2nd March | 2021 | Tuesday | 8:03:02 AM

स्थिति पुनः भयावह बन्ने हो कि !

  POSTED ON : माघ ७, २०७७ (८:२६ AM)

स्थिति पुनः भयावह बन्ने हो कि !

कोरोनाका नयाँ लक्षणसहितका संक्रमित नेपालमा पनि भेटिएको समाचार सार्वजनिक भएको छ । एक वर्ष पहिले चीनको बुहानमा पहिलोपटक देखापरेको कोरोना वा कोभिड १९ ले संसारलाई यो लामो समयसम्म आक्रान्त पारे पनि हाल अलिक साम्य जस्तो भएको छ । संसारका विभिन्न मुलुक पुनः आफ्नो लयमा फर्किन थालेका छन् । अमेरिका, इटालीलगायत देशहरूले यसबाट निकै ठूलो धनजनको क्षति व्यहोरेपछि यसको प्रभाव केही मत्थर भएको जस्तो देखिएको छ । नेपालले पनि कोरोनाबाट दुई हजारको हाराहारीमा मानवीय क्षति व्यहोनु परेको छ । विश्वमा नयाँनयाँ खालका रोग देखा पर्ने र केही समयपछि हराउने गर्दै आएका भए पनि कोरोनाकै जसरी विश्वव्यापी बनेर यति ठूलो क्षति गर्नेगरी पछिल्लो चरणमा अरू रोग देखापरेका थिएनन् । 

कोरोनाको प्रभाव कम भइरहेको बेला पुनः केही समय पहिले बेलायतमा नयाँ खालको कोरोना देखापरेको छ । यो गतवर्ष देखापरेको कोरोनाभन्दा धेरै खतरनाक छ भनिएको छ । बेलायतलगायत अन्य आधा दर्जन देशमा फैलिइसकेको नयाँ प्रकारको कोरोनाले बेलायतले पुनःलकडाउन घोषणा गरेको छ भने अरूलाई सावधानीका लागि आग्रह गरेको छ । वर्तमान विश्व एउटा गाउँ (ग्लोबल भिलेज) का रूपमा परिणत हुँदै गएको अवस्थामा एक ठाउँको कुनै कुरा विश्वव्यापी बन्न धेरै समय लाग्दैन । रोग फैलिन छोटो समय नै पर्याप्त हुन्छ । विश्वव्यापी रूपमा सञ्चालित यातायातका साधनका माध्यमबाट छिटो फैलावट हुने गर्छ । बेलायतमा देखापरेको नयाँ प्रकृतिको कोरोनाका संक्रमित नेपालमा पनि तीनजनामा पाइएको भनिएको छ । 

ती संक्रमितबाट अरू संक्रमित नबनुन् भनेर सावधानी अपनाइएन भने त्यसको तीव्र फैलावट भई ठूलो क्षति हुनसक्छ । सरकारले यसतर्फ यथाशक्य छिटो सोच्नु आवश्यक छ । त्यसका लागि के छन् त सरकारका योजनाहरू ? पहिलेकै जसरी दुई÷चारजना देखापरेका बेला तिनको उपचार गरेको जस्तो देखाउने र संक्रमितहरू थपिँदै जाँदा सरकारले उपचार गर्न सक्दैन जनता आफैंले आफ्नो उपचार गर भनेर सूचना प्रकाशित गरेरमात्र हुँदैन । सुरुदेखि योजना चाहिन्छ, कोषको व्यवस्था गर्नुपर्छ, आइसुलेन वार्डको व्यवस्था हुनुपर्छ । यसरी संक्रमितलाई पृथकीकरण गर्न क्वारेन्टाइनहरू तोकिनुपर्ने हुन्छ । पहिले केही होइन भनेर बस्ने र स्थिति नियन्त्रणबाहिर गइसकेपछि जिम्मेवारीबाट भाग्नाले सरकारको आलोचना हुने हो । 

पहिले त सरकारले संविधानमै कुनै संक्रमित रोग वा महामारी देखापरेमा सरकारले नै जनताको उपचार गरिदिनुपर्छ भनेर गरिएको व्यवस्थालाई अवज्ञा ग¥यो तर सधैं यसो गरेर हुने छैन । हुन त संविधानमा व्यवस्थै नभएको अधिकार प्रयोग गरी प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको सिफारिश गर्न सक्छन् र राष्ट्रपतिबाट त्यसलाई सदर गर्ने काम हुन्छ भने जनताको स्वास्थ्यसम्बन्धी हकको अवज्ञा सरकारका लागि सामान्य ठहर्ला तर जनता नभए सरकारले कोमाथि शासन गर्ने हो ? रोगी बिरामी जनता भए भने पनि सरकार आरामको सास फेरेर बस्न सक्दैन होला । 

त्यसैले सरकारले जनताको स्वास्थ्यका लागि पूर्वसचेतता अपनाउनु जरुरी हुन्छ । ती नयाँ किसिमको कोरोनाका संक्रमित तीनजना कहाँका मानिस हुन् ? तिनलाई कहाँ र कसरी राखिएको छ ? अरूबाट अलग्गै राखिएको छ कि छैन ? तिनले कस्तो खालको औषधोपचार पाइरहेका छन् जस्ता सवालहरू महŒवपूर्ण हुन आउँछन् । सरकार त्यसमा सचेत छ ? त्योभन्दा अर्को महŒवपूर्ण सवाल के हो भने ती मानिससँग सम्पर्कमा रहेका अरू मानिसको जाँच गरिएको छ कि छैन ? तिनका नातागोता, जहान, परिवार र साथीभाइसँग तिनको भौतिक सम्पर्क थियो भने तिनको स्वास्थ्य परीक्षण गर्नु जरुरी हुन्छ । सरकारले यतातिर सोचेको छ ? यदि छैन भने यसतर्फ सरकारको ध्यान जानु नितान्त जरुरी छ किनकि यो जनसरोको विषय हो । 


Views: 352

सम्बन्धित सामग्री:

राजनीतिक गाँठो छिट्टै फुकोस्

: फाल्गुन १७, २०७७ (८:३५ AM)

चिन्ताबमोजिमको चिन्तन आवश्यक

: फाल्गुन १६, २०७७ (८:२५ AM)

अदालतको फैसलाले देखाएको बाटो

: फाल्गुन १३, २०७७ (९:०९ AM)