट्रम्पको यो शैली वर्तमानको प्रमाण हुनपुगेको छ ।

उग्र स्वभावका ट्रम्पले आफ्नो चार वर्षे कार्यकालमा अमेरिकी समुदायमा रहेको सद्भावलाई खल्वल्याउने काम गरेका छन् । उनले अमेरिकी जनतालाई पहिले अमेरिका भनेर ऊर्जा प्रदान गर्दैगर्दा अफ्नो अमेरिकन, एसयिन अमेरिकन र अन्य क्षेत्रबाट आएर अमेरिकाको निर्माणमा आफ्नो श्रम सीप र समय लगाउनेहरूको मानमर्दन गर्न उनी पछि परेनन् । ट्रम्पका कारण रिपब्लिकन पार्टीलाई नराम्रो धक्का लागेको छ । अमेरिकामा जहिले पनि दुई दलीय प्रतिस्पर्धा हुनेगरेको छ । यो पटक पनि डेमोक्रेटिक र रिपब्लिक पार्टीका उम्मेदवार मैदानमा थिए । संभवतः ट्रम्पको स्वभावकै कारण उनी पराजित हुन पुगेर डेमोक्रेटिक पार्टीका उम्मेदवार विजयी भए । नयाँ राष्ट्रपतिका सामु ट्रम्पले छाडेर गएको अतिवादी चिन्तन चुनौती हुनसक्छ । जनवरी २० मा सत्तारोहण गर्नासाथ सबैभन्दा पहिले ट्रम्पका गल्तीहरूलाई पन्छाउँदै अमेरिकामा लोकतान्त्रिक आधारलाई चुस्त दुरुस्त बनाउनुपर्ने हुन्छ । यद्यपि अमेरिकाको लोकतन्त्र त्यहाँ सबल रूपमा स्थापित संस्थाहरू र संयन्त्रले नै सुरक्षित गर्दछन् । राज्यका संयन्त्रहरू, अवयवहरू शासकको खेलौना नभएर विधिसम्मत सञ्चालित भएमा लोकतन्त्रको वृक्षलाई कस्तै हुरीले वा ट्रम्प जस्ता बहुरूपीहरूको आक्रमणले समेत हल्लाउन सक्दैनन् । अमेरिकी जनता यस अर्थमा बधाईका पात्र भएका छन् ।


Views: 66