15th June | 2021 | Tuesday | 9:15:45 AM

अस्थिरताको अर्को चरण

  POSTED ON : बैशाख २८, २०७८ (८:४४ AM)

अस्थिरताको अर्को चरण

तीन वर्षयता निष्कण्टक सञ्चालन गरेको नेपाल कम्युनिष्ट पार्टीको एकलौटी सरकारको पतन भएको छ । ००७ सालपछि निरंकुश सरकारका प्रधानमन्त्री हुन् कि निर्वाचित कसैले पनि चार वर्ष पूरा गरेको इतिहास छैन । ०४८ पछिका दिनमा त सरकार विघटन र पतनको यो क्रम यति तीव्र भयो कि संविधानसभाले बनाएको संविधानपछि प्रचण्ड बहुमतकासाथ गठित सरकारसमेत यसका सामु निरस्त हुनपुग्यो । अत्यन्त लोकप्रिय मत पाएर सरकारमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको अत्यन्त अलोकप्रिय कर्मले सत्ता विस्थापनलाई विगतकै निरन्तरतामा परिणत गरेको हो भन्ने स्पष्ट छ । गत पुस पाँच गते प्रतिनिधिसभाको विघटनको सिफारिश आफैंमा अलोकतान्त्रिक र असंवैधानिक अभ्यासको उत्कर्ष थियो । त्यसलाई अदालतले सच्याएको भए पनि न्यूनतम नैतिक मूल्यसमेत नदेखाउने सरकार प्रमुखले विश्वासको मत माग्नु आफैंमा दुराशयपूर्ण थियो । आफैंले विघटन गरेको प्रतिनिधिसभाले विश्वास गरोस् भनेर बैठक बोलाउनुको कुनै राजनीतिक मूल्य थिएन । 

प्रतिनिधिसभाको बैठकले उहाँको त्यही मूल्यहीन प्रस्तावलाई अस्वीकृत गरिदिएको छ जुन अत्यन्त स्वाभाविक हो । तर प्रतिनिधिसभाको गणितीय आधारमा हेर्ने हो भने ओली नेतृत्वको पार्टी अहिले पनि सबैभन्दा ठूलो रहेको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले एकढिक्का रहेको वा रहन सकेको भए विश्वासको मत पारित हुने संभावना रहेछ । ओलीका विपक्षमा रहेका माधव नेपाल, झलनाथ खनाल समूहको सत्ताइस संख्यासमेत मतदानमा सहभागी भएको भए सायद जसपाको आधा पक्षले समर्थन गर्ने विश्वास ओलीमा रहेको देखिन्छ । तर नेपाल खनाल पक्षले मतदान बहिष्कार गरेपछि ओलीको विश्वासको मत पाउने विश्वास समाप्त हुनपुग्यो । नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको आधा शक्ति प्रस्तावको विपक्षमा मतदान गर्नपुग्यो र ओलीको सरकार पतन भयो । प्रमुख प्रतिपक्षको त सत्ता ढाल्ने प्रयास हुनु उचित रणनीति नै हुन्छ । हिजोसम्म सत्तासाझेदार माओवादी केन्द्रलाई समेत साथ राख्न नसक्नु र आफ्नै साथीहरूलाई अपमानित गर्नुले ओली नेतृत्वलाई विस्थापनको बाटो सजिलो हुनपुग्यो ।

०५१ असारमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्नै सहकर्मीसँग सहमति गर्न नखोज्दा जसरी ३६ जनाले मतदानका समय अनुपस्थित भएर सरकारको अवशान भएको थियो, त्यही इतिहास नेकपा एमालेमा पनि दोहोरिएको छ । अठ्ठाइसे र त्रीयानब्बे भन्ने विभाजन एमालेमा हुनाले यो पार्टी अब औपचारिक विभाजनको चरणमा प्रवेश गरेको छ । एमालेका शीर्ष माधव नेपाल र झलनाथ खनालको शक्तिको समेत परिचय भएको छ । उहाँहरूसँग रहेको युवापुस्ताको क्षमताको समेत केही जानकारी र संकेत मिलेको छ । आफ्नै पार्टीका नेताहरूसँग समन्वय गर्ननसक्ने नेतृत्वले देशको रषा, लोकतान्त्रिक प्रणालीको सुरक्षा र देशको भौतिक आर्थिक विकास गर्नसक्छ भन्ने विश्वास गर्न सकिँदैन । यस अर्थमा एमालेका प्रधानमन्त्री ओली र नेपाल–खनालसमेत असफल सिद्ध हुनुभएको छ । नेपालमा राजनीतिक स्थायित्व, सुदृढ र समर्थ सरकारका नाममा ०७४ मा नेपाल कम्युनिष्ट पार्टीलाई मत दिने जनताले अब के भन्ने हुन् त्यो अर्को निर्वाचनमा थाहा हुनेछ । तर अहिले सरकारको पतन ओलीको मात्र नभएर नेकपा एमालेको सिंगो पंक्ति र माओवादी केन्द्रसमेतको असफलताको परिणाम हो । लोकतान्त्रिक प्रणालीको उपयोग गर्दै तथाकथित जनवाद वा गैरलोकतान्त्रिक समाजवादमा फड्को मार्ने सोच र रणनीतको समेत अवशान हुनपुगेको छ । एकातिर विश्वास र अर्कोतिर कामको परिणाम हो प्रचण्ड बहुमतको सरकारको असमयमा नै अवशान । कमसेकम नेपाली जनताले अब अरू दिनमा कम्युनिष्ट सपनाको माखे सांगलोमा झुण्डिएर निरन्तर अस्थिरताको महाजालो बनाउन सहयोग गर्ने छैनन् भनेर आशा गर्न सकिन्छ । तर, कमसेकम अब माओवादी केन्द्र वा एमालेसमेतले कम्युनिष्ट नाम र अन्तर्राष्ट्रिय झण्डा परिवर्तन गरी राजनीतिक प्रणालीका रूपमा आजको परिवर्तनलाई स्वीकार नगरेसम्म अस्थिरता र अराजकता यथावत् रहनसक्छ र जनता भ्रमित हुन छाड्ने छैनन् ।

विश्वासको मत गुमाउनुभएका ओलीको अर्को व्यवस्था नभएसम्म कार्यवाहक प्रधानमन्त्रीबाहेक कुनै हैसियत रहने छैन । तर अरू दलहरूले वर्तमान संसदमा न्यूनतम बहुमत करिब १३६ सांसद संख्याको नाम र हस्ताक्षरसहित प्रधानमन्त्रीको दाबी नगरेसम्म राजनीतिको अर्को पाटो प्रकट हुने छैन र अन्यौल झन् बढेर जानेछ ।


Views: 127