15th June | 2021 | Tuesday | 9:25:50 AM

राजनीतिक असन्तुष्टिको पराकाष्ठा र अबका चुनौती

  POSTED ON : बैशाख २९, २०७८ (८:३७ AM)

राजनीतिक असन्तुष्टिको पराकाष्ठा र अबका चुनौती

नेपालको संसदीय इतिहासमा अस्ति सोमबार एक ऐतिहासिक दिनका रूपमा अंकित हुनपुग्यो । अझै नेपाल गणतान्त्रिक लोकतन्त्रात्मक राष्ट्र भएपछि पहिलोपटक प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिन नसकेको अवस्था हो यो । यसलाई प्रधानमन्त्रीकै हठको परिणति हो भन्न सकिने आधार छन् । चुनावमा माओवादीसँग भएको एमालेको गठबन्धनबाट नेकपा नामको पार्टीले भारी बहुमत त हासिल गरेकै हो तर दुईवटा पार्टीको एकीकरण भएपछि त्यस पार्टीमा पहिलेको दुवै पार्टीका अध्यक्षहरू रहनु स्वाभाविक थियो । तर, पूर्वएमालेको अध्यक्षले नै एकीकृत पार्टीलाई एकलौटी चलाउन खोज्नु र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दुवै आफैं बन्नुबाट नै उक्तपार्टीमा असन्तुष्टि पैदा भइसकेको थियो । उक्त असन्तुष्टि खुलेरै बाहिर आएपछि मात्र केपी ओलीले असन्तुष्टि साम्य पार्न प्रचण्डलाई अध्यक्ष बनाउनु भएको थियो भन्ने प्रकारान्तरले दिँदै आएको थियो । आलोपालो प्रधानमन्त्री तथा पार्टी अध्यक्ष बन्ने सम्झौता प्रधानमन्त्री ओलीबाट पालना नभएपछि पूर्वमाओवादीमात्र होइन पूर्वएमालेका प्रभावशाली नेतासमेत ओलीविरोधी खेमामा लागेबाट पुष्टि हुन्छ ।

भाँचिन्छ मुढो तर नुहुँदैन भनेजस्तो व्यवहार अन्तिमसम्म प्रधानमन्त्री ओलीबाट भइरहनाले अन्तिममा उहाँले आफ्नै चाहनाले संसदबाट विश्वासको मत लिन गर्नु भएको प्रयासमा उहाँ सफल हुन सक्नुभएन । तर, एउटा अचम्मलाग्दो कुरा चाहिँ के छ भने आफैंले गरेके प्रतिनिधिसभा विघटनको सिफारिशलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेर आफ्नो पराजय हुँदा उहाँले नैतिकताका आधारमा राजीनामा गर्नुभएन । धेरैले उहाँले राजीनामा गर्नु होला भन्ने अन्दाज गरेका थिए । यसैगरी सोमबारको संसदबाट विश्वासको मत लिन नसकेको घटनापछि यी पंक्ति तयार पर्दासम्म उहाँले नैतिकताको आधारमा राजीनामा गर्नुभएको छैन । उहाँ प्रधानमन्त्रीको हैसियतले काम गरिरहनु भएको छ । अब उहाँले कुनै उपद्रब मच्चाउनु होला कि भन्ने धेरैलाई डर छ । त्यसलाई सोही दिनको संसदमा बोल्ने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोझो शब्दमा भन्नु भएको थियो । 

अब फेरि अल्पमतको प्रधानमन्त्रीको हैसियतले उहाँले पुनः प्रतिनिधिसभा भंग गर्नुहोला कि भन्ने आशंका सबैतिर व्याप्त छ र यस आशंकालाई अन्यथा मान्न सकिँदैन । नत्र उहाँले एकाएक विश्वासको मत लिने निर्णय किन गर्नु भएको हो । यसका लागि कतैबाट दबाब सिर्जना भएको थिएन । फेरि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली केही न केही यस्ता राजनीतिक कार्य नगरी बस्नसक्ने मानिस होइन । सांसदहरूबाट उठाइएका प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तै आशयको उत्तर दिनुभएबाट प्रचण्डको यस्तो आशंकामा पुठ मिलेको छ । ओलीले मप्रति त्यस्तो आशंका र भय छ भने मलाई विश्वासको मत दिएर यही सरकारलाई अब बाँकी समयसम्म निरन्तरता दिनुस् न त भन्नुभएको थियो । उहाँले प्रष्ट शब्दमा नत्र त आपूmले पाएको संवैधानिक अधिकार प्रयोग गर्न बाध्य हुने बताउनुभएको थियो । 

यसरी नेपाली राजनीतिको आकाश छ्यांग नखुलिसकेको अवस्थामै नेपाल कांग्रेसले नेतृत्व लिएर माओवादीसमेतको सहयोगमा सरकार बनाउने प्रयास गरेको छ । यसमा बहुमतको सरकार बनाएर देखाउन प्रधानमन्त्री केपी ओलीले चुनौती दिनुभएको छ । नेपाली कांग्रेस र माओवादीका विद्यामान सांसदबाट मात्र बहुमत पुग्दैन । जसपाका सबै सांसद थपिँदासमेत यस्तो सम्भावना छैन । त्यसमा जसपाको मतैक्यता होला जस्तो देखिएको छैन । यही कुरातर्फको संकेत र त्यसैमा उभिएर उहाँले दिनु भएको चुनौती हो यो । एमालेका फ्लोरक्रस गर्ने सांसदहरूको कानुनी र संसदीय अवस्था भोलि के हुने त्यसमा सरकारको बहुमत सिद्ध हुने वा नहुने कुरा भर पर्ने हो । यदि उहाँहरूको मतसमेत थप्ने हो भने सरकारले बहुमत सिद्ध गर्न नसक्ने भन्ने होइन । 

उहाँहरू अनुशासनको कारबाहीमा परेको अवस्थामा र अर्को पार्टीको सरकारलाई विश्वासको मत दिन गएर नेकपा एमालेमै बसिरहन सक्ने सम्भावना नरहला । यही लोखाजोखा नगरी ओलीले यस्तो चुनौती दिनुभएको होइन होला । यस्तो राजनीतिक संक्रमणको अवस्थामा सरकारको नेतृत्वमा गएको नेपाली कांग्रेस चुनोती चुनौतीको पहाडले घेरिन पुग्छ । आपूmले केही रचनात्मक काम गर्न नसकेको भए पनि सरकारलाई काम गर्ने अवसर दिएर आफ्नो लोकप्रियता बढाउँदै लगेको र सरकार अलोकप्रिय बनेको कारणले आगामी निर्वाचनका नेपाली कांग्रेसको बहुमत पुग्नसक्ने सम्भावना बढ्दै गएको अवस्थामा सरकारमा गएकै कारणले नेपाली कांग्रेस फेरि अलोकप्रिय बन्न पुगी जनमत गुमाउने हो कि भन्ने भय चौतर्फी रूपमा सिर्जना हुन पुगेको छ । त्यसैले नेपाली कांग्रेसले सरकारमा जानेनिर्णण गरी नै सकेको भए पनि अबको डेड वर्षसम्म सचेततापूर्वक काम गर्नुपर्ने अवस्था छ । 


Views: 87