2nd March | 2021 | Tuesday | 7:33:42 AM

नवनिर्वाचित अमेरिकी राष्ट्रपति तथा उपराष्ट्रपतिलाई शुभकामना

  POSTED ON : माघ ८, २०७७ (८:४२ AM)

नवनिर्वाचित अमेरिकी राष्ट्रपति तथा उपराष्ट्रपतिलाई शुभकामना

पूरा दुई शताब्दी पार गरिसकेको लोकतान्त्रिक देशमा समेत निर्वाचनको विषयमा अनेक वखेडा खडा गरी हिजोसम्मका अमेरिकी राष्ट्रपति ट्रम्पले लोकतन्त्रका अनेक मूल्यहरूमाथि दबाब दिने काम गर्नुभयो । उहाँले असाध्य एकोहोरो स्वभाव, असहिष्णु चरित्र र आक्रामक र परनिन्दाको गुणका कारण ख्याति कमाउन सक्नु भएन । अमेरिकी लोकतन्त्रको इतिहासमा खराव राष्ट्रपतिको नामलिनु पर्दा सायद अमेरिकी जनतासहित विश्वले नै पहिले ४५आंै राष्ट्रपति ट्रम्पको नामलिन सक्ने हुनसक्छ । मूढी र आक्रामक शैलीको राष्ट्रपतिका कारण यो चार वर्षमा अमेरिकाले केही पाउनुभन्दा पनि गुमाउने काम धेरै गरकोे भन्ने छ । खास गरी संसारलाई आतंकित गराइरहेको कोभिड १९ लाई ट्रम्प प्रशासनको उपेक्षा र हठका कारण अमेरिका भर फैलने अवसर दिएको गुनासो अमेरिका भर छ । यो अमेरिकी जनताको पीडा हो । कोभिड १९ बाट सबैभन्दा बढी क्षति अमेरिकामा भएको छ । ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय समुदायका लागि कुनै उल्लेखनीय काम गरेन । उहाँकै समयमा अमेरिकाको उत्तर कोरिया र चीनसँगको सम्बन्धमा तिक्तता आयो । खाडी क्षेत्रमा भएको तनाव कम भएन । अरू अफ्रिकी देशहरूसँगको सम्बन्धमा समेत असर देखियो । सहिष्णु र सद्भावनाभन्दा सदा असहिष्णु व्यवहारका कारण ट्रम्प सदा आलोच्य रहनुभयो । अब ट्रम्पको समय विस्मृतिको गर्भमा पुगेको छ र अमेरिकी जनताले सन्तोषको सास फेर्न पाएका छन् । 

४६औं राष्ट्रपतिका रूपमा जोन वाइडेनले शपथ ग्रहण गर्नुभएको छ । डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिमा निर्वाचित वाइडेनको उपराष्ट्रपतिमा कमला हृयारिस हुनुहुन्छ । पहिलो एसियालीमा तृमूलको कमला अमेरिकी इतिहासमै पहिलो त्यस पदमा पुग्ने महिला हुनुहुन्छ । वाइडेन र कमलाको सत्तारोहणसँगै चार वर्षसम्मको अराजक र अनिश्चयको ट्रम्प कार्यकालको अन्त्य हुन पुगेको छ । हिजोसम्मका राष्ट्रपति ट्रम्पले पहिले अमेरिका भन्ने नारा लगाउँदै अमेरिकी जनतालाई भने विभाजित गर्न पुग्नुभएको थियो । उहाँले काला र गोराको वर्णवादी चिन्तनदेखि अमेरिकी र गैरअमेरिकी भन्ने विष वृक्षलाई उमार्ने प्रयास गरेको हुनाले नै यो पटक अमेरिकी जनताले रिपब्लिकनका उम्मेदवार ट्रम्पलाई दोस्रो कार्यकाल अस्वीकार गरे । उनीहरूले शालीन र शान्त व्यवहारका वाइडेनको चयन गर्नुमै अमेरिका र अमेरिकी जनताको भलो हुने सम्झिए । अमेरिकी जनताको यो छनोट आजको आवस्यक हो भन्नेमा दुईमत छैन । त्यसमा पनि पहिलो पटक अश्वेत महिलालाई उपराष्ट्रपतिमा चयन गरेर अमेरिकी जनताले लोकतन्त्रको महिलामाथि श्रीवृद्धि गरेका छन् । दुई शताब्दीपार गर्दासम्म राष्ट्रपति त के उपराष्ट्रपति पदमा कुनै पनि महिलाको चयन नहुनु आफैंमा आश्चर्यको विषयहो । ४५औं राष्ट्रपतिको निर्वाचन माहिलारी क्लिन्टनको सम्भावनाथियो तर उहाँ निर्वाचित हुनसक्नु भएन । वास्तवमा अमेरिकी जनताले महिलाको नेतृत्व पाउने यौटा अवसर गुमाएको अनुभव सबैले गरेका थिए । तर कमसेकम यो पटक उपराष्ट्रपतिमा महिलाको विजयले केही भए पनि त्यस अवसरको रिक्तता भर्ने काम गरेको छ । 

एकदलीय साम्यवाद र कुनै पनि खाले अतिवादविरुद्ध अमेरिकाले आक्रामक व्यवहार देखाउँदै आएको छ । विगतमा यस्ता केही घटनाहरू छन् जसका कारण अमेरिकी प्रशासन र राष्ट्रपतिहरूको आलोचना हुने गर्दछ । इरान, इराक, अफगानिस्तान, सिरिया जस्ता देशहरूमा अमेरिकी नीति खासै सकारात्मक छैन । सन् १९९० सम्मदुई ध्रुवीय महाशक्तिका बीच हुने प्रतिस्पर्धामा अमेरिकाले सोभियत संघसँग आफूलाई तुलना गर्ने काम गरिरहेको थियो र श्रेष्ठताको खोजी गरिरहेको थियो । तर सोभियत संघको विघटनपश्चात् एकछत्र अन्तर्राष्ट्रिय राजनीतिमा प्रभाव जमाइरहेको अमेरिकाका लागि नयाँ आर्थिक विकास, पारमाणविक सामरिक क्षमता, सैन्य क्षमता, औद्योगिक क्षमता तथा उत्पादन र बजार विस्तारका कारण चीन अहिले प्रतिस्पर्धी हुनपुगेको छ । चीनसँगै विस्तारो आणविक शक्तिका साथ भारत, उत्तरकोरिया, पाकिस्तान, इरानआदि देशहरूले पनि आफ्नो स्थान विस्तार गरिरहेका छन् । साम्यवादी सत्ता ढलेको समय अत्यन्त जर्जर भएको रूसलाई पुनर्जीवन दिएका राष्ट्रपति पुटिनको युग पनि यथावत् छ । यसतो समयमा अमेरिका र अमेरिकी जनताले संयमताका साथ सम्बन्धहरूको विकास गर्न र विकासशील र अल्पविकसित राष्ट्रहरूका समस्यामा ध्यान दिन नवनिर्वाचित राष्ट्रपतिलाई प्रेरित गर्नुपर्दछ । ट्रम्प युगको अन्त्य र वाइडेनको पदस्थापनसँगै अमेरिकी लोकतन्त्रको विजयमा हर्षित भएको विश्वले अमेरिकाबाट लोकतन्त्रका मूल्यहरूको रक्षा र मानवताको उच्च सम्मान हुनेछ भन्ने अपेक्षा गर्नु अनुचित हुने छैन । नवनिर्वाचित अमेरिकी राष्ट्रपति तथा उपराष्ट्रपतिलाई बधाईका साथ सफल कार्यकालको लागि हार्दिक शुभकामना ।


Views: 155

सम्बन्धित सामग्री:

राजनीतिक गाँठो छिट्टै फुकोस्

: फाल्गुन १७, २०७७ (८:३५ AM)

चिन्ताबमोजिमको चिन्तन आवश्यक

: फाल्गुन १६, २०७७ (८:२५ AM)

अदालतको फैसलाले देखाएको बाटो

: फाल्गुन १३, २०७७ (९:०९ AM)