5th March | 2021 | Friday | 8:41:20 AM

राष्ट्रको भाग्य र भविष्य कतातिर ?

  POSTED ON : माघ ११, २०७७ (८:२७ AM)

राष्ट्रको भाग्य र भविष्य कतातिर ?

देशले गणतन्त्रको चाहना राखेर २००७ सालदेखि नै हो । यसकै लागि नेपाली जनताले निकै ठूलाठूला संघर्ष गर्नुपरेको थियो । प्रजातन्त्रको अपहरणपछि लागू भएको पञ्चायती व्यवस्थापश्चात् उक्त एकदलीय व्यवस्था हटाएर प्रजातन्त्र स्थापना नै नेपालीहरूको मूल लक्ष मानिएको थियो । गणतन्त्र प्रमुख लक्ष थिएन । जसोतसो पञ्चायत त ढल्यो तर प्रजातन्त्रको मिर्मिरेमै पुनः माओवादी सशस्त्र विद्रोह भयो । यसले चरम रूप लिएपछि जसरी भए पनि शान्ति प्रक्रियामा आउनु आवश्यक थियो । यो सबैका लागि हितको कुरा हुन्थ्यो । सर्वसाधारणका लागि जिउधनको सुरक्षाको कुरा थियो । विद्रोहका कारण आफन्त र सम्पत्ति गुमाउँदाको पीडाबाट उनीहरू विक्षिप्त थिए । त्यसमा मलमपट्टीको काम विद्रोहको विस्थापनबाट हुनसक्थ्यो । नेपालमा निम्तिएको रक्तपातको राजनीतिबाट देशलाई मुक्ति दिन राजनीतिक पार्टीहरूका लागि उक्त विद्रोहको अन्त्य हुनैपथ्र्यो । 

उता माओवादी स्वयंका लागि सुरक्षित अवतरणको आवश्यकता थियो । यसका लागि बाह्रबुँदे सम्झौता भयो जो सब सुखद् परिणाम बोकेर आएको अनुमान गरियो । माओवादीले केही लचिलो भएर आफ्ना केही कुरा त्यागे । दलीय राजनीति गर्दै आएकाहरूले पनि आफ्ना केही अढान त्यागे । अन्ततः नेपाली राजनीतिले नयाँ मोड लियो । जुन घटना नेपाली राजनीतिमा एउटा ठूलो उत्सवका रूपमा आएको थियो । माओवादीकै रोडम्यापअनुसार संविधानसभाको पहिलो चुनाव भयो । त्यसमा माओवादी पहिलो ठूलो दल प्रमाणित हुन पुग्यो । २०५८ सालमा दरबार हत्या काण्ड भएर राजा वीरेन्द्रको वंशनास भएपछि ज्ञानेन्द्र राजा बन्नपुगे तर उनले दलहरूलाई पन्साएर निरंकुश शैली अपनाए । यसबाट दलीय नेताहरू पनि राजाबाट चिढिएका थिए र राजाका विरुद्धमा आन्दोलन गर्न पुगे जसमा माओवादीको साथ र समर्थन प्राप्त थियो । यसै कारणले नेपालमा गणतन्त्रको घोषणाका लागि सबै दल एकै ठाउँमा उभिन पुगेका हुन् । 

संविधानसभाको दोस्रो निर्वाचनमा पहिलोमा सबैभन्दा ठूलो दल बन्न पुगेको माओवादी पार्टी तेस्रो बन्यो । त्रास र आसलेमात्र माओवादीहरू संविधानसभाको पहिलो निर्वाचनमा लार्जेष्ट पार्टी बन्न पुगेको रहेछ भन्ने देखियो । संविधानसभाले संविधान निर्माण गरिसकेपछि २०७४ सालमा संघीय संसदको निर्वाचन भयो । यसमा नेपाली कांग्रेसको सधैं ठूलो पार्टीमा रहने हैसियतबाट उसलाई हटाउन एमाले र माओवादी एक भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनाई संयुक्तरूपमा निर्वाचनमा गए प्रथम पार्टी बन्न सफल भए । तर, आपसमा स्वभाव, नीति र प्रकृति नमिल्ने पार्टीहरू मिलेर बनेको नेकपामा छिटै विग्रहको स्थिति देखापरिहाल्यो । प्रधानमन्त्री बन्दाका आपसी सम्झौता पालना भएनन् । केपी ओलीले प्रचण्डका लागि प्रधानमन्त्री पद छोड्नु भएन । 

प्रचण्ड पक्षीय नेताहरूले त्यसको माग गरिरहे । जसले गर्दा विग्रहले चरम रूप लियो । आपसी गोपनीयता र कमजोरीहरूको पोल खोखाखोल भयो । गालीगलौजले उग्र रूप लियो । केपी ओलीले प्रतिनिधिसभा विघटन गर्नुभयो अरू त्यसको विरोध गर्दै प्रतिनिभिसभाको पुनस्र्थापनाको माग गरेर सडक संघर्षमा हुनुहुन्छ । फोहोर र अश्लील गालीले उहाँहरूलाई भन्दा सुन्ने सर्वसामान्यलाई लाज भइरहेको अवस्था छ । शक्ति प्रदर्शनको होडबाजीमा उहाँहरू उत्रिनु भएको छ । बाहिरबाट मानिस ल्याएर त्यसको प्रदर्शन गर्ने काम प्रचण्ड–मावध पक्षबाट भइसकेको छ र प्रधानमन्त्रीले त्यसको जवाफी तयारी गरिरहेको बुझिएको छ । आखिर यो सेखासेख केका लागि जनताले यो बुझिरहेका छैनन् । आन्दोलनकारीले जनतालाई आन्दोलनमा सघाउन अनुरोध गरेको छन् । 

तर, यसबाट एउटा प्रश्न जन्मिएको छ । सर्वसाधारणाले किन र कसलाई सघाउने ? प्रधानमन्त्री ओली गाली गलौज गर्नमा कम हुनुहुन्न । आन्दोलनकारीका समाचार कभरेज गरे भनेरै पत्रकारहरूको उछित्तो काढ्ने काम उहाँबाट भएको छ । हालको यो टकराव कुनै राज्यप्रणाली फेर्न होइन, कुनै निरंकुशता हटाउन होइन केवल नेकपाका नेताहरूको जुँगाको लडाइँ हो । यसमा जनतालाई पहिल्याउने काम निश्चय औचित्यपूर्ण होइन । कानुनको पालन नगर्ने र स्वार्थको राजनीति गर्नेहरूको निगरानी चाहिँ जनताले गर्नैपर्छ र निर्वाचनमा त्यस्तालाई पाखा लाउनेतिर विचार पु¥याउनुपर्छ, त्यो बुद्धिमानीपूर्ण काम हो । 


Views: 156

सम्बन्धित सामग्री:

सन्निकट राजनीतिक जटिलता

: फाल्गुन २१, २०७७ (७:५२ AM)

प्रधानमन्त्रीको सुरक्षा चिन्ता

: फाल्गुन १९, २०७७ (८:४५ AM)