16th May | 2021 | Sunday | 2:03:51 AM

सबैको इमानदारिता अपेक्षित

  POSTED ON : बैशाख १५, २०७८ (८:४७ AM)

सबैको इमानदारिता अपेक्षित

पुर्खाहरूका पालादेखि चलेको एउटा भनाइ प्रख्यात छ ‘जिउ रहे घिउ खान पाइन्छ ।’ अहिले यस्तो जटिल अवस्था आइपरेको छ जसले जिउ नै पो रहँदैन कि भन्ने अवस्था सिर्जना भएको छ । आपूm नै नरहे संसार केका लागि ? त्यसैले आपूm रहने वा बाँच्ने अवस्था कायम राख्न सबैले आ–आफ्नो ठाउँबाट प्रयास गर्नु आवश्यक छ । कोरोना नामको महामारीले एकपटक संसार तहसनहस पा¥यो र केही मत्थर भयो । केही देशहरूले कुशलतापूर्वक आफ्नो देशलाई जोगाए, केही देशले नराम्ररी क्षति व्यहोरेपछि त्यसलाई नियन्त्रण गरे । औषधि आविष्कार गरे र अरूलाई पनि बचाउने प्रयास गरिरहेका छन् । तर, मानवीय प्रयासभन्दा प्राकृतिक प्रकोेप नै शक्तिशाली बनेर विश्वमा पुनः उपद्रव मच्चाइरहेको छ । वर्तमान सन्दर्भमा भन्ने हो भने हाम्रो छिमेकी देश भारत यसबाट नराम्ररी थला परेको छ । 

त्यहाँको भयावह अवस्था कल्पनाभन्दा बाहिरको छ । अवस्था नियन्त्रणबाहिर जान थालेको छ र त्यहाँको मूल प्रवाहको बाछिटा नेपालभित्र आइसकेको छ । नेपालको संक्रमणको ग्राफ दिन प्रतिदिन माथि चढिरहेको छ । यसलाई ओराल्नु सजिलो काम होइन । एउटा संक्रमितबाट अरू संक्रमित थपिनु स्वाभाविकै हो । अन्ततः सरकारले एक हप्ताका लागि लकडाउन गर्ने भएको छ । त्यसका लागि दुई–तीन दिनअघि नै पूर्व सूचना दिइएको छ, जसबाट उपत्यकाबाहिर जानेहरूका लागि समय दिइएको रूपमा सर्वसाधारणले बुझेका छन् । यस अवधिमा उपत्यकाबाहिर जानेहरूको संख्या निकै बढेको छ । यसरी समय दिइनाले गत वर्षको जस्तो मेची–महाकाली हिँडेरै जानुपर्ने नियति दोहोरिँदैन कि भन्ने अपेक्षा गर्न सकिन्छ । 

यसरी हिँडेर जाँदाका अनेकौं विपत्ति, दर्दनाक दृश्य र बाटामै केहीको मृत्यु भएको घटनाको दारुण चित्र धेरैका आँखामा अझै टड्कारै होलान् ।  यति कष्ट खेप्दा पनि स्थानीयका अवरोध र बाटाका तगाराले पनि तिनको यात्रा अझै कष्टप्रद बनेको थियो । अहिले सरकारले उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् उपत्यकाका जिल्लाहरूमा बिहीबारदेखि लकडाउनको घोषणा गरिएको छ । यसलाई अनुचित हो भन्न त सकिँदै सकिँदैन तर यस अवधिमा गत वर्षको जसरी अति आवश्यक काम परेर घरबाहिर निस्केको अवस्थामा निर्दयी ढंगले लाठी प्रहार गरी घाइते बनाउने काम सरकार पक्षबाट नहोस् । खाद्यान्न, तरकारी, दूध, पानीजस्ता अति आवश्यक पदार्थको आपूर्तिमा कमी नहोस् । 

कालोबजारी नबढोस्, महँगीको मारमा जनता पर्नुनपरोस् । सरकार लकडाउन गरेर आरामले कुर्सीमा निदाउने होइन, बजार अनुगमन र आपूर्तिको सहजताका लागि सचेत बनोस् । कालोबजारीयाको मतियार बनेर होइन, तिनलाई कारबाही गरेर जनताको स्याबासी सरकारले पाउन सकोस् । लकडाउन हाम्रै लागि हो भन्ने जनताले अनुभूति गर्न सक्नुपर्छ । चामल र ग्यास किन्न गएको मानिस प्रहरीको कुटाइ खाएर घाइेत बन्छ भने उसका लागि ती सामग्री किन्न ऋण लिएको पैसा अब फेरि उपचारका थप ऋण लिनुपर्ने अवस्थाको सिर्जना सरकारबाटै गरिने हो भने तिनले कसरी सरकारले गरेको काम सही हो भनेर सरकारलाई स्याबासी दिने ? त्यस वर्गले त सरकारसँग केही राहत चाहेको हुन्छ तर सरकार तिनलाई कुटेर थला बसाउँछ भने सरकार खोइ ? तिनलाई दिएको भोटको पुरस्कार हो यो ? 

यसपटकको लकडाउनमा जनताले यस्तो नियति भोग्नुनपरोस् । काम गर्न नपाए पनि खानेकुराका पसल सुचारु रहून्, दाल, चामल र नुन किन्न गएको बाबुलाई उसका स्वास्नी छोराछोरीले घाइते अवस्थामा भेट्नुनपरोस् । लकडाउन बहाना नबनोस् र यसलाई भित्तामा दृश्य देखाएर सरोकारवालाहरूको गोजी भर्ने काम नहोस् । अनि जनतालाई यस्तो प्रभाव परोस् कि लकडाउन हाम्रै लागि हो र लकडाउन गर्नाले हामीलाई फाइदा भएको छ, कोरोनाको कहर कम भएको छ, अब एक वा दुई हप्ता लकडाउन गर्ने हो भने यसको प्रभाव समाप्त हुनेछ । 

त्यसैले सरकारलाई अरू एक वा दुई हप्ता लकडाउन थप्न जनताबाटै आग्रह हुने अवस्था सिर्जना हुनुपर्दछ । यस्तो परिस्थिति खडा गर्न जनता पनि सचेत बन्नुपर्छ ।  पार्टी, भोज, घरायसी जमघट, तास सबै बन्द गरिनुपर्छ, जन्ती तथा मलामीको संख्या अत्यन्त न्यून तोकिनुपर्छ । यस्ता अति आवश्यकीय कामका लागि खाँचो टार्ने संख्याको मात्र उपस्थिति हुनु आवश्यक छ । सरकार र जनताको संयुक्त प्रयास र हातेमालोबाटै कोरोना परास्त हुन सक्नेछ ।  


Views: 45

सम्बन्धित सामग्री:

समीक्षा बैठक र निष्कर्ष

: जेठ २, २०७८ (१२:०२ AM)

सरकार ! महँगी नियन्त्रण होस् !

: बैशाख ३१, २०७८ (८:२८ AM)

अबको विकल्प के सरकार ?

: बैशाख ३०, २०७८ (८:४३ AM)