प्रहसन होइन जनस्वास्थ्यमा ध्यान केन्द्रित गरौं

  POSTED ON : जेठ ३, २०७८ (८:३७ AM)

प्रहसन होइन जनस्वास्थ्यमा ध्यान केन्द्रित गरौं

नेपाली राजनीतिमा अनेकौं प्रहसनहरू पहिलेदेखि नै हुँदै आएका हुन् । पञ्चायत कालका केही मन्त्रीहरूका वास्तविक र ती सँग जोडिँदै र थपिँदै आएक काल्पनिक किस्साहरू अझै समय समयमा नेपाली राजनीतिसँग जोडिएर आउने गरेका छन् । तिनका साक्ष्य पुराना पुस्ताहरू सकिँदै गएका छन् तर तिनले नयाँ पुस्तालाई तिनका बारेमा बताएर गएका छन् । प्रजातन्त्रको आगमनसँगैका केही मन्त्रीहरू यस खालका किस्साका पात्र बन्न पुगेका थिए । त्यो अस्वाभाविक थिएन किनकि ती पढेलेखेका थिएनन् तर हालको राजनीतिक पुस्ता त्यस्तो छैन । कसैकसैको औपचारिक योग्यताको न्यूनताको चर्चा बेलाबेलामा हुने गरेको छ तर जे भए पनि यिनीहरू त्यसबेलाको जस्तो अपठित छैनन् ।

कम्युनिष्ट पार्टीमा योग्यता नहुनेहरूलाई र पढ्न नसकेर वा क्याम्पसबाट रेस्टिकेटमा परेर छोडेपछि राजनीतिमा लागेकाका लागि एउटा सजिलो छ । उनीहरू सजिलै बुर्जुवा शिक्षा बहिष्कार गरेको हुँ भन्छन् । त्यो स्पष्टीकरण सजिलो छ, यथार्थ जे जस्तो भए पनि । विष्णु पौडेल, रघुजी पन्त, केपी ओलीहरूकै बारेमा यस्ता प्रश्न गर्ने गरिन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीकै औपचारिक रूपमा त्यत्रो धेरै उच्च शैक्षिक योग्यता छैन । उहाँमा विदेशीहरूसामु सम्बोधन गर्नु पर्दा अंग्रेजी भाषामा बोल्नसक्ने सामथ्र्य नहुनु नै यसको प्रमाण हो भन्न सकिन्छ । यिनै कुराहरूको प्रतिबिम्ब हो प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा देखिएको प्रहसन । 

सो समारोहमा त्यसपहिले जसरी गल्ती गर्ने जति काम प्रधानमन्त्रीबाट हुने र त्यसको समर्थन गर्न राष्ट्रपति पुगेजसरी नै शपथ ग्रहण समारोहमा पनि अर्घेल्याइँ प्रधानमन्त्रीबाटै भएको छ । ईश्वरका नाममा सत्यनिष्ठाका साथ उहाँले शपथ लिन चाहनु भएको छैन र त्यसमा हाँसी दिने काम मात्र राष्ट्रपतिबाट भएको छ । प्रतिनिधिसभा विघटन र अध्यादेशहरूमा उहाँहरू दुईजनाको जे–जस्तो भूमिका रहेको थियो यसमा त्यस्तै भूमिका रहृयो । अथवा जालझेल र षड्यन्त्रका काम जति प्रधानमन्त्रीले गर्ने र त्यसमा समर्थन र पारित गर्ने दस्तखत राष्ट्रपतिले गर्ने । शपथ ग्रहण समारोहको राष्ट्रपतिको ‘हेँ हेँ’ प्रधानमन्त्रीको ‘यो पर्दैन’ को सदरको दस्तखतमात्र हो । यस्तो गरिमामय समारोहमा जे देखियो त्यो सबैभन्दा ठूलो राष्ट्रिय समारोहमाथिको अपमान र उपेक्षित प्रहसन हो । 

यो ठूलो आलोच्य विषय हो तर समयको प्रतिकूलताले धेरै आलोचित हुनु परेन, कोरोनाको भयानक वितण्डा मच्चिएको बेला छ अहिले । त्यसैले मरिएला कि बाँचिएलाको अवस्थामा नागरिकहरू घरभित्र बसेका छन् । त्यसैले प्रधानमन्त्रीले के बोले, राष्ट्रपति कसरी हाँसिन् र मन्त्रीहरूले के भने भन्नेतिर जनताले त्यति ध्यान दिएका छैनन् । उनीहरूमध्ये कोही आफन्तको मृत्युको पीडामा छन्, कोही आफन्तलाई कसरी बँचाउने भन्ने ध्याउन्नमा छन् । अस्पतालमा बेड पाइएको छैन, अक्सिजन पाइएको छैन । गम्भीर बिरामीका लागि भेन्टिलेटर पाइएको छैन । जनता ती कुराहरू कसरी पाउने भन्नेमा छन् । बिरामीलाई कसरी बँचाउने भन्नेतिर ध्यान दिइरहेका छन्, आपूm कसरी जोगिने र बालबच्चा कसरी जोगाउने भन्नेतिर लागेका छन् । परिवारका लागि चारो कसरी जुटाउने भन्ने सवाल अर्कातिर अझै टड्कालो बनेर उभिएको छ । 

उनीहरू राजनीतिको खिचातानी र षड्यन्त्रको माखेसाङ्लोमा अल्झिन चाहँदैनन् । यसका लागि फुर्सद पनि पाएका छैनन् । यसरी राजनीतिका विभिन्न पक्ष र विषयमा उभिएर टीकाटिप्पणी गर्न पनि फुर्सद चाहिँदो रहेछ । जो राजनीतिलाई पेशा र व्यवसाय बनाएरै हिँडेका हुन्छन् तिनका लागि राजनीति बाह्रमासे धन्धा र अरूका लागि मौसमी विलासमात्र रहेछ । त्यसैले राजनीतिका वर्तमान सन्दर्भहरू जनताका नजरबाट अहिले टाढा नेपथ्यमा मात्र रहेका छन् । प्रधानमन्त्रीको हालैको शपथ ग्रहण समारोह यस कोरोना कालमा यस्तै एउटा सन्दर्भमात्र बन्नपुगेको छ । अहिले बेला त्यो होइन । यति ठूलो महामारीका सामु राजनीति त बाँचे भोलि गरौंला नि ∕ तर, पानी परेपछिमात्र छाता सम्झने हाम्रो परम्परा दोहोरिएको छ । कोरोनाबाट क्षति हुन थालपछि चीनबाट भ्याक्सिन ल्याउने काम भएको छ भने अमेरिकारबाट स्वास्थ्य सामग्री ल्याउने तयारी भएको छ । अक्सिजन आयात र उत्पादन बढाइएको छ । अस्पतालमा बेडहरू थपिएका छन् । यसमा सबैको सक्रियता देखिएको छ । ठीक छ यसमा सबैजना लाग्नुपर्छ र कोरोना महामारी नियन्त्रण नहुन्जेल राजनीतिको सुसेधन्धा छोडेर सबै यसैमा लागौं यो सबैको हितकर काम हो । 


Top