असारे विकास : हाम्रो नियत र नियति

हिमालय टाइम्स   POSTED ON : असार ७, २०७८ (७:०२ AM)

असारे विकास : हाम्रो नियत र नियति

असार लागि सकेको छ, लागेको मात्रै होइन पहिलो हप्ता सकिनै लागेको छ । असार नेपालको हकमा वर्षादमा पर्छ । ऋतुगणनाका आधारमा असार गृष्म ऋतुको उत्तराद्र्ध हो । गणनामा वर्षा भनेको साउन र भदौ महिना हुन् । मध्यवर्षा नलाग्दै यस वर्ष प्राकृतिक प्रकोपको वितण्डा मच्चिएको छ । सुरुमै धनजनको ठूलो क्षति हुनपुग्यो । प्रकृतिमाथि मानिसको दोहन र त्यसमा पुर्‍याएको असरका कारण प्रकृतिको नियमिततामा असर पुग्ने गर्छ । नचाहिएका बेला अतिवृष्टि हुन्छ भने चाहिएका बेला अनावृष्टि भएर खेतीपातीलाई असर पर्छ । यस वर्ष यस्तै लक्षण देखापर्न थालेका छन् । असारको सुरुमै अतिवृष्टि भएर भलबाढी गएको छ । अब साउनसम्म गरिने खोतीका लागि पानी नपरेर समस्या सिर्जना हुन सक्छ । 

एकातिर प्रकृतिको यो वितण्डा छ भने अर्कातिर हाम्रो असारे विकासको लहर यहीबेला चलिरहेको छ । नेपालमा आर्थिक वर्षको अन्त्य असार मसान्तमा हुनेगर्छ । अघिल्लो आर्थिक वर्षमा विनियोजन गरिएको बजेट चालु आर्थिक वर्षभित्रमा खर्च गरिसक्नुपर्छ । गरिसकिएन भने त्यस्तो रकम फ्रिज हुने गर्दछ । त्यस कारण आर्थिक वर्षको सुरुवाततिर सुस्त-सुस्त गतिमा भइरहेका विकास निर्माणका कामहरू आर्थिक वर्षको समाप्तितिर द्रुत गतिमा गर्ने गरिन्छ । यसो गर्नाले हतपतको काम लतपत भनेजस्तो हुनेगर्छ । जसरी पनि काम सक्ने नियत राखिन्छ । काम छिटोछिटो गर्नाले गुणस्तरीय काम हुन पाउँदैन । 

सडक निर्माणमा दायाँबायाँ ढल निकासको व्यवस्था नमिलाई माटो हालेर राम्ररी ग्राभेलसमेत नगरी पिच गरेको जस्तो गर्नाले त्यस्तो पिच केही हप्ता वा महिनाभित्रै उक्किने गर्छ । सडक नभएका ठाउँका सडकको ट््याक खन्न वर्षमास डोजर चलाउँदा पानीले भिजेर कमलो भइरहेको माटो बग्ने वा भासिने हुन जान्छ । यसबाट बाढीपहिरोको जोखिम सिर्जना हुन्छ । विकासका नाममा विनाश निम्तिन सक्छ । यसैगरी ढल, कुलो, पैनी, गोरेटो, घोरेटोको अवस्था यस्तै हुन्छ । सबै पालिका वा वडा-वडासम्म बाटो पुर्‍याउने भनेर छिटोछिटो विकासको गति अघि बढाएको जस्तो गर्नाले जमिन खल्बलिएर भूक्षयका घटना धेरै बढेका छन् ।

विकासको यस्तो शैलीप्रति लक्षित गरेर यसलाई ‘डोजरे विकास’ भन्ने गरिएको छ । डोजरे विकासले वातावरण खल्बलिन पुगेको कुरा निर्विवाद छ । डोजरहरू अरू महिनामा भन्दा असार महिनामै बढी चल्ने गरेका छन् । यसरी हतारमा थरिएका विकासमा परिणाम कतै बन्दै गरेको पुल खसेका, कतै हावाले उडाएको, कतै बन्दै गरेका बाटाहरू भत्केका, भास्सिएका गाउँबस्तीमा पहिरो गएका, बाढीले डुबाएका वा कटान गरेका जस्ता घटना दिनप्रतिदिन भइरहेका छन् । यसबाट विभिन्न भौतिक सम्पत्तिको क्षति पुग्नाका साथै मानवीय क्षति हुनेगरेका छन् । यसमा धेरैजसो दोष असारे विकासलाई जान्छ । असारे विकासका कारक भनेका नेपालका राजनीतिज्ञ र तिनका कार्यकर्ता हुन् । तिनको नियतसँग जोडिएर अरू धेरै पक्ष आउने गरेका छन् । 

ठेकदारहरूको नियतका कारण विकास निमाणका कामहरू प्रभावित हुने गरेका छन् । ठेकदारहरूले धेरैतिरका कामको ठेक्का हात पार्छन् र सबैतिर अलिअलि काममा हात हालेर छोड्छन् । अनि असारमा हतारहतारमा ती कामहरू सम्मपन्न गर्न खोजछन् । यस्ता काममा राजनीतिज्ञहरू र ठेकदारहरूको मितेमतो हुने गर्दछ । जसले गर्दा ठेकदारहरू कारबाहीबाट जोगिने गरेका छन् । असारे विकास हाम्रो धेरै पहिलेदेखिको परम्परा हो । अहिले यसले निरन्तरता पाइरहेको छ । यो हाम्रो नियति बनेको छ र बनिरहने छ जसमा पहुँचवालाको नियत जोडिएको हुन्छ । प्राकृतिक प्रकोपमा समेत यसले आगोमा घ्यू थप्ने काम गरेको हुन्छ । 


Views: 164

Top