यस अभिव्यक्तिको आशय के ?

हिमालय टाइम्स   POSTED ON : जेठ २४, २०७८ (६:३८ AM)

प्रधानमन्त्री केपी शर्मा ओलीबाट मन्त्रीमण्डल विस्तार गर्ने काम हालै सम्पन्न भएको छ । यो मन्त्रीमण्डल विस्तार गर्ने काम अचम्म लाग्ने गरी भएको छ । ठूलो दल एमालेले थोरै संख्या लिएर सानो दल जसपालाई दश सिट दिएको छ । उपप्रधानमन्त्री पाएका राजेन्द्र महतोले पद बहाली गर्नासाथ दिएको अभिव्यक्तिले विवाद सिर्जना भएको छ । उहाँका लागि पहिलो गाँसमै ढुंगो लागेको जस्तो भएको होला भनेर अन्दाज गर्न सकिन्छ । उहाँलाई उपप्रधानमनन्त्री बनाउने प्रधानमन्त्री र उहाँको पार्टीलाई हीनताबोध भइरहेको छ वा छैन कुनै अभिव्यक्ति कतैबाट आएको छैन । उहाँका समर्थकहरू यसबारेमा केही बोलेका छैनन् । 

प्रधानमन्त्रीले साइबर सेना भनेर तोक्नुभएका सामाजिक सञ्जालमा व्यापक रूपमा लेख्नकै लागि खटिएका कार्यकर्ताले समेत राजेन्द्र महतोले भनेको नेपाललाई ‘बहुल राज्य राष्ट्र बनाउने’ कुरा सही हो भन्न सकिरहेका छैनन् । एमाले संस्थापन पक्ष र त्यसका समर्थकहरू मौन छन् । उहाँहरूले यसबारे आधिकारिक धारणा बनाइनसक्नु भएकाले केही नबोलेका हुन सक्छन् तर एक÷दुईजनाले नेपालको वर्तमान संविधानले नै नेपाल बहुभाषी, बहुजाति, बहु धार्मिक, बहुसांस्कृतिक देश हुनेछ भनेर तोकेको छ र प्रदीपकुमार राई (व्याकुल माइला)ले रचना गरेको नेपालको राष्ट्रगानमा यही भाव झल्केको छ भन्ने तर्क दिएका छन् । 

नेपाल यस राष्ट्रको उत्पत्ति भएदेखि गोपाल, महिशपाल, किरात, लिच्छवि, मल्ल र शाहहरूले शासन गर्नेको र हालको गणतान्त्रिक पद्धतिमा समेत कहिल्यै कसैको अधीनमा छैन । नेपाल सधैं स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्र हो । हाल सानो, कमजोर र गरिब राष्ट्र जस्तो देखिएको भए तापनि इतिहासमा यसको व्यापक फैलावटको प्रसंग आउँछ । टिष्टादेखि काँगडासम्म र दक्षिणमा गंगा नदीसम्म नेपाल फैलिएको थियो । भोट वा तिब्बत र अंग्रेजसँग बहादुरीका साथ युद्ध गरेको यसको इतिहास छ । बहादुर शाह, भक्ति थापा, बलभद्र कुँवर, अमरसिंह थापा, भीमसेन थापाहरूले सुरक्षा गरेको देश हो नेपाल । यसमाथि गिद्धे नजर लागाउनेहरू त इतिहासमा धेरै थिए तर राष्ट्रवादी सोच भएका हाम्रा पूर्वजहरूका कारण नेपालले कहिल्यै कसैको पराधीनता स्वीकार्नु परेन । 

नेपाल मेची–महाकाली र हिमालदेखि दक्षिणमा भारतसँगको कृत्रिम सिमाना दशगजाबीचमा अवस्थित छ । यसबीचमा बसोबास गरिरहेका सबै मानिस नेपाली हुन् । कुनै जात, जाति, धर्म, वर्ण, लिंग भनेर हाम्रा संविधान कानुनहरूमा भेदभाव गरिएको छैन । यस अर्थमा मधेसमा बस्नेहरू नेपाली हुन् तिनले पहाडमा बस्नेभन्दा कुनै कुराको अधिकारमा कमी महसुस गर्नुपर्ने अवस्था छैन । यति हुँदाहुँदै मधेसमा बस्नेहरूले आपूmमाथि भेदभाव भएको भन्ने आवाज उठाउने गरेका छन् । त्यहाँका नेताहरूले नै तिनलाई त्यस प्रकारको भ्रममा पार्ने गरेकाले यस्तो प्रभाव पर्ने गरेको हो । मधेसबाट प्रतिनिधित्व गर्ने नेताहरूले मधेसी जनताबीच आपूmले केही गरेको देखाउन बेलाबेलामा यस्ता अभिव्यक्ति दिनेगरेका छन् । 

हाल उपप्रधानमन्त्री हुनासाथ राजेन्द्र महतोले नेपाललाई बहुल राज्य राष्ट्र बनाउने अभियानमा आपूm लागेको बताएकाले तरंग पैदा गरेको छ । के हो बहुल राज्य राष्ट्र ? संविधानले उसको कल्पना गरेको छ ? होइन भने उपप्रधनमन्त्री जस्तो गरिमामय पदमा रहेर यस्तो बोल्न मिल्छ ? एमालेका धेरैजसो नेता कार्यकर्ताहरूले यसको विरोधमा वक्तव्य निकालिसकेका छन् । विभिन्न वर्गीय संगठनले विरोध गरिरहेका छन् । विपक्षी दलहरू उहाँको यस्तो अभिव्यक्तिको विरोधमा छन् तर प्रधानमन्त्री केपी ओली तथा उहाँका समर्थकहरू यसबारेमा एक शब्द बोलेका छैनन् ।

यसको आसय के उनीहरू राजेन्द्र महतोको अभिव्यक्ति, सही हो भन्ने पक्षमा हुन् ? प्रधानमन्त्रीले महतोको अभिव्यक्तिको समर्थन गर्नुभएको हो ? कि उहाँले नै महतोलाई यस्तो अभिव्यक्ति दिन लगाउनु भएको हो ? होइन भने प्रधानमन्त्री किन उहाँलाई स्पष्टीकरण लिनुहुन्न ? राष्ट्र र राष्ट्रियताका विषयमा यति संवेदनशील विषयको अभिव्यक्ति कसैले दिँदा प्रधानमन्त्री मौनं सम्मति लक्षणम्को शैलीमा बस्न मिल्छ ? सत्ताको आयुसँग जुनसुकै कुरा साट्न मिल्ने हो र ? होइन भने प्रधानमन्त्रीबाट नवनियुक्त उपप्रधानमन्त्री महतोलाई हटाउने, कुनै प्रकारको कारबाही, स्पष्टीकरणसम्म केही न केही गर्नु पर्दैन ? नत्र आगामी दिनमा यसैलाई नजिर मानेर जसले जे भने पनि जे गरे पनि त भयो नि ∕ प्रधानमन्त्रीज्यू । 


Top