21st June | 2021 | Monday | 12:24:06 PM

मोडालिटी परिवर्तन किन ?

हिमालय टाइम्स   POSTED ON : जेठ २७, २०७८ (७:१९ AM)

मोडालिटी परिवर्तन किन ?

हाल देश लकडाउनमा छ । गतवर्ष यसबेला देश कडा लकडाउनमा थियो । चैत ११ गतेदेखि सुरु भएको लकडाउन असार लागेपछि विस्तारै खुकुलो पारिएको थियो । त्यसको कारण कर उठाउन भनिएको थियो जुन वास्तविक रहेछ । कोरोनाको कहर कम भएर वा समाप्त प्रायः भएर लकडाउनमा खुकुलो गरिएको होइन रहेछ भन्ने कुरा पछिका परिणामबाट थाहा भयो । कोरोनाको कहामारी समाप्त नहुँदै सरकराले अघोषित रूपमा लकडाउन हटायो । असोज कात्तिकदेखि मानिसले आफ्ना सबैजसो दैनिकीलाई निरन्तरता दिए । २०७७ सालको चैतभरि कोरोनाको त्रास हटेको थिएन र मानिसका मुख मास्कले छोपिएकै थिए । वैशाख लागेपछि निकै पहिलेदेखि गर्न नपाएका विवाह व्रतबन्धलगायत पारम्पारिक कार्यहरूमा मानिसको जमघट बढेर गयो । 

ठीक यहीबेला हाम्रो छिमेकी देश भारत कोरोनाको दोस्रो भेरियन्टले नराम्ररी प्रभावित भइरहेको थियो । नेपाल सरकारले यतातिर चासो दिएन । सरकारको ध्यान अन्य कुरातर्फ लाग्नै सकेन किनकि सरकार सत्ताको बचाउमा रक्षात्मक अवस्थामा थियो । सरकराले वैशाख १६ गतेदेखि लकडाउन ग¥यो तर अन्य उपचारात्मक उपायहरूको अवलम्बनमा ढिलासुस्ती ग¥यो । विदेशबाट उपचारका सामग्री ल्याउन विभिन्न व्यापारिक कम्पनीसँगको कमिसनमा कुरा नमिल्दा यसरी ढिलो भएको हो भनियो । जब सरकारले केही सामग्री ल्यायो त्यसबेलासम्म ढिलो भइसकेको थियो । अक्सिजन, भेन्टिलेटर र अस्पतालहरूमा बेड नपाएर धेरै मानिसले त्यसबेलासम्ममा मृत्युवरण गरिसकेका थिए । हाल अवस्था केही सामान्य भएको जस्तो देखिएको छ तर पूर्णरूपमा सहज भइसकेको छैन । 

मानिसहरू संक्रमित भइरहेकै छन् । तीमध्ये केहीको मृत्युको समाचार आइरहेकै छन् । संक्रमित र मृत्युदर कम भएकोलाई आधार मानेर कोरोना महामारीको भय छैन भन्ने ठान्नु गलत हुन्छ । हालसम्ममा आठ हजार जनाभन्दा बढीले ज्यान गुमाएका छन् । यो संख्यालाई कम मान्नु भुल हुनेछ । संक्रमितहरू सबै निको भएका छैनन् । एक लाखका छेउछाउको संख्यामा सक्रिय संक्रमित मानिस उपचाररत छन् । केही मानिसहरूले खोपको सेवा पाए भने केहीले पाइरहेका छन् तर सबैका लागि खोप सहज गराइएको छैन । खोपमासमेत नातावाद कृपावाद देखिएको छ । पहुँच हुनेहरूले दुईपटक खोप लगाइसकेका छन् भने पहुँच नहुनेहरूले पहिलो डोजसमेत लगाउन पाएका छैनन् । 

विदेशी मुलुकबाट धेरैमात्रामा खोप आएको भए तापनि यहाँ अभाव सिर्जना गरेर अस्पतालहरूलाई बेच्ने र अस्पतालहरूले नागरिकसँग पैसा लिएर खोप लगाउने प्रपञ्च बन्दै गएको चर्चाले ठाउँ ओगटेको छ । खोप लाउन पाएकाहरूका लागि सरकारले कुनै केन्द्र तोकेर त्यहाँ मानिसको भीड गराइरहेको हुँदा त्यहाँबाट कोरोना फैलिने सम्भावना देखिएको छ । सरकार किन नागरिकहरूलाई सजिलो हुनेगरी टोलटोलमा खोपकेन्द्र राखेर थोरै जमघटबीच खोपसेवा दिन सक्दैन ? अझै भन्ने नै हो भने सरकारले यस्तो बेलामा जनताका घरघरमा गएर खोप दिने हो भने कोही छुट्दैनन् र भीड जम्मा हुँदैन । होला, खोपमा कडाइ गर्दा तिनका आफ्ना मानिसले खोप पाउलान् र ती सुरक्षित भएको आत्मरतिमा रहलान् । 

मृत्यु भयो भने खोप नपाएका समान्य जनता मर्ने हुन् भन्ने तिनले ठानेको हुनसक्छ तर जनता संक्रमित भए ती पनि कसरी सुरक्षित रहलान् र ? अनि कोही संक्रमित हुने र कोही सुरक्षित रहने गर्दा के राष्ट्रबाट कोरोना संक्रमण दूर भएको मानिएला त ? त्यसैले जसरी अन्य राहतमा जस्तो भेदभाव कोरोनाविरुद्धको भ्याक्सिनमा नगरियोस् । 

असार १ गतेबाट लकडाउन खुकुलो गर्ने अथवा लुजडाउन गर्ने भनिएको छ । यो लुजडाउन केका लागि ? कोरोना महामारी कम भएकै कारणले हो वा सरकारको आवश्यकताका कारणले ? कोरोना कहर कम भएका कारणाले भन्ने हो भने माथि भनिएझैँ यो कम भएको मात्र हो यसको त्रासदी कम भएको छैन । सरकराको आवश्यकताले हो भने त्यो फरक कुरा हो । कर उठाउन लकडाउन खुकुलो गरिएको हो भने त्यो फेरि अर्को घातक कदम हुनजान्छ । पोहोरको नियति फेरि अहिले पनि दोहोरिन जान्छ । खुकुलो वातावरणबाट कोरोनाको सुस्ताउँदै गएको बिरुवाले पुनः मौलाउने मौका पाउँछ । 

त्यसपछिको कोरोना अझै भयानक रूप लिएर आउनेछ । किनभने पोहोरको पहिलो भ्यारियन्टभन्दा हालको दोस्रो भेरियन्टको खतरनाक रूप अहिले देखिएकै छ भने अब तेस्रो भेरियन्ट आयो भने त्यसको उग्र रूपले कति खतरा निम्त्याउला त्यसको पूर्वानुमानमात्रले हाम्रो आङ सिरिङ्ग बनाउँछ । त्यसैले सरकारका आधिकाररिक निकाय वा व्यक्तिहरू काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा गृहप्रवक्ताले भने जसरी यस लकडाउनलाई लुजडाउन गर्ने बेला भइसकेको छैन कि ? अहिल्यै सोचौं पछि पछुताउने काम नगरौं । 


Views: 70