2nd March | 2021 | Tuesday | 8:07:47 AM

आक्रमणको निशाना नेपाली कांग्रेस

  POSTED ON : फाल्गुन ६, २०७७ (८:१५ AM)

आक्रमणको निशाना नेपाली कांग्रेस

बैतडीमा नेपाली कांग्रेसले नेकपाको हमलाको सामना गर्नुपरेको छ । यस्ता हमलाको सधैं सामना गर्दै आएको कांग्रेले हालको राजनीतिक अवस्थाको विरोधका क्रममा मंगलबार आक्रमणको सामना गर्नुपरेको हो । नेपाली कांग्रेस नेपालमा प्रजातन्त्रको संवाहक हो । यस पर्टीलाई प्रजातन्त्रको पर्यायभन्दा अन्यथा हुने छैन । तर, यसले विभिन्न कालखण्डमा विभिन्न राजनीतिक तथा गैरराजनीतिक पक्षको आक्रममणको सामना गर्नुपरेको छ । प्रारम्भमा राणा शासनको कोपभाजनमा परेकै कारण कांग्रेस सशक्त रूपमा यसका विरुद्ध क्रान्तिमा उत्रियो जसमा उसले सफलता पाएको थियो । यस सफलताबाट शताब्दीभन्दा लामो समय नेपालमा शासन गरेर बसेको राणा शासन नै समाप्त भएको थियो । नेपालको इतिहासमै यो सबैभन्दा ठूलो उपलब्धि हो भन्दा फरक नपर्ला । 

त्यसपछिको एक दशकको राजनीतिक परिवेशमा राजाको बक्रदृष्टिमा नेपाली कांग्रेस नै थियो । पञ्चायती व्यवस्थाको तीस वर्ष लामो समयमा त अनेकौं बाधाव्यवधान र कोपभाजन नेपाली कांग्रेसमाथि नै भएका थिए । पञ्चायती व्यवस्था हटाउने र प्रजातन्त्रको स्थापना लक्ष बनाएर अगाडि बढेको नेपाली कांग्रेस यही कारणले पनि निरंकुशताका पक्षधरहरूबाट पीडित बन्नु अस्वाभाविक थिएन । यही क्रममा मारिएका थिए योगेन्द्रमान शेरचन, दिबानसिंह राई, भीमनाराण श्रेष्ठ, क्याप्टेन यज्ञबहादुर थापा, लीला, ठगी, खगेन्द्र, गोकर्ण, केशव, महेशलयायतका अनेकौं व्यक्तिहरू । २०३१ सालमा ओखलढुंगा सशस्त्र क्रान्तिका क्रममा मारिनेहरूको सूची निकै लामो छ । पञ्चायतले कम्युनिष्ट पार्टीका पनि केही मानिसहरू मारेको थियो तर पञ्चायतको मूल ध्येय कांग्रेसको समूल समाप्ति नै थियो ।

पञ्चायतले तीस वर्षको कार्यकाल समाप्त गर्दासम्ममा नेपालको परिस्थिति निकै बदलिएको थियो । उसले प्रजातन्त्रप्रतिको जनलहर थेग्न सकेन र प्रजातन्त्र घोणा गर्न बाध्य भयो । तर त्यसपछि कलिलो प्रजातन्त्रविरुद्धका अनेकौं खेलहरू सुरु भइहाले । त्यसपछिको यो तीस वर्षको समयमा नेपाली कांग्रेस नै सबैको प्रहारको केन्द्रमा रहँदै आएको छ । माओवादीको विद्रोहका समयमा नेपाली कांग्रेसकै कार्यकर्ता सबैभन्दा बढी मारिएका थिए । सबै प्रकारका शक्तिहरूको प्रहारबिन्दु नेपाली कांग्रेस नै बन्यो । हालका दिनमा पनि यसले निरन्तराता पाइरहेकै छ भन्ने पछिल्लो दृष्टान्त हो बैतडी घटना । हाल प्रतिनिधिसभा विघटन भएको छ । सरकारले चुनाव गराउँछु भनेर घोषणा गरेको छ । त्यो समय अब साढे दुई महिनापछिको तोकिएको छ । 

हालसम्म पनि त्यसको तयारी गरिएको छैन । मुद्दा सर्वोच्च अदालतमा गरमागरम रूपमा चलिरहेको छ । सबैको ध्यान यतातिर तानिएको छ । देशैभरि सरकारको विरोध र समर्थनमा कार्यक्रमहरू भइरहेका छन् । दिनहुँ नारा जुलुस भइरहेका छन् । यही क्रममा अस्ति मंगलबार बैतडीमा पनि नेपाली कांग्रेसले विरोधसभाको कार्यक्रम राखेको थियो । त्यही कार्यक्रममा नेकपा ओली समूहका नेता कार्यकर्ताबाट कांग्रेसको कार्यक्रममा आक्रमण भएको थियो । त्यहाँका डिलासैनी गाउँपालिकामा कार्यक्रम भइरहेको समयमा नेकपाका कार्यकर्ताको एउटा समूह आएर विवाद गरी आक्रमण गर्दा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नारायणप्रसाद साउन (एनपी साउद) सहित आधा दर्जनजति नेता कार्यकर्ता घाइते भए । यस आक्रमणमा नेकपा ओली समूहका केन्द्रीय सदस्य सुरेन्द्र पाल तथा उनका छोरासहितको १५–२० जनाको समूह संलग्न रहेको कांग्रेसको दाबी छ ।

नेपाली कांग्रेससँगैका सहकार्यहरूमा समेत पटकपटक संलग्न भएर नेकपाले अझै पनि प्रजातान्त्रिक संस्कार सिक्न सकेको छैन भन्ने उदाहरण बनेर बैतडी घटना देखिन आएको छ । यस्ता घटना नेपाली कांग्रेसले नेकपाकै चरित्र र व्यवहार भोगदै आएर पनि सधैं उनीहरूकै ओढ ढाक्ने र सत्ताको आसमा लेपासिन खोज्ने प्रवृत्ति त्याग्नु आवश्यक छ । हालको विषम परिस्थिमा नेकपाका दुवै पक्षले कांग्रेसलाई खुशी पार्न चाहिरहेको र आपूmलाई सहयोग गर्न भनेर फकाइरहेको अवस्था छ । प्रधानमन्त्री केपी ओलीले पनि कांग्रेसलाई यही आशयले आकर्षित गरिरहनुभएको छ । तर, उहाँकै कार्यकर्ता भने नेपाली कांग्रेसमाथि आक्रमण गर्दै हिँडिरहेका छन् । उनीहरूका यस्ता व्यवहारले घाइते बाघको आक्रमणको चरितार्थ भइरहेको छ । नेपाली कांग्रेस आफ्ना अडानमा दृढ बनेर यस्ता तत्वको सामनाका लागि जहिल्यै पनि तयार बन्नु उसका लागि हितकर सावित हुन जनेछ । 


Views: 85

सम्बन्धित सामग्री:

राजनीतिक गाँठो छिट्टै फुकोस्

: फाल्गुन १७, २०७७ (८:३५ AM)

चिन्ताबमोजिमको चिन्तन आवश्यक

: फाल्गुन १६, २०७७ (८:२५ AM)

अदालतको फैसलाले देखाएको बाटो

: फाल्गुन १३, २०७७ (९:०९ AM)