27th February | 2021 | Saturday | 4:14:59 PM

अपराधशास्त्रको मनोवैज्ञानिक कसीमा बैतडी घटना

  POSTED ON : फाल्गुन ७, २०७७ (९:०४ AM)

अपराधशास्त्रको मनोवैज्ञानिक कसीमा बैतडी घटना

हालै बैतडीमा भएको घटनाले एकसाथ केही प्रश्नहरू उब्जाएको छ । त्यहाँ जुन घटना भयो त्यो मानवीय संवेदना भएको जो कोहीका लागि असैहृय पीडादायी घटना थियो । एउटी किशोरी साथीहरूसँगै आपूmले अध्ययन गर्ने विद्यालय गएकी फर्किँदा बाटोमै बलात्कृत भएर ज्यान गुमाउनुपर्ने कुन अपराध ती किशोरीबाट भएको थियो र ? परिवारका मूली पिताको निधन भएको एक महिनाभित्रै उनको हत्या भयो । यसबाट परिवारजनका पर्न गएको वेदनाको मापन कसैले गर्न सक्दैन । जसरी केही वर्ष पहिले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भयो र त्यसको अपराधी हालसम्म पनि पत्ता लागेको छैन यो घटनाको अवस्था त्यस्तै होला कि भन्ने त्रास सबैमा थियो । यी दुवै घटनाको प्रकृति एकै खालको छ तर नेपाल प्रहरीले यस घटनाको अभियुक्तलाई घटनाको दुई हप्ताभित्रै पक्राउ गर्न सफलता पाएको छ । नेपाल प्रहरी यस अर्थमा धन्यवादको पात्र बन्न पुगेको छ । 

हुन त नेपाल प्रहरीले यसभन्दा पहिलाका धेरैजसो यस्ता अपराधका अपराधीहरू पत्ता लगाई पक्राउ गर्न सफल भएको छ । जुन घटनामा संलग्न अपराधी फेला परेका छैनन् तिनमा ठूला अपराधीहरूको संलग्नता हुन्छ भन्ने कुरा यथार्थ हो । कञ्चनपुर घटना पनि यस्तै हुनसक्छ । नत्र नेपाल प्रहरीको अनुसन्धान यति कमजोर हुनै सक्तैन । बैतडी घटनाको अनुसन्धानमा संलग्न प्रहरीले निर्मला काण्डका अभियुक्त छिटै पक्राउ पर्ने बताएका कारण आशावादी बन्न सकिन्छ । बैतडीकी भागरथी भट्टको बलात्कार गरी हत्या उनकै छिमेकी तथा भाइ नाता पर्ने दिनेश भट्टबाट भएको खुल्न आएको छ । यसबाट हाम्रो समाज कतातिर गइरहेको छ भन्ने कुराको एउटा दृश्य देखापरेको छ । नयाँ पुस्ता अराजक भइरहेको छ । अनुशासन र नैतिकता लोप हुँदै गइरहेको छ । 

किशोर उमेरका युवाहरूको यो प्रवृत्तिले उनीहरूमा प्रतिशोधको भावना विकास भइरहेको देखाउँछ । अहिलेको पठनपाठन व्यापारिक र व्यावसायिक बन्दै गएको छ । नैतिक शिक्षा पढाउन छोडिएको छ । पैसा हुनेहरूले मात्र पढ्न सक्ने महँगा निजी शिक्षण संस्थाको संख्या थपिँदै गएका छन् । आमनागरिकले पढ्न सक्ने शिक्षण संस्थाहरूको कमी छ । सामुदायिक शिक्षण संस्थाहरूमात्र तिनका लागि उपलब्ध छन् । पढाइ राम्रो नभएका धनीका छोराछोरीहरू डाक्टर इन्जिनियर पढेर रवाफको जीवन भोग गर्न थाल्छन् भने राम्रो पढाइ भएर पनि पैसा नहुनेहरू सामान्य शिक्षा लिएर सामान्य जीवन यापन गर्न बाध्य हुन्छन् । यसबाट मानिसमा निराशा र कुण्ठा पैदा हुन्छ । ती र तिनका परिवारका मानिस यस्तै विभिन्न कारणले प्रतिशोधी बन्न जान्छन् । अहिलेको समस्या भनेकै यही हो । 

दिनेश भट्ट यसकै एउटा दृष्टान्त हुनसक्छन् । भागरथी उनकी दिदी पढ्थिन् उनीभन्दा ठूली तर उनले तिनको बलात्कार र हत्या गर्ने हिम्मत जुटाए । यो उनको चरम आपराधिक सोचको उपज हो, जघन्य अपराध हो । उनले कुनै प्रतिशोधकै कारण यसो गरेको हुनसक्छ, केवल क्षणिक आवेगमात्र नहुन सक्छ । उनी पक्राउ त परे तर यत्तिकैमा उनलाई दण्डित गरेरमात्र कानुनले विश्राम लिनु हुँदैन । उनीमाथि सामाजशास्त्रीय, मानवशास्त्रीय, अपराधशास्त्रीयलगायत विभिन्न कोणबाट अनुसन्धान गर्ने हो भने विभिन्न तथ्य फेला पर्न सक्छन् । त्यो त मनोवैज्ञानिक पक्ष भयो । त्यसका साथै यही घटनामा उनीमात्र थिए कि उनका साथीहरू वा कुनै ठूला मानिसकै उक्सावट र संलग्नता थियो भनेर अनुसन्धान गर्न त बाँकी नै होला । प्रहरीले यसतर्फ पनि सोचोस् । 

पीडितका परिवारका सदस्यहरूले कतै उनलाई नाबालक भनेर उम्काउने प्रयास गरिन्छ कि भन्ने चिन्ता गरेका छन् । कसैले कानुनविरुद्ध जान मिल्दैन तर कानुनले तोकेको हदैसम्मको सजाय यस्ता अपराधीले पाउनै पर्ने हुन्छ । त्यसो नहुने हो भने कानुन र कानुनीराज्यको कुनै अर्थ रहँदैन । प्रहरीले अरू बाँकी अनुसन्धान पूरा गरेरमात्र मुद्दा अदालतमा पेश गरोस् । त्यसपछि बाँकी अदालतले गर्ने हो । निर्मला काण्डको अनुसन्धानमा पनि प्रहरीलाई यसरी नै सफलता मिलोस् । 


Views: 54

सम्बन्धित सामग्री:

अदालतको फैसलाले देखाएको बाटो

: फाल्गुन १३, २०७७ (९:०९ AM)

नेताहरूको भारत दौडाहाको अन्तर्य

: फाल्गुन ११, २०७७ (९:१९ AM)

अचानोमा न्यायपालिका

: फाल्गुन १०, २०७७ (१२:१८ PM)