11th April | 2021 | Sunday | 6:01:47 PM

राष्ट्रपतिको पार्टी राजनीति !

  POSTED ON : चैत्र २३, २०७७ (९:४१ AM)

राष्ट्रपतिको पार्टी राजनीति !

राष्ट्रको गरिमामय पदमा पुगेका व्यक्तिहरू कहिलेकाहीँ आफ्नो पदीय मर्यादा बिर्सिएर आपूm पहिले राजनीतिमा सक्रिय रहेको पार्टीका गतिविधिमा सक्रिय रहनुले मर्यादाको स्तर खस्किन पुग्छ । पटक–पटक विवादमा आउने र आफ्नो मर्यादा जोगाउन नसक्ने उच्च पदस्थमा वर्तमान राष्ट्रपति पनि पर्ने गर्नु भएको छ । उहाँको यस्तै व्यवहारबाट उहाँ विवादमा पर्ने गर्नु भएको हो । हालैमात्र उहाँ पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको डल्लुस्थित घरमै पुगेर भेट्नुभएको छ । वास्तवमा राष्ट्रपति त्यस्तो गरिमामय पद हो जसले आफूले चाहेको मानिसलाई आफ्नै कार्यालयमा बोलाएर भेट्न सक्छ । 

विगतमा नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निधन भएका बेला उहाँको पार्थिव शरीर श्रद्धाञ्जलि दिन दशरथ रंगशालामा राखिँदा तत्कालीन राष्ट्रपति डा. रामवरण यादव श्रद्धाञ्जलि दिन त्यहीँ पुग्नुभएको थियो । त्यसबेला उहाँको निकै विरोध भयो । राष्ट्रपति राष्ट्रको सबैभन्दा ठूलो व्यक्ति हो । मर्यादाक्रममा पहिलो नम्बरमा राष्ट्रपति रहने संवैधानिक व्यवस्था छ र राष्ट्रपतिजस्तो गरिमामय पदमा रहेको व्यक्ति यसरी कसैको निधनमा जाने होइन, आफ्नै कार्यालयबाट शोक विज्ञप्ति जारी गर्नुपर्ने हो भनेर आलोचित हुनुभएको थियो । अन्तिममा उहाँले म अरूको भए जाने थिइनँ, किसुनजीको निधनमा भावविभोर भएर श्रद्धाञ्जलि दिन नगई रहनै सकिनँ भन्नुपरेको थियो । त्यसपछिका राष्ट्रपतिले त्यस्ता घटनाको स्मरण गर्नुपर्ने थिएन र ? 

हाल नेकपामा चलिरहेको विग्रहको खुला राजनीतिले वास्तवमा नेकपा भन्ने पार्टीको त हुर्मत इज्जत केही बाँकी रहेकै छैन साथै राजनीति भनेको त वास्तवमै फोहोरी खेल नै रहेछ भन्ने प्रमाणित हुँदै गएको छ । जसरी छिमेकी देश चीनकी नेपालस्थित राजदूत नेकपाका नेताहरूका घरघर गएर नेकपाको राजनीतिक विग्रह मिलाउने प्रयास पटक–पटक गरिरहनुहुन्छ, राष्ट्रपतिको हालको झलनाथ खनाल निवास गमन त्यही रूपमै देखियो । प्रतिनिधिसभाका सभामुख, उपसभामुख, राष्ट्रपति, उपराष्ट्रपति जुन राजनीतिक पृष्ठभूमिको भए पनि उक्त पदमा रहने हो भने पार्टीको सदस्यता त्यागेर स्वतन्त्र भूमिकामा रहनुपर्छ । तर, वर्तमान राष्ट्रपति पार्टी राजनीतिमै सक्रिय रहँदै आउनुभएको कुरा बेलाबेलाका घटनाक्रमले पुष्टि गर्दै आएका छन् । उहाँले स्वतन्त्र भूमिका निर्वाह गर्न नसक्नुभएकै कारण उहाँका विरुद्धमा उहाँकै पार्टीका कार्यकर्ताहरूले नाराबाजी गरे र स्वतन्त्र नागरिकहरूले बरु उहाँप्रति सहानुभूति देखाएको कुरा धेरै पुरानो भएको छैन । 

बरु अरू पार्टीका नेता कार्यकर्ताले उनीहरूको त्यस्तो व्यवहारको आलोचना गरे र उहाँप्रति सहानुभूति प्रकट गरे । नेकपाका कार्यकर्ताको त्यस्तो व्यवहार र नारा नेकपाको रत्यौलीका रूपमा चर्चामा आयो । केन्द्रीय समितिकै एकजना नेतृले उहाँको हुर्मत लिनुभयो र उहाँलाई सरकारले पक्राउ नै ग¥यो । तर, उहाँ अझै लोकप्रियता हासिल गर्दै तुरुन्त छुट्नुभयो । उहाँहरूले यस्तो मौका पाउनुमा राष्ट्रपतिकै कमजोरी देखिन्छ । प्रधानमन्त्रीको अत्यन्त निकट रहेर उहाँले लगेका सबै खालका विधेयक, संसद विघटनका सिफारिश छिनभरमै सदर गर्ने जस्ता कार्य उहाँबाट हुँदै आएका छन् । त्यस्तै प्रकृतिका सिफारिश उहाँभन्दा पहिलेका प्रधानमन्त्रीबाट गरिँदा उहाँले सदर नगरेका उदाहरणहरू छन् । 

यसैगरी राष्ट्रपति पार्टी राजनीति मिलाउने र ‘मिलेर काम गर’ भन्दै पार्टी नेताहरूका घरघर जाने हो भने न उहाँको पदको मर्यादा रहन्छ न उहाँको व्यक्तिगत गरिमा उच्च रहन सक्छ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो सिफारिश पराजित भएपछि पदमै रहिरहनुभएको छ र नेकपाको अर्को घटकको समर्थन फिर्ता भएपछि मात्र राजीनामा दिन्छु भनिरहनुभएको छ । उता नेकपा माओवादी केन्द्र केही दिनमै समर्थन फिर्ता गर्ने भनिरहेको छ । नेपाली कांग्रेसले उहाँविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको बताएको छ र त्यसमा जसपालेसमेत समर्थन गर्ने भनेको छ । त्यसैले प्रधानमन्त्रीका कमजोर दिन आउन लागेका छन् । 

भर्खरै निलम्बनमा परेका नेताहरूलाई निलम्बन फुकुवा गराएर नेकपाको धमिलिएको राजनीतिलाई सङ्लो पार्ने राष्ट्रपतिको प्रयास हो कि भन्ने देखिन आएको छ । इतिहास संशोधन मण्डलका व्यक्तिहरूलाई भेट्न आएका बेला छिमेकमा रहेका नेता खनाललाई राष्ट्रपतिले भेटेको भने पनि सबैले यसलाई सहजरूपमा विश्वास गरिहाल्न सकेका छैनन् । राष्ट्रपतिले आफ्नो मर्यादा जोगाएर बस्नु नै उचित हो । सक्रिय राजनीति गर्ने हो भने हाल उपभोग गरिरहेका सम्पूर्ण सेवासुविधा त्याग गरेर आउनु उपयुक्त हुन्छ । सरकारी सुखसुविधा भोग गरेर पार्टी राजनीति गर्नु राष्ट्रपतिका लागि शोभनीय हुन सक्दैन । 


Views: 24

सम्बन्धित सामग्री:

विवादमा मानपदवी र अलंकार

: चैत्र २९, २०७७ (९:३२ AM)

अझै मिलेन राजनीतिक समीकरण

: चैत्र २६, २०७७ (८:१९ AM)