18th May | 2021 | Tuesday | 8:14:12 AM

सबैका सपना पूरा भएको क्षण

  POSTED ON : चैत्र १७, २०७७ (७:४५ AM)

सबैका सपना पूरा भएको क्षण

अन्ततः काठमाडौं उपत्यकामा मेलम्चीको पानी आएको छ । यो क्षण उपत्यकावासीका लागि खुशीको क्षण हो । हामी सबैका धाराबाट पानी झर्दा हामी सबैले सबैभन्दा पहिले यस परियोजनाका स्वप्नाद्रष्टा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई सम्झिनै पर्छ । आपूm अन्तरिम प्रधानमन्त्री भएका बेला उहाँले २०४७ सालमा यस परियोजनाको कल्पना गर्नुभएको थियो र खुलामञ्चबाट ‘अब प्रजातन्त्रको आगमनसँगै विदेशीहरूले पनि नेपालका बारेमा चासो राख्न थालेका छन् । काठमाडौंको खानेपानी अभाव देखेर उनीहरूले मेलम्चीबाट यहाँ पानी आपूर्तिको योजना बनाउने भएका छन् । उक्त योजना पूरा भएर त्यहाँको पानी यहाँ आउनासाथ यहाँको खानेपानीको समस्या पूरा हुनेमात्र होइन सडक सफा गर्नसमेत पुग्नेछ’ भन्नुभएको थियो । उहाँको यस भनाइलाई धेरैले उपेक्षा गरेर हाँसोमा उडाएका थिए । 

हाल ती व्यक्तिहरूको उपेक्षा उनीहरू आपैmंतिर फर्किन पुगेको छ । मेलम्चीको पानी काठमाडौं उपत्यकामा आएको छ । कृष्णप्रसाद भट्टराईलाई उपहास गर्नेहरूले पनि सामाजिक सञ्जालमा उहाँलाई सम्झिएको पाइएको छ । भट्टराईले भनेजसरी मेलम्चीको पानीले बागमती र धोबीखोलासमेत सफा गरिएका छन् । किसुनजीका वाचा यसरी पूरा भएका छन् । सबैले उहाँले जसरी नै इमानदारीता अपनाएका भए आजभन्दा एक डेढ दशक पहिले नै उपत्यकावासीले मेलम्चीको पानी खान पाइसकेका हुनेथिए । त्यसो हुन सकेन तर अब पानी आएको छ, उपत्यकावासीहरू खुशी भएका छन् । तैपनि केही सन्देहहरू अझै यहाँका मानिसबीच बाँकी नै छन् । मेलम्चीको पानीले कतै मागनुसारको आपूर्ति हुन नसक्ने पो हो कि ? 

प्रारम्भिक चरणमा चार करोड पानीमात्र वितरण भएको छ र केही दिनमै यसको मात्रा बढाउँदै लगेर १७ करोड बनाइने भनिएको छ । त्यसो भए काकाकुल काठमाडौंले पानी पिएर तिर्खा मेट्न त पाउनेछ तर उपत्यकाका सबै ठाउँमा पुग्न अझै २० दिन लाग्ने बताइनाले कतै पानी फालाफाल हुने र कतैका बासिन्दाले टुलुटुलु हेरेर प्रतीक्षा गरिरहनुपर्ने भएको छ । हाल मेलम्ची आयोजनाले काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई पानी वितरणको जिम्मा दिएको छ र साविककै पानी वितरण प्रक्रियाकै माध्यम अपनाएर पानी वितरण गरिएको छ । अब चैत २० गतेको औपचारिक उद्घाटनपछि भने यसको वितरण प्रक्रिया आफ्नै ढंगले हुनेछ । हाल वितरण गरिएको पानी पिउन योग्य छैन भनिएको भए तापनि सरसफाइ, नुहाइ, धुवाइ आदिका लागि यसले ठूलो मद्दत पुग्नेछ । पिउन योग्य पानी दुई महिनापछि वितरण गरिने भनिएको छ । 

चार ठाउँबाट ठूला चारवटा ट्यांकीमा जम्मा गरिएको पानी वितरण गरिनाले यहाँको पानीको धेरैजसो समस्या पूरा नहुने कुरै छैन । तर, पानी आपूर्ति भएर सबैका घरघरमा पानी पुगेसँगै जनतामा एक प्रकारको भय पैदा भएको छ । आर्थिक रूपमा यो पानी निकै महँगो पर्ने बताइएको छ । मेलम्ची परियोजना पूरा गर्दासम्म यसको लागत अत्यन्त ठूलो छ । उक्त लागत केही वर्षभित्रैमा जनताबाटै उठाइसक्ने उद्देश्य यस परियोजनाले राखेको छ भन्ने तर्क गरिन्छ । धारा जडानमै महँगो शुल्क लिने, साविकको मिटर प्रयोग गर्न नपाइने र नयाँ मिटर लिनुपर्ने, उक्त मिटर निकै महँगो मूल्यको हुने र छिटो घुम्ने तथा प्रतियुनिट शुल्क पनि पहिलेको भन्दा बढी लाग्छ भन्ने चर्चा जताततै हुने गरेका छन् । 

यसमा सत्यता नहोला, यो आधिकारिक चर्चा होइन तर यदि यसमा सत्यता भएका खण्डमा आर्थिक स्थिति कमजोर भएका ग्राहकहरूले यो पानी प्रयोग गर्न निकै मुस्किल पर्ने देखिन्छ । यदि चर्चा भए जसरी नै पानीको महसुल तिर्नुपर्ने भयो भने उपत्यकावासी मेलम्ची पानी प्रयोग गर्न असमर्थ हुनेछन् । उनीहरू अहिले प्रयोग गरिरहेकै पानीको सम्झना गर्नेछन् । वर्तमान सरकार गठन भएदेखि जनताको ढाड भाँचिने गरी लगाएको कर जसरी नै खानेपानीमा समेत महसुल लगाउने हो भने फेरि जनता नै मारमा पर्ने निश्चित छ । यो सरकारले पहिले लगाएको कर हेर्दा पानीमा अत्यन्त महँगो कर लगाउन डराउला भन्न सकिँदैन । सरकारले यसमा सुरुदेखि नै सोच्नुपर्ने हुन्छ । अन्ततः मेलम्ची खानेपानी परियोजना सफल भएकोमा सबैले कृष्णप्रसाद भट्टराईको सम्झना गर्नैपर्ने हुन्छ ।


Views: 90

सम्बन्धित सामग्री:

समीक्षा बैठक र निष्कर्ष

: जेठ २, २०७८ (१२:०२ AM)

सरकार ! महँगी नियन्त्रण होस् !

: बैशाख ३१, २०७८ (८:२८ AM)