प्रकृतिक प्रकोपसँगको यो पौठाजोरी

हिमालय टाइम्स   POSTED ON : असार २८, २०७८ (८:२१ AM)

प्रकृतिक प्रकोपसँगको यो पौठाजोरी

राजनीतिको अस्वस्थ प्रतिस्पर्धा र रस्साकस्सीको मारमा नेपाली राजनीति फसेको धेरै भइसकेको छ । यसलाई स्वच्छ बनाउने पहल निःस्वार्थ भावले कसैले गर्न चाहेको छैन र चाहनेहरूको प्रयास पनि सफल बन्न सकिरहेको छैन । यसैगरी हालका दिनमा प्राकृतिक प्रकोपले समेत देश आक्रान्त बन्नपुगेको छ । हिउँद र बर्खा हुने प्रकोप फरक हुन्छन् र स्वरूप र स्वभाव फरक हुन्छ । अहिले मध्यबर्खा छ । भलबाढी, पहिरोलगायत भूक्षयका समस्याले देश यतिबेला प्रभावित बनिरहेको छ । धनजनको क्षतिको विवरण निरन्तर आइरहेको छ । समाचार सुन्नेको मनसमेत अमिलो बन्नपुगेको यस परिस्थितिमा प्रत्यक्ष प्रभावितहरूको पीडा असैहृय बनेको स्वतः अनुमान लगाउन सकिन्छ ।

प्राकृतिक प्रकोपलाई रोक्न सकिँदैन यसबाट आपूm जोगिनेमात्र हो । यसका पूर्वसंकेत र पूर्वानुमानबाट सतर्क भएर धनजनको क्षति सकेसम्म कम गराउने प्रयास गर्ने हो । सरकारले यसका लागि दीर्घकालीन र केही अल्पकालीन योजनाहरू बनाउने हो । यसमा हामी चुकिरहेका छौं । अन्यत्रको कुरै नगरौं राजधानी काठमाडौंकै सडकहरू पानी पर्नासाथ जलमग्न हुने गर्छन् । ढल निकासलगायत कुरा व्यवस्थित रूपमा हुन नसकेकै कारण यसो हुने गरेको छ । यहीँ पनि यस्ता प्रकोपमा परेर केही मानिसको ज्यान गएका उदाहणहरू छन् र भौतिक क्षतिसमेत हुने गरेको छ । राजधानीबाहिर खोला, पहिरामा परेर मानिसहरूको ज्यान जाने गरेका घटना बाक्लै हुने गरेका छन् । 

मासिनको घरबारी बाढी पहिरोमा पर्ने समस्या त प्रसस्तै हुनेगर्छ । यसका लागि मानिस केही हदमा जिम्मेवार बन्नपुगेका छन् र सतर्कताबाट क्षति केही कम गराउन सकिन्छ । प्रकोप संसारका सबै ठाउँमा हुन्छ । स्थाननुसार समुद्री छाल, आँधीबेहरी, हिमपहिरो, ज्वालामुखीलगायत अनेकौं प्रकोपबाट मानिसहरू प्रभावित बन्दै आएका छन् र त्यसको प्रतिकार त्यसको स्वभाव बुझेर गर्दै आएका छन् । यस वर्ष असार लाग्दै सिन्धुपाल्चोकको मेलम्चीमा ठूलो बाढी आयो । यसबाट डेढ दर्जन मासिसको मृत्यु भयो भने मानवीय संरचनालगायत मानिसको आवादी खेतबारी ठूलो परिमाणमा क्षति भयो । त्यसपछिका दिनमा त्यहाँका प्रभावित बासिन्दाका लागि अनेकौं संघसंस्थाले राहत दिइरहेका छन् । 

तर, आफ्नो करोडौंको सम्पत्ति पानीमा बगेर गएकालाई यस्तो क्षणिक राहतले केही शान्त्वना त होला तर तिनका लागि दीर्घकालीन व्यवस्थापन हुन सक्दैन । ढिलै भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको निरीक्षण भ्रमण गरी त्यहाँका बासिन्दाको बसोवासको व्यवस्था मिलाउने आश्वासन दिनुभएको छ । त्यसबाट आहत मनहरूलाई केही शान्त्वना अवश्यै मिलेको छ तर यस्ता काममा तदारुकता भने हुनै पर्छ । २०७२ सालको महाभूकम्प पीडितहरूको व्यवस्थित बसोवासको व्यवस्था ६ वर्ष बितिसक्दा पनि राम्ररी हुन नसकिरहेको अवस्थामा हालका बाढीपीडितको स्थिति त्यस्तै नहोस् भन्ने चाहना सबैको हुनु अस्वाभाविक होइन । 

काठमाडौं उपत्यकावासीको पानीको समस्या लामो समयदेखिको हो । करिब ३० वर्ष पहिलेदेखि यसको समाधानको उपायका रूपमा मेलम्ची खानेपानी परियोजना सञ्चालनमा आएको थियो । तीन दशकको लामो समय लगाएर अनेकौं बाधा व्यवधान सहेर बल्ल सम्पन्न भएको योजना पुनःयस बाढीपहिरोबाट प्रभावित भएको छ । उपत्यकावासीले मेलमचीको पानी चाख्न नपाउँदै यसरी सपनामा तुषरापात भएको र पुनर्निर्माण गर्न समय लाग्ने भएका कारण काठमाडौं उपत्यकावासीको काकाकुल सपना जस्ताको तस्तै रहिरहने पो हो कि भन्ने आशंकाले ठाउँ लिएको छ । राष्ट्रको कार्यकारी प्रमुख प्रधानमन्त्री स्वायंबाट निरीक्षण भएको र क्षति आफैंले हेरेर फर्किनु भएका कारण मेलम्ची क्षेत्रका बाढीपहिरो प्रभावितको व्यवस्थापन तथा मेलम्ची खानेपानी परियोजनाको पुनर्निर्माण यथाशीघ्र होला भन्नेमा विश्वस्त बन्न सकिन्छ । यस जनविश्वासमा तुषारापात हुनु हुँदैन ।


Top