21st June | 2021 | Monday | 1:20:52 PM

राउटे युवतीमाथिको पासविक कृत्य निन्दनीय

हिमालय टाइम्स   POSTED ON : जेठ २६, २०७८ (६:५६ AM)

राउटे युवतीमाथिको पासविक कृत्य निन्दनीय

हालै पश्चिम नेपालमा राउटे जातिका चेलीहरूमाथि केही कुत्सित मनोभावना राख्ने व्यक्तिहरूबाट अमानवीय किसिमले यौन दूराचार भएको छ । नेपालमा राउटे अल्पसंख्यक सीमान्तकृत जाति मानिन्छ । आदिवासी जनजाति वर्गमा सूचीकृत यो जाति अझैसम्म ज्यादै पछाडि परेको जंगली जातिकै रूपमा रहेको छ । नेपाल सरकारले अझैसम्म यिनलाई उचित संरक्षण र बसोबास गराउँन सकेको छैन । गणतन्त्र आएपछि जातीय पहिचानका साथ नेपाल जनजाति प्रतिष्ठान र जनजाति आयोगहरू बनेका छन् । यी निकायरूबाट सूचीकृत गरिएका नेपालका आदिवासी जनजातिहरू ५९ वटा रहेकोमा फ्री, छ्योरोटन जस्ता केही लोप भइसकेका जातिहरू समावेश गरिएको र आफूहरू छुटेको भनेर केही जातिहरूले आफ्नो संलग्नता चाहिरहेका छन् । अत्यन्त सीमान्तीकृत कुसुण्डा, हायु, वनकरिया, राजी, किसानलगायत जातिहरू आदिवासी जनजातिमा सूचीकृत छन् । 

आफ्नै भाषा, संस्कृति, रीति र धर्म भएका जातिलाई जनजाति र आदिकालदेखि नेपालमै बसोबास गर्दै आएका जातिलाई आदिवासी मानिएको छ । नेपालको आदिवासी जनजातिमा सूचीकृत राउटे अति विपन्न र सीमान्तकृत जातिमा परेको छ । सुदूरपश्चिमको चुरे तथा महाभारत पर्वत इलाकाका वनजंगल क्षेत्रमा ठाउँ सरीसरी बसोबास गर्ने राउटेहरू आफूलाई जंगलको राजा र भगवान रामका छोरो लवकुशका सन्तान मान्छन् । नेपाल सरकारले यो जातिको दक्षिण अफ्रिकाको तीन फिटमात्र उचाइका पिग्मी जातिलाई जसरी नै संरक्षण गरी राख्नसके यिनीहरू पनि नेपालको पर्यटकीय दृष्टिले आकर्षणमा रहन सक्छन् । 

रुपैयाँ पैसाको व्यवहार नगर्नु, हिँडेको बाटो पछाडि फर्केर नहेर्नु, मूलको पानीमात्र खानु, बगेको पानी नखानु, अरू सबैले खाने गरेको जनावरको मासु नखानु र कसैले नखाने लंगुरको मासु खानु, बिरामी हुँदा घरेलु जडिबुटी र झारफुकमात्र गर्नु आधुनिक औषधोपचार नगर्नु राउटेको परम्परा हो । हाल अरू जातले जसरी नै तिनले पनि विस्तारै आफ्ना परम्परा त्याग्दै गएका छन् । विशेषगरी माओवादी सशस्त्र विद्रोहपछिको शान्ति प्रक्रियापछि राउटेहरू परिवर्तन हुँदै आएका छन् । केही राउटे युवाहरूलाई नेपाल प्रहरीमा भर्ना गरिएको छ । नेपाल सरकारले यिनलाई मासिक भत्ताको व्यवस्था गरेको छ । आजकाल यिनीहरू अरूले जसरी नै चाडपर्व मनाउन थालेका छन् र रुपैयाँ पैसाको प्रयोग गर्नेगरेका छन् । 

काठका भाँडावर्तनमात्र प्रयोग गर्ने यो जाति हाल सबै प्रकारका भाँडावर्तन प्रयोग गर्छ र काठका भाँडामा अन्न साटेर जीविका गर्दै आएका राउटेहरू हाल वस्तुविनिमयमात्रै नगरी नगद कारोबार गर्छन् । मानिस मरेपछि आपूm बसोबास गरिरहेको ठाउँबाट बसाइँ सर्ने घुमन्ते जाति राउटेका लागि सरकारले २०६८ सालमै स्थायी बसोबासको व्यवस्था गर्न चाहेको हो । निवासका लागि केही घर बनिसकेका र केही बन्ने क्रममा रहेकामा काठ काट्न सामुदायिक वनविरुद्ध अख्तियारमा मुद्दा परेपछि उनीहरूको घरआवास कार्यक्रम अलपत्र प¥यो भनिएको छ । त्यसैले हालसम्म उनीहरू घुमन्ते भएरै जीवन धानिरहेका छन् । वास्तवमा राष्ट्रका सम्पूर्ण जातजातिलगायत सबै कुरा त्यस राष्ट्रका सम्पत्ति हुन्, तिनको जगेर्ना गर्नु राष्ट्रको दायित्व हो । दक्षिण अफ्रिकाले पिग्मी जातिको फोटो खिच्नसमेत दिँदैन, तिनको अध्ययन गर्न चाहनेहरूबाट राजस्व उठाउँछ । 

नेपालले आफ्ना सीमान्तकृत यस्ता जातजातिहरूको न त त्यसरी संरक्षण गर्न सकेको छ न तिनका माध्यमबाट आयआर्जन गर्न सकिने खालका कुनै योजना अघि सार्नै सकेको छ । केही नेपाली विद्यार्थीहरूले तिनको भाषा र संस्कृतिको अध्ययन गरी शोध गरेका छन् र थोरै संख्यामा विदेशीहरूले थेसिस लेखेका छन् । यसबाहेक अन्य कुनै काम हुन सकेको छैन । यतातिर गहिरो दृष्टि पु¥याई राउटेहरूको उचित संरक्षण र तिनका माध्यमबाट नेपालको पर्यटन प्रवद्र्धन गर्नेतर्फ सरकारको ध्यान जानु जरुरी देखिन्छ । तिनको सुरक्षामा उचित प्रबन्ध हुनुपर्छ । अल्पसंख्यक जाति राउटे वनजंगलमा बसोबास गर्ने भएका कारण निश्चय उनीहरू सुरक्षित छैनन् । गाउँबस्तीमा ठूलो समूहमा बस्नेहरूलाई जस्तो सहज उनीहरूका लागि अवश्यै छैन । राउटेहरूका समूहका छोरीचेलीहरूको सुरक्षा पनि चिन्ताको विषय बनेको छ । 

हालै सुर्खेतको गुर्माकोट नगरपालिका–९ स्थित बोटेचौरमा रहेको शुभकामना होटलमा मदिरा खुवाई दुईवटी राउटे युवतीहरूमाथि यौन हिंसा भएको थियो । यस अभियोगमा चमानसिंह घर्ती, भूपेन्द्र बुढा र मतियार होटल सञ्चालक मिलन पुन पक्राउ परिसकेका छन् । उनीहरूमाथिको अमानवीय व्यवहार निन्दनीय छ । उनीहरूलाई सरकारले हदैसम्मको सजाय दिनुपर्दछ । ती व्यक्ति कुनै पार्टीका कार्यकर्ता होलान् । त्यस बाहनामा उन्मुक्ति दिने कार्य हुनुहुँदैन । अल्पसंख्यक जातिको संरक्षण सबैको दायित्व हो । उनीहरूले आफ्नो सुरक्षा माग गर्दै प्रहरी गुहानुपर्ने अवस्था आइपरेको छ । त्यो असामान्य अवस्था नै हो । राष्ट्रले उनीहरूको उचित सुरक्षा व्यवस्था गरी जातीय पहिचानका लागि यथासम्भव प्रयास गरोस् । 


Views: 88