सत्ताको चास्नीमा फुटको राजनीति

  POSTED ON : जेठ २०, २०७८ (८:२९ AM)

सत्ताको चास्नीमा फुटको राजनीति

पार्टी फुट पार्टीको मात्र समस्या होइन यो राष्ट्रका लागि समेत घातक हुनजान्छ । सरकार बनाउने पार्टीहरूले नै हो र सरकारले देश चलाउने हो । देश विकासका सम्पूर्ण योजना तर्जुमा, विकास निर्माण, विकासका लागि बजेट विनियोजन, जनतालाई आवश्यक पर्ने राहत उपचार प्रणाली जस्ता तमाम कुरा सरकारले गर्नुपर्ने हो । सबैलाई थाहा छ हाल देश संकटपूर्ण अवस्थामा छ । कोरोनाले सबै आक्रान्त छन् । सरकारले केही गरिरहेको छैन भन्ने होइन केही गरिरहेको छ तर त्यो पर्याप्त छैन । यसो हुनुको कारण सरकरको सम्पूर्ण ध्यान यसमा नजानु हो । किनकि सरकार सत्ता टिकाउने खेलमै लागिरहेको छ । उसको पहिलो प्रथमिकता यसैमा छ । 

यसका लागि अनेकौं खेलहरू भइरहेका छन् । खेलमा कसकसले भाग लिएका छन् भन्ने कुरा फरक हो । विदेशी शक्तिहरू यसमा सामेल होलान् तर स्वदेशी शक्तिहरू कुनै विदेशी शक्तिको प्रलोभनबाट आकर्षित नहुने हो भने तिनको मात्र केही जोड चल्ने थिएन । ‘फुटाऊ र शासन गर’ भन्ने त राजनीतिशास्त्रको सिद्धान्त नै हो । त्यस्ता शक्तिबाट आपूm जोगिएर राष्ट्रिय हितमा लाग्न सक्नु बुद्धिमानी हो । तर, हाम्रो देशका राजनीतिक पार्टी र राजनीतिज्ञहरूले यसतर्फ कहिल्यै ध्यान दिने गरेका छैनन् । नेपालका कुनै पनि पार्टी एकपटक नफुटीकन चोखो अवस्थामा रहेका छैनन् । अहिले फुटको संघारामा केही पार्टीहरू छन् । यसरी फुट र जुट अनि फेरि फुट गर्दागर्दै कतिपय पार्टीहरू विलिन भइसकेका छन् । २०४६ सालको प्रजातन्त्रपछि राजनीतिक क्षेत्रमा देखापरेका कतिपय पार्टीहरू हाल नेपालको राजनीतिक आकाशबाट अस्ताइसकेका छन् । यसका कारण फुटको राजनीति नै हो । विदेशी शक्तिहरूका कारणलेमात्र होइन स्वदेशी पार्टीका नेताहरूकै कारणले पार्टी फुट्ने गरेका छन् । कसैले फुटाउँदैमा फुट्ने जुटाइदिँदैमा जुट्ने नहोला तर पार्टी फुटाउन केही तत्व लागिरहेका हुन्छन् । अहिले अरूभन्दा जनता समाजवादी पार्टी फुटको संघारमा छ । यसको कारण सत्ताकै चास्नी हो । यस पार्टीका नेताहरूमध्ये महन्त ठाकुर र राजेन्द्र महतोहरू सरकारका गएर हालको सरकारलाई समर्थन गरी सत्ताको तर मार्नुपर्छ भन्ने पक्षमा रहनुभएको छ । 

उहाँहरूको निकै पहिलेदेखिको अडानले गर्दा राष्ट्रिय राजनीति प्रभावित बन्दै आएको छ । उहाँहरूको समर्थन शेरबहादुर देउवा तथा प्रचण्ड–माधव नेपालतर्फ रहेको थियो भने अहिले यो सरकार नै नरहेको अवस्था हुन्थ्यो । त्यसैले माथि पार्टीको फुटले राष्ट्रिय राजनीति प्रभावित बन्नपुग्छ भनिएको हो । जसपाको अन्तरपार्टी मतभेदका कारण सरकारमा नजाने पक्षमा रहेका उपेन्द्र यादव र बाबुराम भट्टराईहरूले महन्त ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई कारबाही गरी पार्टीबाट निष्काशनको घोषणा गर्नुभएको थियो भने उहाँहरूले यसलगत्तै यादव र भट्टराईलाई कारबाही गरेको घोषण गर्नुभएको छ । यस प्रकारको दोहोरीबाट यो पार्टी फुटेको देखिएको छ । प्रायः सबै पार्टीको इतिहास र अवस्था यस्तै छ । 

वर्तमान अवस्थालाई मात्र हेर्ने हो भने नेकपा फुटेर माओवादी केन्द्र र एमाले बनेको केही महिना बितिसकेको छ भने माओवादीका रामबहादुर थापा, लेखनाथ भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाहहरू पार्टी छोडेर एमालेतर्फ लाग्नुभएको छ । यसैगरी एमालेका झलनाथ खनाल, माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, रामकुमारी झाँक्री, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराईहरू विद्रोहमा हुनुहुन्छ । वामदेव गौतम पनि एमालेको मूल धारमा रहनु भएको छैन । उहाँहरूको पार्टी एकताका लागि अन्तिम प्रयास जारी छ, कुरा नमिले उहाँहरूले अर्को पार्टी दर्ता गर्ने तयारी गर्नुभएको छ भनिएको छ । सरकार सत्ता टिकाउन जे जस्तो कृत्य गर्नसमेत तयार रहेको पाइएको छ । अरू पार्टी फुटाउन, सांसदहरूको दलबदल गराउन, अपराधीसँग साँठगाँठ गर्न तयार रहेको देखिन्छ । हत्या आरोमा जेलजीवन भोगिरहेकालाई छोड्नसमेत सरकार तयार छ । यही क्रममा जसपा फुटाएर त्यसको एउटा पक्षलाई आपूmतिर ल्याउन सफल भएको हो । एउटा सानो पार्टीलाई दशवटा मन्त्री पद दिएर र हत्या आरोपमा जेलमा रहेकालाई रिहाइका लागि पहल गर्नेगरी सम्झौता भएको छ । यसबाट आफ्नो पार्टी फुटाएर भए पनि सत्ताको चास्नी चाख्नेहरू नेपालका पार्टीहरूमा सक्रिय रहेको पुष्टि हन्छ । यस्तै कारणले राष्ट्रिय राजनीति र राष्ट्रको उत्थान अवरुद्ध भएको उहाँहरूले थाहा पाइरहनु भएको छैन जस्तो देखिन्छ ।


Top