16th May | 2021 | Sunday | 3:12:03 AM

निषेधाज्ञामा गृह व्यवस्थापन

  POSTED ON : बैशाख १६, २०७८ (८:४१ AM)

निषेधाज्ञामा गृह व्यवस्थापन

आजदेखि निषेधाज्ञा सुरु भएको छ । सबैलाई थाहा भएकै कुरा हो, यो निषेधाज्ञा राजनीतिक कारणबाट लागू गरिएको होइन । कुनै निरंकुश राजनीतिक प्रणाली फाल्न वा सरकार परिवर्तन गर्नका लागि आन्दोलन भई त्यसले चरम अराजक अवस्था सिर्जना गरेका खण्डमा सरकार पक्षबाट निषेधाज्ञा जारी गर्ने गरिन्छ । धेरैले हालको निषेधाज्ञालाई संकटकालका रूपमा बुझिरहेका छन् । भोलिका दिनमा कोरोनाको संक्रमण अनियन्त्रित भएका खण्डमा सरकारले संकटकाल पनि लगाउन सक्ला तर हालको निषेधाज्ञा संकटकाल होइन । निषेधाज्ञा संकटकालभन्दा फरक कुरा हो । कुनै आर्थिक मन्दी, सामाजिक विशृंखलता, राष्ट्रिय अखण्डतामा आँच, वैदेशिक हस्तक्षेपका कारण सार्वभौमिकतामा आएको आँच आदिका कारण कुनै पनि देशले संकटकाल लगाउन सक्छ । 

हालसम्म हाम्रोमा यस्तो स्थिति आइसकेको छैन र संकटकालको कल्पना अहिले गरिएको छैन । निषेधाज्ञा अन्य कारणले होइन, कोरोनाको संक्रमणबाट जोगिन तथा जोगाउनकै लागि हो । केही व्यवसायीहरूले यसको विरोध गरिरहेका छन् तर समग्रमा हालको महामारीको अवस्थाबाट जोगिने सबैभन्दा राम्रो उपाय यही नै हो । निषेधाज्ञा जारी भएपछि परिवारका सबैजना घरैमा बस्नुपर्ने हुन्छ । सबैजनाका जागिर, व्यवसाय, विद्यालय, क्याम्पस सबै बन्द हुने भएका कारण सबैजना घरै बस्नुपर्ने अवस्थाको सिर्जना हुन्छ । यो बाध्यात्मक परिस्थिति हो । एकप्रकारले परिवारका सबै सदस्य सँगै बस्न पाउनु राम्रो पनि हो तर जागिर तथा व्यवसायलगायत सरकारी जागिर हुनेका बाहेक अन्यका आयका बाटाहरू बन्द हुन जानाले यो नै गृहकलहको माध्यमसमेत बन्न जाने गर्छ ।  जसले गर्दा धेरैका घरमा घरेलु हिंसाका घटनाले प्रवेश पाउँछ । 

गत वर्षका यस्ता तथ्यांकहरूले पनि यही कुरालाई पुष्टि गर्छन् । श्रीमान–श्रीमती लामो समयसम्म एकै ठाउँ बिनाकमाइ वा बिनाकाम बस्नुपर्नाले त्यही नै झगडाको बिउ बन्न पुग्छ । केटाकेटीहरूका क्याम्पस, स्कुल बन्द छन् । विद्यालयहरूमा नियमित पढाइ भएका बेला तिनले घरमा पनि गृहकार्य गर्ने, पाठको तयारी गर्ने गर्छन् तर विद्यालय नै बन्द रहनाले घरमा टिभी हेर्ने, गेम खेल्ने, मोबाइलमा सामाजिक सञ्जालमा अल्मलिने गर्नाले तिनले बाबुआमाको गाली र कुटाइसमेत खाने गर्छन् । यसरी निषेधाज्ञाका समयमा घर–घरमा घरेलु हिंसाका घटनामा वृद्धि हुन जान्छन् । हिंसा भन्नाले रक्तपातपूर्ण घटना भन्ने धेरैको बुझाइ छ तर हिंसा रक्तपातपूर्ण मात्र हुँदैन । सामान्य कुटपिटमात्र नभएर गालीगलौज पनि हिंसा नै हो । यतिमात्र होइन, कसैको चित्त दुख्ने कसैको कुनै पनि व्यवहार हिंसा नै हो भनेर आधुनिक अपराधशास्त्रका विज्ञहरूले भनेका छन् । 

यस अर्थमा प्रत्येक घरमा सधैंभरि कुनै न कुनै प्रकारका हिंसाका घटना भई नै रहन्छन् । त्यसमा यस लकडाउनले अझै वृद्धि गराउने निश्चित छ । त्यसैले यसलाई एउटा अवसरका रूपमा लिएर आपूmलाई कुनै रचनात्मक कार्यमा लगाउन सकिन्छ । मासिसमा भएका विशेष ज्ञान, सीप र क्षमतालाई खार्ने, माझ्ने र त्यसबाट कुनै सिर्जना गर्ने मौका हो भन्ने ठानेर त्यसको सकेसम्म बढी उपयोग गर्नुपर्छ । साहित्यकारहरूले साहित्य सिर्जना गर्ने, कलाकारहरूले कलाको सीपमा निखारता ल्याउने, गीतकार, संगीतकारहरूले त्यसको रियाज गर्ने, अभिनय गर्नेहरूले अभिनय कलालाई माझ्ने जस्ता काम गर्न सक्छन् । गृहिणीहरूले परिवारका सदस्यहरूको सहयोगमा लामो समयदेखि थाति रहेका कामहरूलाई पूर्णता दिन सक्छन् । 

केटाकेटीहरूलाई बरालिन नदिई उनीहरूलाई पनि कक्षाको पढाइको तयारी गराउने र पढाइबाहेकका अन्य अतिरिक्त काममा संलग्न गराउन सकिन्छ ।  उनीहरूको रुचि र परिवारको आर्थिक क्षमताअनुसार तिनलाई साहित्य, संस्कृति, कला, पाककला, सजावट, सिलाइ, कटाइ, बुनाइजस्ता अतिरिक्त ज्ञानमा लगाउन सकिन्छ । साहित्यकारहरूका लागि त यो समय झन् उत्पादक र सिर्जनात्मक बन्न सक्छ । लामो समयदेखि गरौंला भन्दै पूरा गर्ने समय नपाएर थन्किएर रहेका साहित्यिक सिर्जनाहरूलाई पूरा गर्ने समय हो । हाल साहित्यमा सामाजिक सञ्जालमैत्री छोटा रचनाहरूको बाढी आएको भए तापनि सिंगा स्थूल कृतिहरू सिर्नना हुन नसकिरहेको अवस्थामा गत वर्षको लकडाउनका समयमा केही लेखकहरूका केही स्थूल कृतिहरू तयार भएका कारणले यसपटकको यो निषेधाज्ञा पनि यसैगरी फलदायी बन्न सक्छ भन्ने विश्वास गर्न सकिन्छ । 

त्यसैले सबैले घरभित्र निसास्सिएर बसेर घरेलु हिंसात्मक कार्य वृद्धिमात्र नगरी निषेधाज्ञाको यस समयलाई एउटा सुवर्ण मौका मानेर यस समयलाई रचनात्मक कार्यमा तल्लीन गराउने हो भने निश्चय नै यो अवधि स्मरणयोग्य र रचनात्मक बन्न जानेछ ।   


Views: 82

सम्बन्धित सामग्री:

समीक्षा बैठक र निष्कर्ष

: जेठ २, २०७८ (१२:०२ AM)

सरकार ! महँगी नियन्त्रण होस् !

: बैशाख ३१, २०७८ (८:२८ AM)

अबको विकल्प के सरकार ?

: बैशाख ३०, २०७८ (८:४३ AM)