27th February | 2021 | Saturday | 4:29:33 PM

नेकपा सरकारको निराशाजनक तीन वर्ष

  POSTED ON : फाल्गुन ५, २०७७ (८:१९ AM)

नेकपा सरकारको निराशाजनक तीन वर्ष

नेकपाको सरकार बनेको तीन वर्ष पूरा भएको छ । भन्ने नै हो भने प्रजातन्त्रको पुनरागमनपछि धेरै समय नेपाली कांग्रेसको सरकारले काम गरेको भए पनि सरकारका प्रधानमन्त्रीमा कम्युनिष्टहरू नै धेरैजना प्रधानमन्त्री बनेका छन् । मनमोहन अधिकारीबाट नेपालमा कम्युनिष्ट प्रधानमन्त्री बन्ने क्रम सुरु भएको थियो र त्यसयता पुष्पकमल दाहाल, डा.बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल तथा खड्गप्रसाद शर्मा ओली प्रधानमन्त्री बन्नु भएको छ । यीमध्ये केहीले आफ्नो कार्यकाल दोहा¥याउनु भएको छ । २०५१ सालको मध्यावधि निर्वाचानपछि नेपाली कांग्रेस नेकपा एमालेभन्दा पछाडि परेपछि एमालेको अल्पमतको सरकार बनेको थियो । अरू भने त्यसको एक दशकभन्दा पछि जब नेपालको सशस्त्र क्रान्ति चरम अवस्थामा पुगेर तेस्रो जनआन्दोलन भएको थियो र माओवादीहरू शान्ति प्रक्रियामा आएका थिए । 

त्यसपछि कम्युनिष्ट पार्टीका व्यक्तिहरूले प्रधानमन्त्री बन्ने मौका पाएका थिए । नेपालको पछिल्लो चरणको प्रजातान्त्रिक समीकरण अनौठो गतिमा अगाडि बढ्यो । सत्तामा साझेदारी भएरमात्र पुगेका कम्युनिष्टहरू आफ्नो एकलौटी सरकारको लक्ष पूरा गर्न जसरी भए पनि सहमति गर्न तयार भए । एकआसपमा स्वभाव र सिद्धान्त नमिल्ने पार्टीहरू केवल चुनावी अभियानमा एक भएर गए । नामका कम्युनिष्टमात्र सबैको सिद्धान्त र स्वरूपसमेत एक थिएन फरकफरक थियो । एकताभन्दा पहिले उनीहरू आपसी गालीगलौजमा तल्लीन थिए । लगभग हालकै जस्तो अवस्था थियो त्यसबेला । स्थानीय निर्वाचनमा एकताअभियान र संसधीय निर्वाचनमा पार्टी एकता गरेरै निर्वाचनमा गएपछि उनीहरूलाई बहुमत पु¥याउन सजिलो भयो । कम्युनिष्ट पार्टी नामले चुनावी अभियानमा झण्डै दुई तिहाइ नजिक पुगेका उनीहरूको सरकार बनेको तीन वर्ष भयो । 

तीन वर्षको अवधिमा यस प्रकारको सर्वशक्तिवान् सरकारबाट जनताले धेरै अपेक्षा गरेका थिए तर तिनका कुनै आशा र अपेक्षा पूरा हुन सकेनन् । सहज अवस्थामा यो सरकारबाट खासै केही काम हुनसकेको होइन । त्यसमाथि यही अवधिमा कोरोना महामारी व्यप्त भयो । सरकारका लागि राम्रै बाहना बन्यो । नेपाली जनताले अरूभन्दा बढी अपेक्षा गरेको कुरा नेपालको राजनीतिक स्थायित्व थियो । त्यो हुनै सकेन । दुई तिहाइ निकटको सरकारबाट पूरा नहुने कुरा केही थिएन तर त्यसमाथि तुषारापात पार्टीकै अकर्मण्यताका कारण हुन नसकेकै होे । जनताको यो सद्भाव नेकपाले समाल्न सकेन र हाल छताछुल्ल सडकमा पोखिन पुगेको छ । यो तमासा गर्नेलाई भन्दा देख्नेलाई लाज भइरहेको छ । जनताले विकास निर्माणका कामभन्दा बढी प्राथमिकता राजनीतिक सथायित्वकै हो । 

जनताको यसभन्दा अर्को प्राथमिकता शान्ति सुरक्षामा थियो । बालिका बलात्कृत र तिनको हत्या हुने क्रमले निरन्तरता पाइरहेकै छ । तिनमा संलग्न अपराधी पक्राउ नपर्नु र तिनलाई कारबाही नहुनुले अपराधीकरण बढेर गएको कुरा स्पष्ट हुन्छ । सरकारले यस्ता कुरामा पटक्कै ध्यान दिएन । कम्युनिष्ट पार्टीको राजनीतिक सिद्धान्तविपरीत सत्तासीनहरूको राजसी व्यवहार उनीहरूकै पार्टीका नेता कार्यकर्ताका लागि अपाच्य बन्यो र आलोचना उनीहरूबाटै सुरु भयो । सरकार भ्रष्टाचारमा निर्लिप्त भयो र सरकारका मन्त्रीहरूका भ्रष्टाचारका गतिविधि एकपछि अर्को शृंखलाबद्ध रूपमा बाहिर आउन थाले । सेक्युरिटी प्रेस काण्ड, बालुवाटार जग्गा प्रकरण, कोरोना नियन्त्रण सामग्री खरिदमा भएको भ्रष्टाचार, ओम्नी र यति काण्डहरूले गर्दा सरकार भ्रष्टाचारमा चुर्लुंम डुबेको छर्लंगै देखियो । सरकारले मेलम्चीको पानी ल्याउन सकेन र भाका सार्दै गयो । देखिने गरी र जनताले पत्याउने खालका कुनै काम हुन सकेनन् । 

नेपाली जनता नेकपाको हालको सडक रत्यौलीभन्दा पहिले नै सरकारले यसो गर्छु र उसो गर्छुभन्दा ओठ लेपारेर पहेंलो पोते नदिनेले तिलहरी ताक्छ भन्न थालेको थिए । हालको अवस्थाले त उसका खुट्टी सबैलेदेखि हालेका छन् । अन्ततः उनीहरूकै कारणले उनीहरूकै एजेण्डाअनुसारको संघीयता र गणतन्त्र धरापमा पर्न लागेको देखिएको छ । नेकपाका नेताहरूले यी कुराहरूलाई बच्चाको खेलौनाजस्तो बनाएका छन् । यस अवस्थाको मुकदर्शक बनेको दोष नेपाली कांग्रेसलाई लाग्ला तर नेपालको समग्र अवस्था नाजुक बनाउने कार्यको दोष सम्पूर्ण रूपमा नेकपालाई नै लाग्ने हो जसका कारण नेकपाले पुनः जनतासामु उभिनमात्र लाज मान्नुपर्ने हो र उनीहरूले लाज पचाएर जनतासामु जाने हिम्मत गर्ने हो भने जनताले तिनलाई पुनः मत दिनुभनेको देशलाई अझै बर्वादीतर्फ लैजानुमात्र हो । 


Views: 56

सम्बन्धित सामग्री:

अदालतको फैसलाले देखाएको बाटो

: फाल्गुन १३, २०७७ (९:०९ AM)

नेताहरूको भारत दौडाहाको अन्तर्य

: फाल्गुन ११, २०७७ (९:१९ AM)

अचानोमा न्यायपालिका

: फाल्गुन १०, २०७७ (१२:१८ PM)