21st June | 2021 | Monday | 1:46:42 PM

सरकार ! महँगी नियन्त्रण होस् !

  POSTED ON : बैशाख ३१, २०७८ (८:२८ AM)

सरकार ! महँगी नियन्त्रण होस् !

वर्तमान सरिस्थितिका बारेमा दोहो¥याइ रहनुपर्ने होइन सबैलाई थाहा छ तर, थाहा भएर बुझपचाउनु परेको छ । यसको कारण हो पेट । भोकले मर्ने कि रोगले जनताले अब रोज्नुपर्ने भएको छ । रोगले मर्ने छनोट हो भने आयु केहीदिन लम्बिन सक्छ र भोकले मर्ने हो भने आयु छोटो हुनसक्छ । देखिरहेकै छ यत्रतत्र सर्वत्र मृत्यु छाएको छ । यस्तो मृत्युको छाँयामा बाँचेकाहरूको होस् हराउन थालेको छ । यसका कारण छन् । पहिलो कारण अकर्मन्य सरकार नै हो । सरकारले जनताका बारेमा केही सोच्दै सोचेको छैन । राजनीति र जनसेवा रूपी गाडी फरकफरक बाटामा हिँड्दा रहेछन् । हालको सरकारको व्यवहारबाट यही कुरा देखिन पुगेको छ । 

जनताका समस्या जस्तासुकै हुन् राजनीतिको गाडी त्यतापट्टि नहेरी सुरुसुरु आफ्नै बाटोमा हिँडिरहेको छ र जनताका चाहनाले त्यतातिर फर्केर आशाको दृष्टि दिइरहेको छ । अस्पताल, अक्सिजन र भेन्टिलेटरको कुरामात्र होइन बजारमा उपभोग्य वस्तुको उपलब्धता र त्यसको अनियन्त्रित मूल्यको कुराले कोरोनाको सन्त्रासमा परेका जनतालाई आक्रान्त पारेको छ । बजारमा तेल, चिनी, चामल, दाल, मैदा आदिको मूल्य हिजोभन्दा आज बढिरहेको छ । ती चिजहरू सहज रूपमा पाउँनै छोडेको छ, पाइहाले व्यपारीले जति भन्छन् उपभोक्ताले त्यति नै तिर्नुपर्ने बाध्यता छ । हिजो त यसको मूल्य यति थियो नि आज किन यति भयो भनेर त्यही पसलमा सोध्न सकिने अवस्था छैन । 

सोध्यो भने व्यपारीले बजारमा सामान नै छैन तपाईं मूल्यमा बार्गेटिनङ गर्ने ? जहाँ सस्तो पाउनुहुन्छ त्यही जानोस् भन्ने जवाफ दिनछ । कसैले मूल्य सोध्दैनन् जति भन्यो त्यतिमा लान्छन् । सामान पाउनु नै भाग्य हो भन्ने ठान्छन् भन्छ व्यपारी । यस्तो परिस्थिति सिर्जना हुनुका दुईवटा कारण छन् । पहिलो कारण उपभोक्ताले केही असजिलो अवस्था सिर्जना हुनासाथ यसैलाई कारण देखाएर आवश्यकताभन्दा बढी सञ्चित गर्नु । दोस्रो सकारबाट कुनै नियमन नगर्नु । पञ्चायतका अन्त्यतिर बरु यस्ता केही क्राइसिसहरू आइपर्दा कुपन दिने गरिन्थ्यो । प्रतिव्यक्ति प्रतिपरिवार यो–यो सामान महिनामा वा हप्तामा यतिको परिणाममा लिन पाइने भनेर तोकिन्थ्यो । हाल प्रजातन्त्रमा त सरकार पनि प्रजातन्त्रको चरम उपयोग गरेर सुतिरहेको जस्तो महसुस जनताले गरिरहेका छन् । 

सरकार छ तर समाचारमा छ, राजनीतिको माखेसाङ्लाभित्र जेलिएर बसेको छ । सत्ताको सुख सयलमा बसेको छ र लोककथाको जस्तो ‘जसले गर्छ खेलोफड्को उसले खान्छ दहीचिउरा’ को शैलीमा छ । शताब्दी पहिलेको कुरा नगरौं ती हामीले देखेभोगेका कुरा होइनन्, इतिहासमा पढेकोसम्म हो । आजका दिनमा बाँचिरहेको यस पुस्ताले भोगेको सबैभन्दा विषम परिस्थिति भनेको आजैको समस्या हो । हामी हाम्रै समस्याबाट उम्किने प्रयासमा लाग्नुपर्ने हो र सक्नेले यसका लागि बढी प्रयास गर्नुपर्ने हो । सक्ने भनेको अरू होइन सरकार हो । सरकार जनताको अभिभावक हो, देशको समेत अभिभावक हो । त्यसैले निःसहाय जनताको अन्तिम अवलम्बन त सरकार नै हो । 

आपतमा ‘गरिब परबर, दुहाई सरकार’ भनेर जनताले सरकारकै सामु हात पसार्नुपर्ने हुन्छ । सरकारले हारगुहार मागिरहेका जनतातिर फर्किने कि नफर्किने ? बरु पञ्चायती कालमा हाइस्कुलका पाठ्यपुस्तकहरूमा ‘भोक, रोग र शोकले पीडित जनताप्रति मेरो जिम्मेवारी छ’ भनेर राजाको महावाणि त छापिएको हुन्थ्यो । यो लोकतान्त्रिक भनिएको सरकारले न बजार अनुगमन र नियमत गरेको छ न आपूर्ति व्यवस्थालाई सहज बनाएको छ न त जनताले खान पाएका छन् वा छैनन् भनेर हेरेको नै छ । गाउँगाउँमा पुगेको सिंहदरबार आपत्मा टुलुटुलु हेरेर बसिरहेको छ । 

यसको सन्देश हुलमुलमा ज्यान जोगाऊ भन्ने हो । अहिले अप्ठ्यारो अवस्था छ, सक्ने बाँच र नसक्ने मर भन्ने नै हो । मर्नेहरू कि रोगले मर्ने हो कि भोकले मर्ने हो जसरी भए पनि जनताका लागि असहज परिस्थिति खडा भएको छ । त्यसले कसैलाई उम्किन देलाजस्तो छैन । सरकार नसुत्, ब्युँझी, जनताकका लागि केही गर । मृत्युको छाँया यत्रतत्र छाएको छ तर जनता अकाल मर्न चाहँदैनन् बचाउने कि नबचाउने तेरै हातमा छ ।

Views: 182