16th May | 2021 | Sunday | 1:23:08 AM

राजनीतिक स्वार्थमा आपराधिक कार्य

  POSTED ON : बैशाख १७, २०७८ (८:२६ AM)

राजनीतिक स्वार्थमा आपराधिक कार्य

बहस त हुँदै आएका छन् भइरहेका छन् राजनीति समाजसेवा हो कि जागिर भनेर । मत मतान्तर छ यसमा । समय परिरवर्तनशील छ । पहिले राजनीति समाजसेवा थियो अहिले जागिर बन्न पुगेको छ । संसार प्रसिद्ध दार्शनिक काल्ल माक्र्सका अनुयायी हौं भनेर नेपालमा कम्युनिष्टको राजनीति गरिरहेका छन् । विचित्रको कुरा के छ भने माक्र्सको सिद्धान्त एकातिर, अर्कातिरको गैरसैद्धान्तिक बाटो समातेर उनीहरू अगाडि बढिरहेका छन् । माक्र्सको सिद्धान्त भनेको सर्वहारा वर्गको उत्थान थियो । माक्र्स सिद्धान्तको संवाहक हौं भन्नेहरू सर्वआहारावादी बनेर हिँडिरहेका छन् । यहाँ अचम्म कुरा के छ भने कम्युनिष्टहरूले पुँजीवादी भन्ने गरेको नेपाली कांग्रेसले नेपालमा उनीहरूभन्दा निकै लामो समय सत्तामा रहने मौका पायो ।
कांग्रेसले पनि भ्रष्टाचार गरेकै हो तर कांग्रेसभन्दा निकै छोटो समय सरकार सञ्चालमा रहेको कम्युनिष्टबाट नेपालमा कांग्रसकोभन्दा सयौं गुणा भ्रष्टाचारमा वृद्धि भएको छ । यसका दृष्टान्तहरू चौतर्फी छन् । प्रष्ट रूपमा कम्युनिष्ट सरकार बन्नासाथ जनताले तिर्दै आएको कारमा दुई हजार गुणासम्मको वृद्धि र जनप्रतिनिधिका लागि निर्धारण गरेको मासिक तलबभत्ताको विरणलाई हेरेमात्र पुग्छ । सर्वहाराका प्रतिनिधि हौं भन्नेहरूबाट यस प्रकारको कार्य हुनुहुँदैनथ्यो । कम्युनिष्ट पार्टीका नेताहरूको भोगीविलासी जीवनस्तर हेर्दा सैद्धान्तिक नारा केवल देखावटीमात्र हो भनिरहनु पर्दैन । गतवर्ष चीनको महामहिम राष्ट्रपति आएर धनको लोभ र सञ्चय गर्नेहरू कम्युनिष्ट हुन सक्दैनन् भनेका थिए तर नेपालका कम्युनिष्टलाई त्यसको अलिकति मात्र पनि प्रभाव परेन ।
धनको पछाडि एकोहोरो बनेर लागेका नेताहरूलाई जहाँका जुन नेताले जे भनून् त्यसको प्रभाव पर्दैन । जनताले जति दुःख र पीडा भोग्नु परोस् त्यसको प्रभाव पर्दैन । जस्तोसुकै महामारी आओस् त्यसको प्रभाव पर्दैन । प्रभाव पर्छ त केवल धनको सञ्चयको अवसरको । कम्युनिष्ट पार्टीका नेताहरूको हालको लडाइँ पनि धनकै हो । सिद्धान्तको हुँदैहोइन । यिनकै कारण हाल राजनीति जागिर बन्न पुगेको छ । अझै भन्ने नै हो भने त राजनीति व्यापार बन्न पुगेको छ । अलिकति लगानी गरेर धेरै प्रतिफल लिने सजिलो व्यापार भएको छ । भारतमा गान्धीले गरेको राजनीति वास्तविक राजनीति थियो । नेपालमा प्रजातन्त्रको पुनःस्थापनापछि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीले गरेको राजनीति समाजसेवी थियो । उहाँहरूको राजनीतिमा निष्ठा थियो, इमानदारीता र नैतिकता थियो, सिद्धान्तको गुण राजनीति थियो ।
हाल यस्ता कुराहरू एकातिर थन्किएका छन् । खेलको नियमलाई लत्याएर खेल खेलिरहेको अवस्था छ । कानुनका दफाहरूले टुलुटुलु चियाइरहेका छन्, तिलाई कुल्चिएर नेपालको राजनीति अगाडि बढिरहेका छ । सर्वसत्तावादतर्फ सरकार अगाडि बढिरहेको छ । एक पटक सत्तामा पुगेपछि आपूm जसरी पनि त्यहीँ टेकिरहने प्रवृत्ति नै सर्वसत्तावाद हो जो कम्युनिष्टहरूको मूल चरित्र बनेर देखापरिरहेको छ ।
नेपालको वर्तमान राजनीतिमा यसको प्रतिबिम्बन भइरहेको छ । २०७४ सालको आमनिर्वाचनमा एक भएर कम्युनिष्टहरूले भारी बहुमत ल्याए तर सदुपयोग हुन सकेन । उनीहरूबाट राजनीतिलाई नै अपराधीकरण गरियो । ज्यान मारेको अभियोगमा अदालतको फैसलाबाट जन्मकैद भोगिरहेकाहरूलाई असल चालचलन भएको कैदी भन्ने परिभाषामा समेटी राष्ट्रिय पर्वको सन्दर्भ पारेर जेलमुक्त गरिएको छ । उनीहरू आज समाजमा सम्मानका साथ हिँडिरहेका छन् । अब यस्तै परिदृश्य दोहोरिन लागेको छ । आफ्नालाई गलहत्याएर पराइलाई भित्र्याउन वर्तमान सरकार लागिरहेको छ । सरकारबाट ओर्लिनुपर्ने चिन्ताबाट सत्ता जोगाउन जसपालाई सत्ता थेग्ने टोको हाल्न खोज्दैछ । विभिन्न अभियोगमा थुनामा रहेका उक्त पार्टीका नेता कार्यकर्तालाई कैदमुक्त गर्दै छ अर्थात् राजनीतिलाई अपराधीकरण र अपराधलाई राजनीतीकरण गर्दैछ ।
हुन त यस्ता कार्य चुनावकै समयदेखि भएका हुन्, तिनमा हालका दिनमा बढोत्तरीमात्र हो । जसपाका १५ वटा मुद्दा फिर्ता हुने भनिएको छ र ती मुद्दासँग जोडिएका १ सय २० जनाले मुद्दाको बन्धनबाट मुक्ति पाउने भएका छन् । एक पटक सरकारलाई समर्थन गरिदिएर आफ्ना पार्टीका सबै आरोपी फुत्काउने राम्रो मौका जसपाले पाएको छ तथापि जसपामा मतैक्य छैन । सबैभन्दा डरलाग्दो कुरा त के छ भने हत्याको आरोपमा जेलजीवन भोगिरहेको जसपाका रेसम चौधरी पनि यही राजनीतिक लहरमा फुत्किन सक्छन् । यी सबैको कारण राजनीति जागिर र व्यापार बन्नु हो । निष्ठाको राजनीति हुने हो भने यस्ता विकृति आफैं हटेर जान्छन् । कामना गरौं निष्ठा र सिद्धान्तको राजनीतिले स्थान पाओस् ।


Views: 71

सम्बन्धित सामग्री:

समीक्षा बैठक र निष्कर्ष

: जेठ २, २०७८ (१२:०२ AM)

सरकार ! महँगी नियन्त्रण होस् !

: बैशाख ३१, २०७८ (८:२८ AM)

अबको विकल्प के सरकार ?

: बैशाख ३०, २०७८ (८:४३ AM)