15th June | 2021 | Tuesday | 8:19:55 AM

नेपाली कांग्रेसको जिम्मेवारी

  POSTED ON : बैशाख २७, २०७८ (८:३६ AM)

नेपाली कांग्रेसको जिम्मेवारी

यति बेला नेपाली कांग्रेसका दुईवटा जिम्मेवारी प्रष्ट रूपमा देखिएका छन् । एकातिर राजनीतिकको गहन जिम्मेवारीमा कांग्रेस रहेको छ भने अर्कातिर हालको महामारीको नियन्त्रणमा उसले जिम्मेवारी निर्वाह गर्नुपर्ने देखिएको छ । कोरोनाले देश भयाक्रान्त छ यो सबैलाई थाहा भएकै विषय हो र यसैका बारेमा भन्दा र सुन्दा एक प्रकारको दिक्दारी पैदा हुन पुगेको छ । यसतर्फ सबैको ध्यान हुनुपर्ने हो तर मूल चुरो कुरालाई छोडेर राजनीतिक पार्टीहरूको ध्यान अन्यत्रैतर्फ मोडिएको छ । सरकार बनाउने र गिराउने खेलमा वर्तमानमा राजनीतिक पार्टीहरूको ध्यान केन्द्रित भएको छ जुन अस्वाभविक भए पनि कार्यक्रम पूर्वनिर्धारित नै हो । त्यसैले सरकारले विश्वासको मत लिने र अरू एकातिर भएर सरकारलाई असफल पार्नेतर्फ नै सबैको ध्यान गएको छ । 

यसका लागि नेपाली कांग्रेस र माओवादी केन्द्र एकातिर छन् । उनीहरू एक भएको देखिन्छ । जनता समाजवादी पार्टीमा यसका लागि केही दिनअघिसम्म मतैक्यता थिएन तर सबै मतमतान्तरलाई थाती राखेर अहिलेको अवस्थामा सरकारको विपक्षमा मत दिने भएका छन् । सत्तारुढ दलभित्रैको चरम मनमुटावका कारण उक्त पार्टीका सबैले सरकारलाई सहयोग गर्लान् भन्ने छैन । माधव नेपाल गुट सरकारलाई विश्वासको मत दिने पक्षमा छैन तर फ्लोर क्रस गरेको अभियोगमा ती सांसदहरूलाई अनुशासनको कारबाही हुने कारणले बरु त्यसभन्दा पहिले नै सांसदबाट राजीनामा गरी नेकपा एमालेलाई अल्प मतमा पार्न एमालेका माधव नेपाल पक्षका सांसदहरूबीच सहमति भएको छ । यसले गर्दा सरकारले विश्वासको मत लिन सक्ने अवस्था छैन । 

उता नेपाली कांग्रेसले पनि यसका लागि पहल गरेको छ । पहिले सरकार हटाउने र बनाउने खेलमा नलाग्ने भन्दै आएको थियो । आफ्नो पार्टीले नै सरकारको नेतृत्व गर्न पाउने भएपछि अब सरकारको नेतृत्व लिने गरी अविश्वासको मतका पक्षमा दृढ रहन पुगेको छ । गत निर्वाचनबाट नेपाली कांग्रेस प्रमुख प्रतिपक्षमा पुगेको हुनाला बाँकी छोटो समयका लागि नेपाली कांग्रेसले सरकारमा जाने चाहना नगर्नुपर्ने थियो । तर, देशमा राजनीतिक संकटको अवस्था आएका कारण नेपाली कांग्रेस राजनीति निरपेक्ष बस्नसक्ने अवस्था नदेखेरै राजनीतिको बागडोर समाल्ने मनस्थितिमा पुगेको देखिन्छ । यसबाट नेपाली कांग्रेसलाई लाभ र हानी के होला त्यसको लेखाजोखा पछि गर्ने हो हालका लागि राजनीतिक संकटको समाधान खोज्ने र सबैलाई मिलाउन प्रयास गर्ने दायित्व उसका काँधमा आउन लागेको छ । अरूबाट नभएपछि जिम्मेवारीबाट भाग्न पनि मिल्ने कुरा भएन । 

कांग्रेसको दोस्रो जिम्मेवारी भनेको वर्तमान संवेदनशील घडीमा कोरोना महामारीको नियन्त्रणको प्रयास अति नै आवश्यकताको विषय हो । यसबाट धेरैको ज्यान गइसकेको छ र त्यसको हजारौं गुना बढी संक्रमित भइरहेको छन् । हाल संक्रमण फैलिइरहेको छ समाधान पछि खोजौंला भनेर हुँदैन । नियन्त्रणको प्रयास गर्न ढिलो भइसकेको छ । यसका लागि सरकार असफल भइसकेको छ भन्दा फरक पर्दैन, सरकराले नागरिकको सुरक्षा गर्न नसकेर हात उठाइसकेको छ । सरकार असफल हुनुको कारण भ्रष्टाचार र कमिसनखोरी हो । नेपाली कांग्रेसले यस्तो बेलामा सरकारमा गए पनि बाहिरै रहे पनि टुलुटुलु हेरेर बस्न मिल्दैन । इतिहासका ठूला–ठूला जिम्मेवारी पूरा गरेको पार्टी भएका कारण पनि नेपाली कांग्रेसले संकटका बेला यस्तो जिम्मेवारी लिनै पर्छ भाग्नु हुँदैन । 

यसका लागि नेपाली कांग्रेसले सर्वदलीय प्रयास गर्नुपर्छ, आपूmसँग भएका सबै संयन्त्रहरूको प्रयोग गर्नुपर्छ । अक्सिजन, भेन्टिलेटर र अस्पतालका बेडहरू नपाइरहेको बेला तिनको व्यवस्था मिलाउने प्रयास गर्नुपर्छ । निजी अस्पतालहरूलाई सहयोग गर्ने र तीबाट सेवा लिने प्रयास गर्नु उपयुक्त कदम बन्न सक्छ । नागरिकहरूमा सक्रियता र सकारात्मक सोचको विकास गरीतिनीहरूबाटै पनि सहयोग लिन सकिन्छ । नेपाली कांग्रेसले आफ्ना भ्रातृ संगठन, शुभेच्छुक संगठन, अन्तर्राष्ट्रिय सम्पर्क समितिहरूलगायत संघसंगठनलाई सक्रिय बनाएर परिचालन गर्ने हो भने नेपाली कांग्रेस यसका लागि धेरै हदसम्म सफल बन्न सक्छ । सधैं जनताकै लागि लड्ँदै आएको पार्टी भएका नाताले नेपाली कांग्रेस वर्तमान संकटको घडीमा पछि हट्नु हुँदैन । त्यसैले नेपाली कांग्रेसले हालको विषम अवस्थामा पनि जिम्मेवारीका साथ भूमिका निर्वाह गरोस् । यसबाट आध्यात्मिक र राजनीतिक दुवै लाभ उसले लिन सक्नेछ, फेरि एक पटक इतिहास रच्न पाउनेछ ।


Views: 124