11th April | 2021 | Sunday | 6:26:56 PM

अझै मिलेन राजनीतिक समीकरण

  POSTED ON : चैत्र २६, २०७७ (८:१९ AM)

अझै मिलेन राजनीतिक समीकरण

हुन त नेपालमा कहिल्यै पनि राजनीति सोचे जसरी अगाडि बढेको छैन तर हालका दिनमा यो इतिहासमै सबैभन्दा नराम्रो गरी बिग्रिएको अवस्थामा छ । संसारका शासकहरूमा सनकको इतिहास देखिएको, सुनिएको र पढिएकै हो । नेपालका शासकहरूको सनक पनि बेला–बेलामा देखिने गरेको छ । शासकले देश र जनतालाई केन्द्रमा राखेर शासन चलाउनुपर्ने हो तर आफ्नो स्वार्थलाई सर्वोपरी ठानेको मात्र देखिने गरेको अवस्था छ । यसको अपवाद केही पात्रमात्र छन् । राजनीतिक क्षेत्रमा त्यस्तैको चाहिँ बढी आलोचना हुनेगर्छ । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पनि एक सन्की शासक देखिनुभएको छ । आफूले नपाए अरूलाई पनि नदिने प्रवृत्ति उहाँमा पाइयो । उहाँले बिगारेको राजनीतिक वातावरण अझै संलिन सकेको छैन । पार्टीको विग्रहको स्थिति अझै बढ्दै गएको छ । 

माधव नेपाल र झलनाथ खनालहरू कारबाहीमा पर्नुभएको छ तर उहाँहरूले ओलीलाई चुनौती दिँदै समानान्तर समिति बनाउन थाल्नुभएको छ र त्यसको सुरुवात काठमाडौंबाटै गर्नुभएको छ । नैतिकता कानुनीरूपमा बाध्यकारी हुँदैन, त्यो व्यक्तिले पालन गर्नुपर्ने कुरा हो । उहाँले पालन गर्नुभएन । त्यसैले उहाँलाई हटाएर सरकारको फेलबदल गर्नुपर्छ भनेर अरू पार्टीका नेताहरू लाग्नुभएको छ तर उहाँहरू नै यसका लागि प्रष्ट हुन सक्नुभएको छैन । नेकपा एक भएका बेला र हाल विभाजित भएका बेलामा नेपाली कांग्रेस संसद्मा दोस्रो ठूलो पार्टीका रूपमा छ । तर, नेपाली कांग्रेससँग नेकपा माओवादी केन्द्र मिल्दा पनि सरकार बन्ने आवश्यक बहुमत पुग्दैन र त्यसका लागि जनता समाजवादी पार्टीको समेत समर्थन आवश्यक हुन्छ । 

उता सरकारमा रहेको नेकपा एमालेको एक्लै बहुमत पुग्दैन । जनता समाजवादी पार्टीको समर्थन भएका खण्डमा उसको बहुमत पुग्छ । यसरी हेर्दा जनता समाजवादी पार्टी हाल सरकार बनाउने साँचो बन्न पुगेको छ । यही मौकामा सरकारसँग राम्ररी बार्गेनिङ गर्ने मौका उसले पाएको छ । यस पार्टीभित्रका एकथरी नेताहरू कुनै पनि हालतमा यस सरकारलाई समर्थन गर्नुहुँदैन भन्ने पक्षमा छन् भने अर्को एउटा समूह मौकामा चौका हानेर आफ्ना केही मागहरू पूरा गराउने उद्देश्यका साथ ओली सरकारमा जाने सोचमा छ । कैलाली घटनाका आरोपी रेशम चौधरीलाई छुटाउने र सरकारको नेतृत्व गर्ने मौकाको ताकमा महन्थ ठाकुर र राजेन्द्र महतोहरू रहनुभएको देखिन्छ । हो, महन्थ ठाकुर प्रधानमन्त्री बन्नसक्ने उचाइको नेता हुनुहुन्छ । नेपाली कांग्रेसमा रहिरहनुभएको भए उहाँको उचाइ वर्तमान पहिलो लहरका नेताहरू समानै हुने कुरा निर्विवाद थियो । 

मधेसकै नेताहरूसँग दाँजेर हेर्दा पनि उहाँ अग्रपंक्तिका नेताहरूकै उचाइमा हुनुहुथ्यो । तर, उहाँ नेपाली कांग्रेस छोडेर मधेसी पार्टीहरूको नेता बन्न पुग्नुभयो । पार्टी बदलेर वा पार्टीको नाम बदलेर उहाँ हालसम्म पनि मधेसी पार्टीहरूमै रहिरहनुभएको छ । मधेस आन्दोलन साम्य पार्न गिरिजाप्रसाद कोइरालाले पठाउनुभएको भन्ने उहाँका बारेमा जुन टिप्पणी गरियो त्यो उहाँको हालसम्मको मधेसवादी पार्टीमै रहिरहेको अवस्थाले गलत साबित गरिदिएको छ । त्यसैले यही मौकामा प्रधानमन्त्री बन्ने सोच उहाँको हुनसक्छ । यदि उहाँले आफ्नो पार्टीका नेताहरूबाट सर्वसम्मत निर्णय गराउन सक्नुभयो भने र नेकपा एमालेलाई सहमत गराउन सक्नुभयो भने उहाँको एउटा इतिहास रचिन्छ । मधेसी पार्टी र मधेसीमूलको व्यक्ति नेपालको प्रधानमन्त्री बनेको पहिलो रेकर्ड बन्छ तर त्यसका लागि सजिलो छैन । 

पहिलो कुरा त आफ्नै पार्टीको सर्वसम्मत निर्णय गराउन मुस्किल छ । डा. बाबुराम भट्टराई र उपेन्द्र यादवजस्ता ठूला नेताहरूको असहमति हुँदाहुँदै उहाँले केपी ओलीको सरकारको समर्थन गर्न सक्नुहुन्न । अर्कातिर रेशम चौधरी रिहाइ र प्रधानमन्त्री नपाउने हो भने ओली सरकारलाई समर्थन गर्नुको कुनै उपलब्धि उहाँहरूका लागि देखिँदैन । ओलीले त्यति सजिलै प्रधानमन्त्री पद उहाँलाई दिनुहोला भनेर विश्वास गर्न सकिने आधारहरू छैनन् । त्यसो हो भने उहाँहरूले असम्भव सपना देखेर ओलीसँग नजिक हुनुभन्दा नेपाली कांग्रेस र माओवादीसँग मिलेर सरकारमा जाँदा बढी लाभदायी बन्न सक्छ । यसो गर्दा आफ्नै पार्टीका नेताहरू टाढिने सम्भावना रहँदैन र प्रधानमन्त्री नपाए पनि उहाँले सम्मानजनक स्थान पाउनुहुनेछ । महन्थ ठाकुरका लागि त नेपाली कांग्रेस मातृ पार्टी पनि हो र यसैसँग मिलेर सरकारमा जानु उहाँहरूका लागि हितकर देखिन्छ । 


Views: 44

सम्बन्धित सामग्री:

विवादमा मानपदवी र अलंकार

: चैत्र २९, २०७७ (९:३२ AM)

जनमुखी हुन सकेनन् दलहरू

: चैत्र २५, २०७७ (८:३६ AM)