27th February | 2021 | Saturday | 4:24:30 PM

नेताहरूको भारत दौडाहाको अन्तर्य

  POSTED ON : फाल्गुन ११, २०७७ (९:१९ AM)

नेताहरूको भारत दौडाहाको अन्तर्य

हाम्रा नेताहरूको बेलाबेलामा भारत दौडाहा हुनेगरेको छ । हालैमात्र केही पूर्वप्रधानमन्त्रीहरूबाट भारत भ्रमण भएको छ । यो धेरै पहिलेदेखि हुँदै आएको परम्परा र त्यसको निरन्तरता हो । नेपालका राणा शासकहरू पनि त्यसबेला भारतमा शासन गरेर बसेका अंग्रेजहरूमै निर्भर थिए । अंग्रेजलाई खुशी पारेर उनीहरूको सहयोगले नेपालमा शासन गर्न सफल भएका थिए । २००७ सालको प्रजातन्त्रपछि यही नियतिले निरन्तरता पाउँदै गयो । जसले गर्दा नेपालको राजनीतिमा हस्तक्षेपकारी भूमिकामा भारत सधैं रही नै रहृयो । पञ्चायतकालमा विशेषगरी राजाहरूले भारतपरस्त नीति अपनाएकै हुन् । २०४६ सालको प्रजातन्त्रपछि भने यसले बढी उदांगो भएर आफ्नो स्वरूप देखायो । एक त यो हाम्रो आर्थिक विपन्ताको परिणाम हो भने अर्कातिर राजनीतिक रूपमा परनिर्भरताको उपज हो । 

किनकि हामीले जसरी आर्थिक समृद्धि हासिल गर्न सकेका छैनौं त्यसरी नै राजनीतिमा हामी निश्चित सिद्धान्तमा अडिक भएर रहन सकेका छैनौं । त्यसैले बेलाबेलामा राजनीतिक प्रणाली फेरबदलमा आन्दोलन गर्ने गर्छौं जसमा विदेशीहरूले खेल्ने राम्रो मौका पाउँछन् । यसरी खेल्नेहरूमा नजिकको छिमेकी भएका नाताले भारतको भूमिका अग्रणी हुन आउनेगरेको छ । समय–समयमा देखिँदै आएका यस्ता परिदृश्य निम्त्याउने काम हामीबाटै हुँदै आएको छ । आपूm सत्तामा जान वा आफ्नो अनुकूलको राज्यप्रणाली स्थापित गर्न सहयोग गर्न हामीले तिनलाई आग्रह गर्नेगरेका छौं । जसले गर्दा आग्रहनुसारको सहयोग गर्ने मौका पाएका उनीहरूले आवश्यकताभन्दा बढी सक्रियता देखाउने गरेका छन् । 

पछिल्लो चरणमा सबै पार्टीका नेताहरूको यस्तै व्यवहार हामीबाट छुपेको छैन । बाहना जुनसुकै होस् भारतको आशीर्वाद खोज्ने गरिएकै छ । वर्तमान संविधान लागू गर्दाका बखतमा भारतको अघोषित नाकाबन्दी नेपालले व्यहोरेको हो । उसको अनुकूलको संविधान नआएका कारण मधेसवादी नेताहरूको आन्दोलनको आगोमा घ्यू थपेर अघोषित नाकाबन्दी ६ महिनासम्म नेपाली जनताले भोगेका थिए । हालका दिनमा नेपालको राजनीति कठिन मोडमा पुगेको छ । नेपालको इतिहासमै २०१५ सालमा नेपाली कांग्रेसले पाएको दुई तिहाइको बहुमतपछि प्रतिनिधिसभामा सबैभन्दा बढी स्थान जित्ने पार्टी नेकपा हो । झण्डै दुई तिहाइस्थान जितेको पार्टी आन्तरिक कलहले हाल छिन्नभिन्न भएको अवस्था छ । सडक आन्दोलन भइरहेका छन् । 

जसरी आन्दोलन भए पनि त्यो सत्तास्वार्थका लागि हो भन्ने नेपाली जनताले बुझेका छन् । यो बेलामा आन्तरिक राजनीतिमाथि विदेशीले खेल्ने राम्रो मौका पाएका छन् । त्यसमा प्रधानमन्त्री भइसकेका नेकपाका नेताहरू पालैपालो उपचारको बाहना बनाएर भारत भ्रमणमा जानुले नेपाली जनताले नेताहरूले पहिलेदेखि चल्दैआएको परम्परा दोहो¥याएका हुन् कि भन्ने अड्कल काटेका छन् जुन स्वाभाविक हो । पुष्पकमल दाहाल, झलनाथ खनाल, डा.बाबुराम भट्टराई, महन्त ठाकुरहरू पालैपालो भारतको भ्रमणमा जानुभएको छ । हुनसक्छ यो उहाँहरूको निजी भ्रमण नै हो । आफ्नो र आफन्तको स्वास्थोपचारमा जानुभएको हो वा पर्यटकीय वा यस्तै कुनै तीर्थस्थलको भ्रमणमा जानुभएको किन नहोस् तर वर्तमानमा विकसित भइरहेका घटनाहरू र हाम्रा नेताहरूका पूर्वपरम्परालाई हेरेर यसमा राजनीतिक रंग दिने काम भइरहेको छ । 

यदि आफ्नो सत्तारोहणका लागि समर्थन जुटाउन वा नेपालको राजनीतिलाई थप आन्दोलित बनाउन मद्धत माग्न उहाँहरूबाट भ्रमण भएका हुन् भने त्यो सर्वथा अनुचित हो । अर्कातिर पछिल्लो चरणमा भारत भ्रमण गर्नेहरूमा प्रचण्ड, झलनाथ र डा.भट्टराई तीनजना पूर्वप्रधानमन्त्री हुनुहुन्छ । उहाँहरूले आपूm प्रधानमन्त्री भएका बेला नेपालमा स्वास्थ्योपचारका लागि स्तरीय अस्पतालहरूको स्थापना गर्न सक्नुभएन तर हाल नेपालमा राम्रा अस्पताल नभएकाले भारतमा उपचार गर्न जान बाध्य हुनुपरेको बताउनुभएको छ । यसको दोष वर्तमान सरकारलाई मात्र दिनुमा उहाँहरूका समेत कमजोरी उदांगिनु होइन र ? यस्ता सवालमा सोच्नु र संयमित हुनुपर्ने हुन्छ । 


Views: 78

सम्बन्धित सामग्री:

अदालतको फैसलाले देखाएको बाटो

: फाल्गुन १३, २०७७ (९:०९ AM)

अचानोमा न्यायपालिका

: फाल्गुन १०, २०७७ (१२:१८ PM)

अति आवश्यकीय कुरा यति महँगो !

: फाल्गुन ९, २०७७ (९:१३ AM)