नेपाल एक पर्याप्त पर्यटकीय सम्भावना भएको देश हो । संसारका कतिपय देशहरू पर्यटन व्यवसायबाटै चलेका छन् । नदी किनारमा रहेका देशको व्यवसाय त्यही समुद्री दृश्य पर्यटकहरूलाई देखाएर चलेको हुन्छ । केही देशहरू अन्य खालका पर्यटन पूर्वाधारको अभावमा यौन व्यवसायबाट आयआर्जन गरी चलेका छन् । विश्वका विभिन्न प्रकारका प्राकृतिक तथा मानवनिर्मित सम्पदाहरूको प्रबद्र्धन गरी धेरै मुलुकले राम्रो आम्दानी गरिरहेकै छन् । भारतको ताजमहल, चीनको ग्रेटवाल यस्ता संसार प्रसिद्ध मानवनिर्मित सम्पदाहरू हुन् भने नायगरा फल्सलगायतका प्राकृतिक सम्पदा पर्यटन विकासको राम्रो माध्यम बनेका छन् । हाम्रो देशमा मानवनिर्मित त्यस्ता धेरै आश्चर्य र ठूला खालका सम्पदा धेरै छैनन् तर प्रकृतिक तथा पुरातात्विक सम्पदाहरू भने प्रसस्त छन् । यिनको उचित सदुपयोग गर्नसक्ने हो भने हामीले रोजगारी खोज्दै अरूका देशमा जानु पर्दैन ।
विश्व सम्पदा सूचीमा सूचीकृत दशवटा सम्पदा छन् । लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, काठमाडौं, ललितपुर तथा भक्तपुरका तीनवटा दरबार क्षेत्र, चाँगुनारायण मन्दिर क्षेत्र पशुपतिनाथ मन्दिर क्षेत्र, बौद्धनाथ स्तुप र स्वयम्भूनाथ क्षेत्र त पहिले नै विश्व सम्पदा सूचीमा सूचीकृत भइसको छन् भने केहीलाई थप सूचीकृत गराउन नेपाल सरकारले माग गरिरहेको छ । यतिमात्र होइन नेपालको अथाह जल भण्डारकै माध्यमबाट हामी धेरै सम्पन्न हुन सक्छौं तर तिनका बारेमा हामीले विश्वसामु प्रचारप्रसार गर्न सक्नुपर्ने हुन्छ । वर्षैंदेखि योजना बनाइरहेका भए पनि तिनको कार्यान्वयनमा भने पछि परिरहेका छौं ।
लुम्बिनीको उचित प्रचारप्रसार हामीले गर्न सकिरहेका छेनौं । त्यसबारेको भ्रम जुन छ त्यसको निवारणको हाम्रो प्रयास पर्याप्त हुन सकेका छैन । धेरै वर्ष लगाएर जापानी वास्तुविद जिंगो टाङ्गेले आधा शताब्दीअघि बनाएको गुरुयोजनाले अझैसम्म सार्थकता पाउन सकेके छैन । हामीसँग अथाह स्रोत र साधन भएर पनि हामी गरिब भएरै रहिरहेका छौं । यो नै हाम्रो सबैभन्दा ठूलो विडम्बना हो । यतिमात्र होइन संसारकै आठ हजारभन्दा अग्ला चौधवटा हिमालमध्ये आठवटा त हामै्र देशमा छन् । हाम्रो उत्तरी सीमाको कञ्चनजंघादेख दार्चुलासम्म हिमालले घेरिएको छ । संसारमा कहिल्यै हिमाल नदेखेका विभिन्न मुलुकका कैयौं बासिन्दा हामीले तिनलाई उचित व्यवस्था मिलाइदिन सके नेपालका हिमाल हेर्न, आरोहण गर्न र हिउँमा विभिन्न खेल खेल्ने आउने छन् । तर, हामीले त्यसका लागि उपयुक्त मौकाको सिर्जना गर्न सकेको छैनौं ।
यी सेता हिमाल र तिनबाट निसृत नदीहरूमा अनेकौं क्रीडा तथा तिनको प्रयोगबाट सिर्जित विकासमात्र गर्नसक्ने हो भने हाम्रो विपन्नता दूर गर्न सकिने थियो । नेपालले वर्षेनी विकासका लागि भनेर अनेकौं पूर्वाधार विकास गर्ने प्रयास गरेको छ तर व्यावहारिक प्रयोगमा तदारुकता देखिएको छैन । पर्यटकका लागि हिमाल आरोहणको मार्गदर्शक बनेर आधार शिविरसम्म जानुपर्ने सरकारी अधिकारी त्यहाँसम्म पुगेर आफ्नो जिम्मेवारी पूरा गरेर फर्किएको अभिलेख मिलाएर काठमाडौंमै बसेर त्यसबापतको भत्ता खाने खालका हाम्रा व्यवहार जहिलेसम्म विद्यमान रहन्छन् त्यसबेलासम्म हाम्रो देशको चौतर्फी विकास भनेको कागजीमात्र हुने कुरामा दुई मत नहोला ।
सरकारले हालैमात्र दुई सय स्थानलाई पर्यटकीय गन्तव्य तोकेको छ । गन्तव्य तोकेरमात्र पनि विकासले गति लिन सक्ने होइन । नेपालमा यस्ता गन्तव्य अनगिन्ती छन् तिनको आधारभूत विकास पहिले गरिनुपर्ने हुन्छ । त्यसपछिमात्र आगन्तुकहरूलाई त्यहाँसम्म पु¥याउन उचित हुन्छ । बल्लबल्ल नेपाल पर्यटन वर्ष तोकेर त्यसको तयारी पूरा हुन लागेका बेला गतवर्ष कोरोना महामारीले तुषारापात भएको थियो । अब त झन् नेपालले त्यसबेलाको क्षतिपूर्तिसमेत पूरा हुनेगरी पर्यटन विकासमा तयारी गर्नुपर्ने आवश्यकता छ । सरकारमा रहेका मानिसहरूको ध्यान राजनीतिक खिचातानीमा मात्र होइन देश विकासका यस्ता क्षेत्रतिर लाग्नुपर्ने हुन्छ ।
Views: 61