21st June | 2021 | Monday | 11:49:53 AM

अबको विकल्प के सरकार ?

  POSTED ON : बैशाख ३०, २०७८ (८:४३ AM)

अबको विकल्प के सरकार ?

राजनीतिको विकल्प केही न केही आउला वर्तमान सन्दर्भमा जनतालाई त्यतातिर त्यति चासो छैन र आजको यी पंक्तिको सन्दर्भ पनि राजनीति होइन । राजनीतिको सन्दर्भले सबैलाई दिक्क लागि सकेको छ । यहाँ स्वच्छ र सङ्लो राजनीति हुने पनि होइन भन्ने सबैलाई लागेको छ । यथार्थ त्यस्तै छ । त्यसैको जोड–घटाउमा लागेकाहरूलाई मात्र त्यसको चासो छ । जनता त आफ्नो ज्यान कसरी बचाउने भन्नेमै चिन्तित छन् । हुन पनि हालको जस्तो महामारी वर्तमानमा बाँचेको सम्भवतः सबैका लागि सबैभन्दा भयावह रूपमा देखापरेको हुनसक्छ । संसारमा बेलाबेलामा अनेकथरी महामारी देखापरेका हुन् । कोरोनाभन्दा खतरनाक खालका महामारीले विश्वको विद्यामान जनसंख्याको ७५ प्रतिशत सम्मको क्षति भएको इतिहासले बताएको छ । 

अनेक खालका फ्लुहरू, प्लेग, बिफर, हैजा, मलेरियाहरूको प्रकोपले बेलाबेलामा विश्व आक्रान्त भएको थियो । डार्बिनले भनेझैँ मानिस बाँच्न संघर्ष गर्छ । यस्तो संघर्ष आन्तरिक रूपमा आफैंभित्र र बाहृय रूपमा अरूसँग गर्नुपर्ने हुन्छ । यही क्रममा बाँचेका थोरै मानिसमध्येका हौं हामी र हामीले अहिले विश्वमा देखेका सात अर्ब मानिस । समयको प्रवाह सँगसँगै अहिले कोरोना बलवान बनेको छ र यो बैंसालु बनेर हुर्किने क्रममा छ । कोरोनाको पहिलो लहरले कुनै देशलाई बढी क्षति गरायो भने अहिले देखिएको दोस्रो लहरले अरू नै देशलाई बेस्सरी प्रहार गरिरहेको छ । पहिलो प्रहारमा परेकाहरू केही सहज अवस्थामा छन् । अहिले हाम्रो छिमेकी देश भारत सबैभन्दा बढी प्रभावित भइरहेको छ । त्यहाँको दैनिक संक्रमित र मृत्युदर हेर्ने हो भने कहालीलाग्दो अवस्था छ । 

भौगोलिक रूपमा जोडिएको हुनाले नेपाल–भारत सँगसँगै कोरोनाको कहरमा प्रतिस्पर्धी बनिरहेको छ । नेपालमा संक्रमित संख्या प्रतिदिन दश हजारनजिक पुगिसकेको छ भने अघिल्लो रेकर्ड तोड्दै प्रतिदिन २२५ जनाले एकैदिन मृत्यु वरण गरेका छन् । सानो र थोरै जनसंख्या भएको मुलुक भएकाले यो संख्या थोरैजस्तो देखिए पनि अनुपातमा विश्वकै उच्च हो भनिएको छ । नेपाललाई विश्वकै उच्च र खतराको क्षेत्र (रेड जोन) भनेर विश्व स्वास्थ्य संगठनले दिएको चेतावनीलाई हामीले बेवास्ता गर्नाले आज यस्तो अवस्थाको सिर्जना हुनपुगेको छ । समाचारहरूमा हेर्दा विभिन्न पार्टीका उच्चस्तरका नेताहरूसमेत संक्रमित भइरहेका र तीमध्ये केहीको मृत्युसमेत भइसकेको छ । कहरको यो सुरुवातमात्र हो भन्ने कारणले जनतामा उच्चस्तरको त्रास फैलिएको छ । 

कोरोनाले अहिलेसम्म घेरै क्षति गरिसकेको छ । बढ्दो आवृत्तिलाई रोक्न सरकारले के गर्दैछ भन्ने जनताले देख्न पाएका छैनन् । सरकारका स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले स्वास्थ्य संकटकाल लगाउनुपर्ने स्थिति आउनसक्छ भन्नु भएको छ यसको अर्थ जनताले बुझेका छैनन् । वास्तवमा त्यस्तो स्थिति आइसकेको जस्तो देखिन्छ । स्वास्थ्य संकटकाल लगाएपछि सरकारको सबै कार्ययोजना रोकेर ध्यान स्वास्थ्य क्षेत्रमा मात्र केन्द्रित गर्नुपर्ने अवस्था हो भने त्यो अवस्था आइसकेको होइन र ? भारतले आफ्ना जनतालाई रासन आदिको व्यवस्था गरिदिएको छ । नेपालले त हालसम्म त्यस्तो केही गरेको छैन । अस्पतालहरूले अक्सिजन छैन भनेर नयाँ बिरामीहरू नलिने र भर्ना गरिएका बिरामीलाई डिस्चार्ज गर्न थालेका छन् । 

सरकारले जतिसक्दो चाँडो अक्सिजनको व्यवस्था नगर्ने हो भने स्थिति भयावह हुने चेतावनी दिइएको छ तर सरकाले यथोचित व्यवस्था गर्न सकिरहेको छैन । सर्वोच्च अदालतले समेत सकारलाई अक्सिजन र अस्पतालको सहज व्यवस्थापन गर्न निर्देशन दिएको छ । कालो बजारी गर्नेहरूले आफ्नो मृत्युको घण्टी सुनेका हुँदैनन्, तिनीहरूले कालोबजारी गर्ने राम्रो मौका यस्तै बेलालाई ठानेका हुन्छन् । सरकार यिनको मतियार नबनोस् यस्तालाई कारबाही गर्न तयार बनोस् । सरकाले अक्सिजन उत्पादक उद्योगहरूमा विद्युत् आपूर्ति बन्द नगर्न विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । यो सराहनीय कार्य हो तर यतिलेमात्र सरकारको सम्पूर्ण जिम्मेवारी पूरा हुँदैन । 

चीनले दिएको केही थान अक्सिजन सिलिन्डर र भेन्टिलेटरले सबै समस्या समाधान हुने भन्ने होइन । अरू व्यवस्था हुनुपर्छ । थपिएको दुई हप्ताको निषेधाज्ञा वास्तविक निषेधाज्ञा बन्न सकोस् । सरकारी अस्पताललाई कोरोना अस्पताल बनाउने निर्णयसँगै निजी अस्पताललाई प्रभावकारी उपचार सेवामा सक्रिय गराइयोस् । जनतालाई जतिसक्दो छिटो खोप लगाउने व्यवस्था मिलाइयोस् । जनताले सरकारको आलोचनामात्र होइन सरकारको अनेक प्रकारले गुणगान र प्रशंसा गर्ने अवस्था सरकारले सिर्जना गरोस् । कोरोना सबैको साझा समस्या हो मिलेरै समाधान खोज्नु पर्दछ ।


Views: 250