11th April | 2021 | Sunday | 7:28:23 PM

फोहोरको दीर्घकालीन समाधान आवश्यक

  POSTED ON : चैत्र २०, २०७७ (८:४७ AM)

फोहोरको दीर्घकालीन समाधान आवश्यक

काठमाडौं उपत्यकाको फोहोरको समस्या बेलाबेलामा बल्झिरहने गर्छ । अहिले फेरि बल्झिने मौका पाएको छ । सडकका छेउहरूमा नजिकका घरहरूबाट ल्याएर थुपारिएका फोहोरका डंगुरहरू देखिन्छन् । भरखरै जाडो सकिएर गर्मीको मौसम सुरु भएको छ । हावाहुरी आउने समय पनि यही हो । वातावरणलाई प्रदूषित बनाएर मानव जीवनमा ज्यादै ठूलो घात गर्ने तुवाँलोले उपत्यकालागायत देशैभरि नराम्ररी प्रभावित बनाएको छ । रोगको संक्रमण बढ्ने बेला हो यो । यही तुवाँलोले नाक, कान, घाँटी, आँखालगायत श्वासप्रश्वासमा असर पारिरहेको छ । संसारघाती कोरोनाको प्रभाव निमिट्यान्न नहुँदै फेरि बढ्न थालेको छ । यही बेलामा फोहोरको समस्याले टाउको उठाउनाले उपत्यकावासीहरूमा गर्मीमा हुने अन्य विभिन्न प्रकारका रोगबाट प्रभावित हुनुपर्ने भएको छ । 

यसरी फोहोरको समस्या सिर्जना हुनुका पछाडि पनि अन्ततः राजनीतिकै प्रभाव देखिन जान्छ । फोहोर व्यवस्थापनका बेला स्थानीयसँग जे–जस्ता सम्झौता गरिएका थिए ती सर्तहरू सरकारका तर्फबाट पूरा नगरिनाले नै वर्तमान यस्तो समस्या पैदा भएको हो । घरघरबाट उत्सर्जन हुने फोहोरको समस्या भने गाउँघरमा भन्दा शहरी क्षेत्रमा बढी देखापर्छ । गाउँमा तरकारी र फलपूmल आदिबाट पैदा हुने फोहोर गाईभैंसीलाई खुवाइने, आफ्नै बारी वा मलखाडीमा हालेर प्रांगारिक मल बनाउने गरिन्छ । यसरी कुहिने फोहोर गाउँका लागि कुनै समस्या नै होइन तर शहरी क्षेत्रमा गाईवस्तु नपालिने र फोहोर विसर्जनका लागि जमिनको अभाव भएका कारण कुहिने फोहोर विस्थापन ठूलो समस्या बन्ने गरेको छ । यस्तो फोहोर छिट्टै कुहिएर दुर्गन्ध फैलिन जानाले रोगको कारण नै यही बन्छ । 

नकुहिने फोहोरका हकमा केही दिनसम्म जम्मा गरेर राख्न सकिने भएकाले तत्क्षण यसबाट रोग फैलिहाल्दैन तर लामो समयसम्म यस्तो फोहोर राख्न सकिँदैन । गाउँघरमा यस्ता फोहोर जलाउने गरिन्छ । जलाउँदा वातावरण प्रदूषित त हुन्छ नै तर एकातिर हाम्रो देशमा फोहोरमैलाजन्य कुराहरू यसरी जलाउनु हुँदैन भन्ने नियमकानुन छैनन् भने अर्कातिर गाउँघरका मानिसमा यस्तो चेतना पनि छैन । घाँसघँसेटा र घैमलहरू जलाएर त्यसको खरानी मलका रूपमा प्रयोग गर्ने चलन छ । सिटा जलाएर ब्याड तयार बनाउने गरिन्छ । शहरमा भने यस्ता दुवै प्रकारका फोहोरको विस्थापन र व्यवस्थापन ठूलो चुनौती बन्दै आएको छ । न त कुहिने फोहोर कुहाउने ठाउँ छ न नकुहिने फोहोर जलाउने ठाउँ छ ।

काठमाडौं उपत्यका नेपालकै ठूलो शहरी क्षेत्र र घनाबस्ती हो । त्यसैले यहाँबाट अन्तभन्दा बढी फोहोरमैला उत्सर्जन हुन्छ र त्यसको विस्थापन तथा व्यवसथापनका लागि सरकारलाई ठूलो चुनौती खडा हुनेगर्छ । धेरै टाढा लगेर फोहोर विसर्जन गर्न कठिनाइ हुने हुनाले उपत्यका नजिकैका ठाउँहरू यसका लागि खोज्नुपर्ने हुन्छ । सरकारले दशकअगाडि व्यवस्था गरेको नुवाकोटको सिसडोल त्यहाँका स्थानीयसँग छोटो समयका लागि गरिएको स्थान थियो र त्यहाँ फोहोर विस्थापन गर्न दिएबापत त्यहाँका स्थानीयहरूसँग सरकारले केही सम्झौता गरेको थियो । तर, सरकारले ती शर्त पूरा नगरेको र त्यहाँ छोटो समयको सम्झौताका आधारमा लामो समयसम्म त्यहीँ लगेर फोहोर फालिरहेको स्थानीयहरूको दाबी रहेको छ । उपत्यकाभित्रका सबै स्थानीय तहहरूले आआफ्नो क्षेत्रबाट पैदा भएको फोहोर त्यहीँ फाल्ने गरेका छन् । काठमाडौं महानगरपालिका नुवाकोटकै बन्चरे डाँडामा स्थायी रूपमै फोहोर व्यवस्थापनका लागि ल्यान्डफिल्ड साइड बन्दैगरेको बताउँछ । 

तर, फोहोर दुई÷चारदिन नउठ्दामात्र समस्या सिर्जना भइहाल्छ । स्थानीयका लागि शिक्षा, रोजगारीलगायत व्यवस्था मिलाइदिने गरी गरिएको सम्झौता सम्बन्धित निकायबाट पालना नभएको हुँदा त्यहाँ फोहोर फाल्न नदिएको बताउँछन् स्थानीय । यदि त्यसमा सत्यता छ भने नेपालका राजनीतिज्ञहरूले गर्ने गरेको सबैक्षेत्रको प्रतिनिधि समस्या हो यो । सरकार विकास निर्माण, योजना आदि सबै क्षेत्रमा यसरी नै जनतालाई आश्वासन बाँड्छ र पूरा गर्दैन भन्ने एउटा दृष्टान्तका रूपमा यसलाई अघि सार्न सकिन्छ । समस्या स्थानीयका पनि छन् र उपत्यकावासीका पनि । फोहोर फालिएको क्षेत्रको वरिपरिको वातावरण प्रदूषित भएको हुनसक्छ । त्यसको मारमा स्थानीयहरू निश्चय परेका छन् । त्यसैले दुवै पक्षले आपसी छलछफ गरी फोहोर व्यवस्थापनको समस्या तुरुन्तै हल गर्नु आवश्यक छ । 


Views: 65

सम्बन्धित सामग्री:

विवादमा मानपदवी र अलंकार

: चैत्र २९, २०७७ (९:३२ AM)

अझै मिलेन राजनीतिक समीकरण

: चैत्र २६, २०७७ (८:१९ AM)