16th May | 2021 | Sunday | 3:13:48 AM

राजनीतिक अन्यौल अझै कायमै

  POSTED ON : चैत्र ३१, २०७७ (७:२६ AM)

राजनीतिक अन्यौल अझै कायमै

नेपालको राजनीतिक अन्योल अझै कायमै छ । यसको निकास कसरी हुने हो भन्नेबारे कसैले केही भन्न सकेको छैन, भन्न सक्ने अवस्था पनि छैन । यसको मुख्य कारण एउटै पार्टीभित्रका नेताहरू एक हुन नसक्नु हो । यो कुनै एउटा पार्टीको मात्र कुरो होइन सबै पार्टीमा यस्तै छ । हाल चर्चामा रहेका ठूला पर्टीहरूमा नेकपा, नेपाली कांग्रेस र जसपा नै हुन् । अदालतको दोस्रो फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामै पुगेका छन् । यति भएर पनि एमाले र माओवादी केन्द्र दुवैभित्र आपसी एकता कायम हुन सकेको छैन । माओवादी केन्द्रका केही नेताहरू हाल एमालेतर्फ लागेका छन् । उनीहरू मन्त्री पदका लागि पार्टी छोडेर एमालेतिर लागेका हुन् तर उनीहरूको सांसद पद खोसिएको छ । तैपनि उनीहरू छ महिनाका लागि पुनः मन्त्रीमा नियुक्त भएका छन् । छ महिनाको अवधि मन्त्री पद चाखेका र कमाउने बाटाहरू थाहा पाएकाका लागि लामै समय हो । 

त्यसबेलासम्म कमाएकाले जीवनभरका लागि पुग्ने हुँदा सिद्धान्तका कम्युनिष्ट नेताहरू यथार्थमा भोगी विलासी जीवनका लागि आकृष्ट हुन पुगेका हुन् । यसैगरी एमालेका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मतमतान्तर भई प्रचण्डका पक्षमा क्रियाशील झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, रामकुमारी झाँक्रीहरू एमालेमा फर्किन बाध्य भए तर उनीहरू पार्टीभित्र फरक समूह बनाएर हिँडेका छन् । यस्तो सबै पार्टीमा छ । नेपाली कांग्रेसमा पनि यस्तै मतमतान्तर छ । सभापति शेरबहादुर देउवाको मत एकातिर छ भने वरिष्ठ नेता रामचन्द्र पौडेलको मत अर्कातिर तानिएको छ । सरकारमा जाने वा नजाने भनेर ठोस निर्णय हुन सकेको छैन । उहाँहरूको भाषण फरकफरक हुने गरेको छ । त्यसैका आधारमा जनताले निष्कर्ष निकाल्नुपर्ने भएको छ । 

उहाँहरू आपसमा छलफल गरी किन निष्कर्षमा पुग्न सक्नुहुन्न । यसका लागि बाधा व्यवधान केले खडा गरिदिएको छ ? त्यो व्यवधान हटाएर अगाडि बढ्न सकिँदैन र ? एउटा पक्षले सरकारमा जाने भनेको बेला अर्को पक्ष नजाने भन्छ र अर्को पक्षले जाने भनेको बेला फेरि पहिलो पक्ष नजाने भन्छ । सरकार बनाउने सांसद संख्या कांग्रेससँग छैन । माओवादी केन्द्रसँग पनि छैन । यी दुवै मिल्दा पनि पुग्दैन । त्यसैले जसपाको सहयोग आवश्यक छ । उता एमालेसँग एक्लै आवश्यक संख्या छैन तर उसलाई जसपा एउटा पार्टीको समर्थन भए पुग्छ । त्यसैले जसपा तानातानमा परेको छ । जसले नेतृत्वदिन्छ र भनेबमोजिम मन्त्री दिन्छ अनि आफ्ना आपराधिक आरोपमा जेलमा रहेका नेता कार्याकर्ताको विनाशर्त रिहाइ गरिदिन्छ त्यसैलाई समर्थन गर्ने सोचमा छ जसपा । 

कांग्रेस र माआवादी केन्द्रबाट उसका यस्ता माग पूरा नहुनेदेखि जसपाको एउटा हाँगो प्रधानमन्त्री केपी ओली निकट बन्न पुगेको पाइन्छ भने अर्को हाँगो कांग्रेस र माओवादीकै निकट को छ । यसरी जसपामा पनि मतान्तर त देखिएकै छ । उता केपी ओली जसपाका सबै माग पूरा गरेर भए पनि अरूको मेख मार्न जसपालाई समर्थनमा लिन कम्मर कसेर लाग्नुभएको छ । महन्त ठाकुर नेतृत्वका लागि ओलीसँग हुनुहुन्छ भने ओलीका घोरविरोधी डा. बाबुराम भट्टराई कांग्रेस र माओवादी केन्द्रसँग निकट रही नेतृत्वका लागि प्रयासरत हुनुहुन्छ । पहिले चुनावमा जाने तर्क गरिरहनु भएका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल हाल सरकारमा जानुपर्ने विचार व्यक्त गरिहनुभएको छ भने सरकारमा जाने कि नजाने भन्ने द्विविधात्मक मनस्थितिमा रहनुभएका पार्टी सभापति शेरबहादुर देउवा हाल चुनावमा जानुपर्छ भन्ने सोचमा रहनु भएको छ । 

हालैमात्र उहाँले पार्टी कार्यकर्तालाई चुनावका लागि तयार रहन निर्देशन दिनु भएको छ । माओवादी केन्द्रले सरकरालाई दिएको समर्थन फिर्ता गरेको छैन । उक्त समर्थन फिर्ता हुनासाथ प्रधानमन्त्री केपी शर्मा ओली पुनः प्रतिनिधि सभा विघटन गर्ने सोचमा रहनुभएको चर्चा छ । यही कुरा बुझेर नै कांग्रेस सभापति देउवाले आफ्ना कार्यकर्तालाई चुनावका लागि तयार रहन निर्देशन दिनुभएको हुनसक्छ । किनभने प्रधानमन्त्री केपी ओली र शेरबहादुर देउवाको रसायन मिल्ने गरेको चर्चा पनि गर्ने गरिन्छ । जे जसरी होस् वर्तमान राजनीतिक अन्योल हट्नै पर्छ, जनताका हितका कार्य हुनैपर्छ र देश अगाडि बढ्नै पर्छ यसका लागि सबैको सोच एक हुनु नितान्त आवश्यक छ ।


Views: 111

सम्बन्धित सामग्री:

समीक्षा बैठक र निष्कर्ष

: जेठ २, २०७८ (१२:०२ AM)

सरकार ! महँगी नियन्त्रण होस् !

: बैशाख ३१, २०७८ (८:२८ AM)

अबको विकल्प के सरकार ?

: बैशाख ३०, २०७८ (८:४३ AM)