कुन मोडलको विकास हो यो ?

हिमालय टाइम्स   POSTED ON : असार २४, २०७८ (७:२९ AM)

कुन मोडलको विकास हो यो ?


त्यसमा सामग्री कमसल प्रयोग गरिन्छ, जसले गर्दा गुणस्तरीय काम हुँदैन । यसमा कसैले कसैलाई सचेत गराउँदैन किनभने त्यसमा सबैको स्वार्थ जोडिएको हुन्छ । अनि काले काले मिलेर खाऊँ भालेको सिद्धान्त त्यसमा प्रयोग भएको हुन्छ । त्यसैको परिणम हो बनाउँदा बउनाउँदैको पुल भत्किने र पिच गरेको पन्ध्र दिनमै बाटो बिग्रने र कालोपत्रे उक्किने जस्ता घटना । यसरी हतार हतारमा कमसल सामग्रीको प्रयोग गरेर बनाइएका अथवा बनाइएको जस्तो गरिएका संरचना जनताको आँखामा छारो हाल्ने काममात्र हुन् । त्यस्ता कार्यलाई जनस्तरबाट व्यंग्य गरेर ‘असारे विकास’ भन्ने गरिएको छ । ठीक यसबेला अथवा हिजोआज हामी सबैका टोलटोलमा यस्ता काम भइरहेको देख्न पाउँछौं । अब यस पटकको आर्थिक वर्ष सकिनै लागेको छ, एक हप्तामात्र बाँकी छ । योजना फरफारक गर्ने निकायहरूले यस आर्थिक वर्षको विनियोजित रकमको बाँकी लिनका लागि निकासा गर्ने र चेक काट्ने काम बन्द गरेका छन् । बजेट सक्नेमात्र नियत सबै पक्षको देखिन्छ । आपूmले गरेको काम, आफ्ना पालाका भएको काम राम्रो होस्, पक्का होस् र लामो समयसम्म त्यस्तो विकासको काम टिकाउ होस् भन्ने चाहना कसैको पाइँदैन । यहाँ मिलिभगत काम गरिन्छ र यसो हुँनाले एक पक्षको कमजोरी अर्को पक्षले औंल्याउने गरिँदैन । विकासभन्दा तिनलाई विकास गरेजस्तो गरेर त्यसबाट आफूलाई हात पर्ने लाभको रकम जतिसक्दो छिटो कुम्ल्याउनेतिरमात्र ध्यान हुन्छ । 

बाटो ग्राभेल गरेको रेकर्ड राखेर माटोले पुर्ने गरिन्छ, पिच गरेको भनेर खाल्डाखुल्डी टाल्ने काम गरिन्छ भने विकासले कसरी मूर्तरूप लिन सक्छ ? यो हाम्रो परम्परा र संस्कार बनेर धेरै वर्षदेखि विकसित बन्दै आइरहेको छ । यथार्थमा राजनीति भनेको समाज सेवा हो । जनताको सेवाका लागि राजनीति गर्ने हो र म समाजसेवामा समर्पित हुन्छु भनेर नै राजनीतिक पदका लागि अग्रसर हुने हो । जनताले पनि कसले चाहिँ आफ्ना सामूहिक आवश्यकता परिपूर्तिका लागि काम गर्छ भन्ने ठान्छन् तिनै नेताहरूलाई मत दिएर पद दिलाउने हो । तर, हाम्रो देशमा राजनीति गरेर पद प्राप्ति गर्नु भनेको अनियमितता गर्न, अनियमितता गर्नेहरूको मतियार बन्न र आफू त्यसैमा समर्पित भएर निर्लिप्त हुन हो भन्ने सोचको विकास हुँदै आएको छ । 

त्यसैले चुनावमा भाग लिएर जनतालाई खुशी पारेर होइन तिनलाई विभिन्न परिबन्धमा पारेर लोभलालच, धाक, धम्की दिएर, डनहरूको प्रयोग गरेर र बुथ कब्जा गरेर चुनाव जित्ने प्रयास गरिन्छ । यसका लागि खर्च गर्ने गरिएको छ । यसरी पैसा खर्च गरेर चुनाव जिती पद प्राप्त गर्नुको पछाडि पदमा पुगेपछि आफ्नो लगानीभन्दा धेरै गुना बढी कमाउने उद्देश्य रहेको हुन्छ । अन्ततः यस्तो राजनीतिक नेतृत्वको परिणति नै हो नक्कली विकास । 

अझै कतिपय विकास त गरेजस्तो पनि गरिँदैन । गर्दै नगरी गरेको कागजात मिलाइन्छ । कागजमा विकास हुन्छ कार्यस्थलमा योजनासमेत बनेको हुँदैन, योजना बनेको रहेछ भने त्यो योजनामा मात्रै सीमित हुन्छ । यस्ता नक्कली विकासका लागि सेटिङ मिलाइएको हुन्छ । त्यसैले कोही कानुनको फन्दामा पर्दैन, यदि परिहाल्यो भने त्यसलाई कुनै ठूलो सजाय नगरी उम्काइन्छ । किनभने त्यसलाई कानुनको परिधिभित्र तान्न प्रयास गर्नेहरू सेटिङभित्रैका हुन्छन् र दोषीलाई सजाय गरेको जस्तो देखाउन त्यसो गरिएको हुन्छ । जसरी भए पनि त्यसलाई उन्मुक्ति दिने काम गरिन्छ । त्यसैले ठूला माछाहरू जालमा पर्दैनन् र सानाहरूलाई मात्र फसाइन्छ । जहिलेसम्म हामी यस्तो नियतिबाट गुज्रिरहेका हुन्छौं तबसम्म असारे विकास हाम्रो संस्कार बनिरहन्छ । 


Top