11th April | 2021 | Sunday | 7:41:27 PM

जसपाको बार्गेनिङ क्षमता

  POSTED ON : चैत्र २४, २०७७ (८:२६ AM)

जसपाको बार्गेनिङ क्षमता

नेपाली कांग्रेसले सरकारको नेतृत्व लिन पहल गर्ने निर्णय गरेसँगै जनता समाजवादी पार्टीको मूल्य हृवात्तै बढेको छ र बार्गेनिङ क्षमता बढेको छ । यसै पनि उसले प्रधानमन्त्री ओलीसँग सरकारको समर्थनका लागि मागहरूको विनिमय गर्न थालेको निकै दिन भइसकेको छ । जसपाको एउटा पक्ष सरकारसँग लेनदेनमा सक्रिय रहँदै गर्दा अर्को पक्ष भने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र माओवादी केन्द्रसँग सरकार परिवर्तन गर्न उत्प्रेरक भूमिका निर्वाह गर्दैछ । यतिखेर जसपाको अवस्था २०५१ सालको राष्ट्रिय प्रजातन्त्र पार्टी र २०६४ को मधेसकेन्द्रित दलहरूको समान हुनपुगेको छ । यसै जसपाका अधिकांश नेताहरू सरकारमा पुग्नका लागि जे गर्न तयार हुन्छन् भनेर दुर्नाम भएको विगत छ । राष्ट्रिय प्रजातन्त्र पार्टीमा कमल थापा प्रवृत्ति जसरी स्थापित छ त्यसैगरी मधेसकेन्द्रित दलका नेताहरूको छवि स्थापित भएको छ । सरकारको पक्ष र विपक्षमा देखिने गरी चलेको विनिमयको खेल त्यही छविको अर्को रूप हो । 

सरकारमा पुग्ने र केही भए पनि सुविधा र समृद्धि थप गर्नेबाहेक उनीहरूको राष्ट्रिय समस्याहरूमा चासो देखिएको छैन । यसैकारण जसपाका नेताहरू नेपाली कांग्रेसलाई सरकारको विकल्प खोज्न एकातिर र अर्कातिर एमालेका अध्यक्ष प्रधानमन्त्री केपी ओलीलाई आफ्ना माग पूरा गर्न सहकार्यको सन्देश प्रवाह गरिरहेको सुनिन्छ । २०५१ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूको भद्दा राजनीतिक चरित्रका कारण दुर्नामीको, राजनीतिक कुसंस्कारका सबै प्रसंगलाई उछिन्ने गरी उदाहरण बनेको छ । त्यसखेलको सिकार कुनै बेला नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा भए त कुनै बेला एमालेका नेता वामदेव गौतम । एमाले र नेपाली कांग्रेसका बीचमा झुण्डिएको रोटेपिङजस्तो गरी मच्चिँदै गर्दा लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापाले बहुदलीय राजनीतिमा समेत सबैलाई निरस्त गर्न पाउनु भएको थियो ।

आन्दोलनको पर्याय बन्नुभएका, परिवर्तनको नायक देखिनु भएका नेताहरूलाई समेत पाखामा पारेर चन्द र थापा प्रधानमन्त्रीमात्र हुनु भएन उहाँहरूले त्यसअघि निर्दलीय पञ्चका रूपमा गरेको सबै अपकृत्यहरूसमेत धोइपखाली गर्ने अवसर पाउनुभयो । यो उहाँहरूको सफलता थियो र अरू राजनीतिक नेताहरूको मूर्खता, अहंकार र प्रतिशोधकारी चिन्तनको परिणाम थियो । यो घटनाले नेपालको राजनीतिलाई स्थायी क्रयविक्रयको फोहोरी खेलमा परिणत गरिदियो जो आजसम्म निरन्तर छ ।

२०६४ सालमा मधेसकेन्द्रित दलहरू २०५१ को राप्रपाको नवीन अवतर भएर उपस्थित भए नेपाली राजनीतिमा । त्यसबेला उनीहरूमा अहिलेको जसपाको जस्तो बार्गेनिङ क्षमता थिएन तर अहिले जसपासँग पर्याप्त क्षमता छ । यतिखेर प्रधानमन्त्री ओली जसपाका हरेक माग पूरा गर्न तयार देखिनु हुन्छ भने माओवादी र नेपाली कांग्रेस सरकारको नेतृत्वसमेत दिन तयार भएको अवस्था छ । तर, जसपाभित्रको किचलो जिम्लिएको पानीजस्तो छ । एकथरी ओलीको कदमविरुद्ध विपक्षसाग सहकार्य भनिरहेका छन् भने अर्कोथरी ओलीसँग नै सहकार्यमार्फत माग पूरा गर्ने प्रयासमा जुटेका छन् । 

नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा प्रधानमन्त्रीविरुद्ध विकल्प दिने र सरकार निर्माण गर्ने निर्णय गरेपछि ओलीसँग सहकार्य गर्न खोज्नेहरूको पल्लाभारी भएको छ । किनकि माओवादी केन्द्र र नेपाली कांग्रेसले जसपाको नेतृत्व नभएर पाएसम्म आफ्नो नेनतृत्वमा सरकार निर्माणमा अग्रसरता देखाउन खोज्दा जसपाका मागहरूप्रति स्पष्ट कुनै संकेत देखाएका छैनन् । तर, प्रधानमन्त्री ओलीले सरकारी तहमै वार्ता टोली गठन गर्नुभएको छ र जसपाका तर्फबाट टीकापुर प्रकरणमा जेलजीवन बिताइरहेका रेशमलाल चौधरीको नेतृत्वमा गठित जसपाको टोलीलाई औपचारिक रूपमा नै मान्यताका साथ स्वीकार गरेको छ । 

नेपाली कांग्रेस वा माओवादी केन्द्रमात्रको प्रयासमा सरकार परिवर्तन हुनसक्दैन । जसरी एमालेमा व्यपक असन्तोष छ र समानान्तर संगठन निर्माणको क्रम बढेको छ यसको उत्कर्ष नभएसम्म एमालेमा विभाजन आउने छैन । अहिले नै एमालेको कुनै विभाजनको सम्भावना छैन । यदि नेपाली कांग्रेस र एमालेले अविस्वास प्रस्ताव प्रस्तुत गरे र त्यसमा मतदान क्रममा एमाले असन्तुष्ट पक्षको गणनायोग्य बहिष्कार भएमा पनि अर्को सरकार तत्काल बन्ने सम्भावना रहँदैन । असन्तुष्ट पक्षले पद त्याग गर्ने साहस गरेको खण्डमासमेत संघीय संसदको कूल संख्याको आवश्यक बहुमत प्रतिपक्षसँग रहँदैन । यही अवसरमा प्रधानमन्त्री ओलीले वैकल्पिक सरकारको सम्भावना नरहेको दाबीसहित अल्पमतको सरकारले वैधानिक रूपमै प्रतिनिधिसभा विघटन गर्ने खतरा छ । यस्तो बेला नेपाली कांग्रेसले सरकारको पहल गर्नु जति जोखिमपूर्ण छ त्यति नै जसपाका दुवै हातमा लड्डु वर्षिरहने अवसर जुटेको छ । 


Views: 24

सम्बन्धित सामग्री:

विवादमा मानपदवी र अलंकार

: चैत्र २९, २०७७ (९:३२ AM)

अझै मिलेन राजनीतिक समीकरण

: चैत्र २६, २०७७ (८:१९ AM)