मनसुनको सक्रियता र सचेतता

हिमालय टाइम्स   POSTED ON : असार ३, २०७८ (७:१९ AM)

मनसुनको सक्रियता र सचेतता

अब असार लागि सकेको छ । यो वर्खायाम नै हो । यो समयमा मनसुनको सक्रियता हुन्छ नै । कहिले अलिक ढिलो र कहिले अलिक छिटोबाटै मनसुनको सक्रियता हुनेगरेको छ । यस वर्ष सधैंको भन्दा अलिक छिटो नै मनसुनले सक्रियता देखाएको छ । मौसमविद्हरूले यस वर्ष अरू वर्षहरूको तुलनामा बढी नै पानी पर्ने कुरा बताएको छ । वर्खायाममा पानी त पर्नै पर्छ पानीविना खेतीपातीको काम हुन सक्दैन । असार वा वर्खायाम खेतीपातीकै याम हो । धान रोपाइँका लागि पानीको पर्याप्तता हुनैपर्छ । कोदोलगायत अन्य खेतीपातीमा पनि पानी त पर्नै पर्छ कुनैका लागि धेरै र कुनैका लागि थोरैमात्र हो । तर मौसमको फेरबदललगायत विविध कारणले वर्षाको उतारचढाव हुने गरेको पाइन्छ । 

कहिले अतिवृष्टि हुने गरेको छ भने कहिले अनावृष्टिको मार हामीले भोग्नुपरेको छ । आजकाल खण्डवृष्टिका कारण कतै पानीको कमी भएर खेती हुन पाइरहेको हुँदैन भने कतै बढी वर्षा भएर भलबाढीले जनजीवनको नकारान्मक प्रभाव पारिरहेको हुन्छ । प्रकृतिको यस्तो दुष्परिणाम हामीले भोग्नु परिरहेको छ भने र हाम्रा गलत क्रियाकलापले समस्या सिर्जना भइरहेका हुन्छन् । यो वर्षको बर्खायामको सुरुवात भरखरमात्र हुँदैछ तर सुरुमै बाढी पहिरोका समाचार आइहाले । पर्वत, नवलपरासी, सोलुखुम्बुलगायतका विभिन्न ठाउँमा आएको बाढी पहिरोका खबरले अरू ठाउँका मानिसमा दुःखद् संवेदनाको भाव पैदा हुन नपाउँदै सिन्धुपाल्चोकको मेलम्चीमा अन्यत्रभन्दा भन् दुःखद् स्थिति हुन पुगेको छ । 

एउटा विडम्बनै मान्नुपर्छ २०७२ सालको भूकम्पपछि लगातार जस्तै सिन्धुपाल्चोकका मानिसहरू प्राकृतिक प्रकोपबाट अन्तका भन्दा बढी प्रभावित बन्दै आएका छन् । भूकम्पमा पनि त्यहाँ धेरै मासिनको मृत्यु भएको थियो भने त्यसयता बाढीपहिरोमा परेर धेरैको ज्यान गइसकेको छ । यस वर्ष बर्र्खाको सुरुवातमै सिन्धुपाल्चोकबाटै दुःखद् खबरको सुरुवात भएको छ र त्यहाँको मेलम्चीमा आएको बाढीबाट सातजनाको मृत्यु भएको र अझै केही हराइरहेका भनिएको छ । यस्ता दुःखद् घटना कतिपय अवस्थामा हाम्रै कारणले सिर्जना हुने गरेका छन् । खोलाहरू अतिक्रमण गरेर वा खोलासँगै जोडेर घर बनाएर बस्ने कमजोरीका कारण बर्खामा खोलाको शिरमा पानी परेर बाढी आउनासाथ खोलाले वारिपारिका बगरका बस्तीहरू बगाउने गर्छ जसले गर्दा मानिसको ज्यान र गाईवस्तु तथा अन्य धनमालको क्षति हुने गरेको छ । 

पहिरो जानुको कारण कतिपय अवस्थामा मानवीय कमजोरी नै हुन सक्छन् । वनजंगलको विनाश यसको एउटा कारण हो । कतिपय अवस्थामा प्रकृति आफैं कारण बन्छ । मानिसले कमलो माटो भएको भिरालो जमिनमा बस्ती बसाउनाले वा कमजोर भूवनोट भएकोे ठाउँको मुनि बस्ती बसाएर बस्नाले पहिरोको चपेटामा परेर मानवीय क्षति हुनेगरेको छ । सबै प्रकारको प्राकृतिक प्रकोप मानिसले नियन्त्रण गर्न सक्दैन र त्यसबाट आपूmलाई जोगाउन सक्दैन । तर सावधानी अपनाउँदा यस्ता प्रकोपबाट धेरै मात्रामा जोगिन सकिन्छ । प्रकृति विशेषतः वनजंगलको संरक्षणबाट बाढी पहिरोबाट जोगिन सकिन्छ । जानीजानी खोलाको बगर तथा पाखाभित्ता र पहिरो झर्न लागेका डाँडाहरूको तलतिर बस्नाले प्रकोपमा पर्न सकिन्छ । डुबान क्षेत्रमा बसोबास गर्नु उपयुक्त होइन । 

मानिसले प्रकृतिलाई जित्न त सक्दैन तर प्रकृति जोगाएर त्यस सँगसँगै आफ्नोसमेत सुरक्षा र संरक्षण गर्न भने पक्कै सक्छ । अब बर्खा लागि सकेको छ र प्राकृतिक प्रकोपको सुरुवात भइसकेको छ । त्यसैले सतर्कता अपनाउन सुरु गरिहालौं ढिलो नगरौं । हुन त सरकारका तीनवटै सुरक्षा निकायलाई उद्धारका लागि तैनाथ गरिएको छ तर त्यस्तो तैनाथी भनेको प्रकोप पछिको तैनाथी हो । प्रकोप हुन नदिनका लागि होइन । त्यसैले आफ्नो बस्तीको जोखिम हेरेर त्यस अनुसारको सुरक्षा व्यवस्था अपनाउनु स्वयं नागरिककै पहिलो कर्तव्य हुन आउँछ । 


Views: 158

Top