16th May | 2021 | Sunday | 3:16:46 AM

कोरोना कहर फेरि बल्झियो

  POSTED ON : चैत्र ३०, २०७७ (८:०७ AM)

कोरोना कहर फेरि बल्झियो

कोरोना एउटा महामारी हो जो गत डेढ वर्षदेखि निरन्तर रूपमा संसारव्यापी बनेर फैलिएको छ । गतवर्ष यसले संसारभरि निकै ठूलो आतंक मच्चायो । सामथ्र्य भएका देशहरू पनि यसबाट निकै प्रभावित बन्नपुगे । विश्वको अग्रपंक्तिका देशहरू अमेरिकार, बेलायत, इटाली भारतहरू ज्यादै नराम्ररी प्रभावित भए र ठूलो जनधनको क्षति तिनले व्यहोर्नु प¥यो । कोरोना विस्तारै नियन्त्रणमा आएको जस्तो देखियो । सावधानी रहनसहन र खानपानबाट पनि यस्तो भएको हुनसक्छ । विश्वका वैज्ञानिकहरूले कोरोनाविरुद्धको भ्याक्सिन पत्ता लगाए । यसले व्यापकता पायो । खोप लगाएको आत्मविश्वासले सबै ढुक्क भए तर हालका दिनमा खोप लगाएकालाई फेरि कोरोना संक्रमण भएका कारण यसको विश्वासमा मात्र बस्न सक्ने अवस्था देखिएको छैन । कोरोनाले फेरि आफ्नो कहर विस्तार गरेर गएको छ । दक्षिण अमेरिकी देशहरूमा यसको व्यापकता छाएको छ । हाम्रै छिमेकी देश भारत पुनः नराम्ररी प्रभावित हुन पुगेको छ ।

बृहत् भारत यसरी प्रभावित बन्नु भनेको नेपालका लागि सबैभन्दा ठूलो खतराको घण्टी बज्नु हो । त्यो बजिसकेको छ । नेपाल भारतबीच खुखा सिमाना छ, यी दुई देशबीचको आवागमनमा कुनै प्रकारको रोकतोक वा बन्देज छैन । लाखौं नेपालीहरू रोजगारीका क्रममा भारतमा छन् र हजारौं भारतीय नागरिकहरू नेपालमा रोजगारी गरेर बसिरहेका छन् । उनीहरू एकअर्को देशमा आउजाउ गरिरहन्छन् । तराईका जिल्लाहरूका सीमा क्षेत्रमा नाता कुटुम्बको सम्पर्कदेखि दैनिक उपभोग्य सामग्री ओसारपसार गर्ने गरिन्छ । सीमा क्षेत्रको अनियन्त्रित आवागमन कोरोनाको बिउमा मलजल थप्ने कार्य जस्तो बन्न जान्छ । कोरोनाले रूप फेरिरहेको छ । नयाँ स्वरूपमा देखापरेको कोरोना पहिलेको भन्दा बढी हानीकारक छ भनिएको छ । 

बेलायतमा देखापरेको कोरोनाको नयाँ प्रकार नेपालमा समेत आइसकेको छ भनिन्छ । भारतमा हाल एकै दिनमा डेढ लाखका संख्या मानिसमा संक्रमित हुनु भनेको खेलाचीको विषय हुँदै होइन । त्यसैले बुद्धिमत्तापूर्ण ढंगले जनसाधारणलाई त सालमा परेको अफ्ठ्यारो जस्तो अवस्था सिर्जना नगरी कोरोनाको संक्रमणबाट जोगाउनुपर्ने उपाय सोच्नुपर्ने हुन्छ । यो जिम्मेवारी मूलतः सरकारकै हो । सरकार जनताको अभिभावक हो तर यसो भन्दाभन्दै गत साल सरकारले जिम्मेवारीबाट पन्सिने काम ग¥यो । अब त्यसो हुनु भएन । अहिलेदेखि नै त्यसका उपायहरू अवलम्बन गर्दै जानु आवश्यक छ । हाम्रो देशमा कारोना संक्रमितहरूको दर कम हुँदै गएर दैनिक पाँच हजारबाट झरेर दैनिक सयभन्दा तल आइसकेकोमा पुनः त्यो दर उकालो लाग्न थालेको तथ्यहरू सरकारले प्रकाशित गर्ने गरेको छ । यो निश्चय अशुभ संकेत हो । 

यसबाट सरकारले नियन्त्रणका उपायहरूको अवलम्बन गर्नुपर्ने हुन्छ भने सरकारलाई मात्र जिम्मेवारी थोपरेर नागरिकहरू भने पन्सिन पाउँदैनन् । आफ्नो सुरक्षाको जिम्मेबार स्वयं नागरिकहरू पनि हुन् । नागरिक र सरकार एकले अर्कालाई जिम्मेवारी पन्साएर होइन एकअर्काका पूरक भएर काम गरेको खण्डमा कोरोनाको कहरबाट जोगिन सजिलो हुने कुरा निर्विवाद छ । सरकारले केही सुझाब र निर्देशनहरू त दिएको छ तर नागरिकहरूबाट त्यसको पालना भएको पाइएको छैन । पच्चीस जनाभन्दा बढीको संख्यामा उपस्थित नहुन सरकारले निर्देशन गरेको छ तर सय डेढ सयको संख्यामा जम्मा भएर कार्यक्रम गरिरहेको पाइएको छ । सरकारले पुनः लकडाउन गर्ने भन्ने हल्ला छ । 

सरकारका मन्त्रीहरूको यसबारे फरक–फरक धारणा बाहिर आएका छन् । एक जनाले लक डाउन हुँदैन भनेका छन् भने स्वयं प्रधानमन्त्रीले लक डाउन हुन पनि सक्छ भन्ने संकेत गर्नु भएको छ । जनतालाई कसका कुरा पत्याउने र आधिकारिक धारणा कुन हो भन्ने भइरहेको छ । अब पहिलो चरणमा शैक्षिक संस्थाहरू बन्द हुने भन्ने चर्चाले व्यापकता पाएको छ । एउटा अन्योलको अवस्था सिर्जना भएको छ । एकातिर कोरोनाबाट बच्नुपर्ने छ भने अर्कातिर मानिसका दैनिकीले निरन्तरता पाउनुपरेको छ । यस्तो अवस्थामा के गर्ने र के नगर्ने भन्ने निर्णय सरकारले सोचेरे विचार गरेर गर्नु आवश्यक छ । पहिलेकै जसरी स्वार्थ र लालचले मात्र काम नगरियोस् । यसो भयो भने कोरोना महामारीबाट जोगिन केही सजिलो होला । 


Views: 79

सम्बन्धित सामग्री:

समीक्षा बैठक र निष्कर्ष

: जेठ २, २०७८ (१२:०२ AM)

सरकार ! महँगी नियन्त्रण होस् !

: बैशाख ३१, २०७८ (८:२८ AM)

अबको विकल्प के सरकार ?

: बैशाख ३०, २०७८ (८:४३ AM)