11th April | 2021 | Sunday | 7:20:35 PM

हार्दिक श्रद्धासुमन

  POSTED ON : चैत्र १९, २०७७ (८:०९ AM)

हार्दिक श्रद्धासुमन

कोभिड वर्षको अन्तिम महिना नेपाली राजनीतिले, लोकतान्त्रिक आन्दोलनले अपूरणीय क्षति भोग्नुप-यो । त्यसो त गत साल चैतयता कोभिडका कारण अनेक मूर्धन्य नेपाली राजनीतकर्मीहरूको, नेताहरूको, साहित्यकार, व्यापारी, सञ्चारकर्मीहरू र आमनागरिकहरूलाई हामीले गुमाउन पुगेका थियौँ । कोभिडको कारणले नभएपनि पछिल्लो क्षति नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा करिब ७० वर्ष आफ्नो वय खर्च गर्नुभएका नेपाल कम्युनिष्ट पार्टीका नेता विष्णुबहादुर मानन्धरको निधन हुन पुगेको छ । उहाँले निर्दलीय निरंकुश पञ्चायतकालमा होस् कि जनमत संग्रहका समयमा बहुदल पक्षमा, २०४२ को सत्याग्रह र २०४६ को संयुक्त जनआन्दोलन सबैमा पु-याउनुभएको योगदान सधा स्मरणीय हुनेछ । यसै महिना नेपाली लोकतान्त्रिक आन्दोलनका होनहार प्रतिभा र भविष्यमा केही गर्न सक्ने र नेपालको विकासमा योगदान दिनसक्ने सपना भएका नेता नवीन्द्रराज जोशीलाई नेपालले गुमाउनुप-यो । 

राजनीतिक व्यवहार र लोकतान्त्रिक संस्कृतिका कारण जोशीले सानो उमेरमा नै प्रभावकारी छाप छोड्नुभएको थियो । कोइराला परिवारका हस्ती र लोकतान्त्रिक आन्दोलनका अग्रणी अशोक कोइराला, महिला आन्दोलनकी सशक्त नेता गिरिराज कुमारी (ज्ञानु) प्रसाईं, लक्ष्मी भण्डारी, लोकतान्त्रिक आन्दोलनका अग्रणी एकनाथ रानाभाट, र रामबाबु प्रसाईं अनेक हस्तीहरू न्ोपालले यो साल गुमाउन पुग्यो । राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव अवशान यसै साल भयो । एक वर्षभर पार्थिव अवशानको संख्या धेरै छ । कोही कोभिडका कारण, कोही अरू रोगका कारण र कोही दुर्घटनाका कारणबाट हामीबाट बिदा हुनुभयो । ती हरेकको अतुलनीय योगदान आफ्ना ठाउँमा फरक हुनसक्छ र छ पनि ।

विष्णुबहादुर मानन्धरको योगदानलाई फरक रूपमा बुझ्नुपर्ने हुन्छ । रौतहटको जमिन्दार परिवारको सदस्य भएर पनि उहाँ कम्युनिष्ट आन्दोलनमा सक्रिय हुनुभयो । त्यसो त मोहनविक्रम सिंह हुन् कि डा. केहरजंग रायमाझी समृद्ध जमिन्दार नै हुनुुहन्थ्यो । मोहनविक्रमले कम्युनिष्ट आन्दोलनको धारलाई हिंसात्मक र प्रतिशोधकारी बनाउन शिष्यहरू तयार पार्नुभयो भने डा. केशरजंग रायमाझीले समर्पणवादीहरूको झुण्ड विकास गर्नुभयो । तर, पुष्पलाल, तुल्सीलाल, नारायणमान, रूपलालहरूले परिवर्तनमा प्रतिशोध वा समर्पणवाद दुवैलाई स्थान दिनुभएन । विष्णुबहादुर मानन्धर पनि यही लहरमा रहेर ७० वर्षसम्म नेपालको साम्यवादी आन्दोलनमा सक्रिय हुनुभयो । उहाँले रौतहट किसान आन्दोलनमा नेतृत्व लिनुभए पनि त्यस समयमा त्यो स्वाभाविक हुनसक्छ । 

तर, त्यसपछिका दिनमा उहाँले जडसूत्रवादी साम्यवादी चिन्तनभन्दा पनि स्वतन्त्रतासहितको समतामूलक समाज निर्माणको महाभियानमा आफूलाई प्रस्तुत गर्नुभयो । उहाँको शालीनता, भद्रता र निर्लुब्धता विशिष्ट गुण थियो । अत्यन्त व्यावहारिक भएर उहाँले नेपालको राजनीतिक आन्दोलनमा विचारसमेत दिइरहनुभयो । राजनीति आजका दिनमा कसैले जोगी हुन होइन भन्छन् । सत्ता, शक्ति र सम्पत्तिका लागि राजनीति भइरहेको अवस्था छ । पदका लागि असन्तोष, विद्रोह, झगडा, टुटफुट अनेक चरित्रहरू नेपाली राजनीतिमा निरन्तर देखिइरहेको छ । तर, मानन्धरले कहिल्यै पनि शक्तिको, सम्पत्तिको राजनीति गर्नुभएन । अवसर आउँदा पनि उहाँले पद, सत्ता, शक्तिलाई महत्व दिनुभएन । २०४६ सालको सफल जनआन्दोलनपछि गणेशमान सिंहलाई प्रधानमन्त्रीको अवसर थियो तर उहाँले जसरी अस्वीकार गर्नुभयो त्यसरी नै मानन्धरजीले पनि मन्त्री पदलाई अस्वीकार गर्नुभएको थियो । उहाँको पार्टीबाट चाहनुभएको भए उहाँ नै मन्त्री हुनुहुने थियो  तर सधा विचारको राजनीति गर्नुहुने मानन्धरले विचारकै लागि आफूलाई सक्रिय बनाइरहनुभयो । 

झापा काण्डबाट व्यक्तिहत्या सुरु भएको थियो । नक्सलपन्थी हिंसाको वरिपरि रहेको त्यो झापाको व्यक्तिहत्याको सिलसिला धेरै बढेन । नेपालको कम्युनिष्ट आन्दोलनका नाममा भएको त्यो निर्मम व्यक्तिहत्या काण्डको रहस्य गर्भमा नै रहेको भए पनि त्यसकाण्डले साम्यवादी सपना बुनेका केही होनहार नेपाली सपूतहरूको जीवन समाप्त पा-यो भने केहीलाई सत्ताको अन्तिम सिँढीसम्म उकाल्ने काम गरेको छ । २०५२ सालदेखि करिब १० वर्षसम्म सञ्चालित माओवादीको कथा त झन् क्रूूर, भयानक र दर्दनाक छ । विष्णुबहादुरजी जस्ता परिपक्व नेताहरूले हिंसालाई र क्रूरतालाई कहिल्यै पनि आफ्नो आन्दोलनको हिस्सा बन्न दिनुभएन । विनाप्रतिशोध, विनाहिंसा, शोषित, पीडित विपन्न वर्गको विकास र उत्थानमा आफूलाई समर्पित गर्ने  विष्णुबहादुर मानन्धरको पार्थिव अवशानसँगै नेपालको साम्यवादी आन्दोलनको पहिलो पुस्ता एकप्रकारले समाप्त भएको छ । हामी साम्यवादी आन्दोलनका एक निष्ठावान् साधक  मानन्धरजीसहित दिवंगत ती मूर्धन्य सबैप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछौँ ।


Views: 181

सम्बन्धित सामग्री:

विवादमा मानपदवी र अलंकार

: चैत्र २९, २०७७ (९:३२ AM)

अझै मिलेन राजनीतिक समीकरण

: चैत्र २६, २०७७ (८:१९ AM)