भानुभक्तका योगदान र केही तर्कवितर्क

हिमालय टाइम्स   POSTED ON : असार २९, २०७८ (६:२६ AM)

भानुभक्तका योगदान र केही तर्कवितर्क

आज आदिकवि भानुभक्त आचार्यको २०८औं जन्मजयन्ती मानाइँदैछ । भानुभक्त आचार्य विसं १८७१ मा हालको तनहुँ जिल्लाको चुँदी रम्घामा जन्मिएका थिए । उच्च घरानीया ब्राहृमण परवारका शिक्षित युवक भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षालगायत पुस्तकहरू लेखेका थिए । उनलाई भानुभक्तका रूपमा चिनाउने प्रमुख कृति भनेको संस्कृतका आदिकवि वाल्मीकिकृत अध्यात्म रामायणको नेपाली भाषाका गरेको भावानुवाद ‘रामायण’ हो । तर, तत्कालीन समयको छपाइको समस्याले उनका कृतिहरू प्रकाशित हुन नसकिरहेको अवसथामा मोतीराम भट्टले भानुको मृत्युको २५ वर्षभन्दा पछि उनका कृतिहरूको प्रकाशन गरिदिएका थिए । मोतीरामले पहिले भानुभक्तको ‘जीवन चरित’ छापेर भानुभक्तलाई चिनाए र पछि क्रमशः उपलब्ध भएका कृतिहरू भारतको वनारसबाट प्रकाशन गरिदिएका थिए । 

यसरी मृत्युको निकै लामो समय पछिमात्र नेपालीहरूले भानुभक्तलाई चिन्ने मौका पाएका थिए । त्यसभन्दा पनि अर्को महŒवपूर्ण तथ्य के छ भने विसं १९२५ सालमा भानुभक्तको मृत्यु भएको ६४ वर्षपछि नेपालको प्रधानमन्त्री बनेका जुद्ध शमशेरले उहाँलाई नेपालको आदिकविको मान्यता दिएका थिए । यस मान्यताले ९० वर्षको समय पार गरिरहेको छ । तर, केही विद्वानहरूले भानुभक्त आचार्यको यस सम्मानलाई विवादमा तान्ने गरेको पनि पाइएको छ । उनको बधुशिक्षामा रहेको केही सन्दर्भलाई लिएर र गजाधर सोतीकी श्रीमतीको आलोचनाको सन्दर्भका कारण भानुभक्तको घोरविरोध गर्नेहरूले उनलाई आदिकवि मान्नु हुँदैन भन्ने तर्कमात्र गरेका छैनन् भानुको कठोर आलोचनासमेत गर्ने गरेका छन् । 

उनीभन्दा अगाडिका कविहरूका कुनै स्थूल कृति नपाइएको र उनका धेरै संख्यामा कृतिहरू पाइएका कारणलेमात्र होइन उनले रामायणका माध्यमबाट नेपाली भाषा र साहित्यमा जुन योगदान दिएका छन् त्यो अतुलनीय छ । त्यसैले आफ्नो निहित स्वार्थका पछि लागेर राजनीतिमा जस्तै साहित्यमा पनि ठूलो स्वर गर्नेहरूको कमी छैन । भानुभक्त आचार्यको मूल्यांकन गर्ने ग्रन्थ नै रामायण हो भन्ने कुरा कसैले बिर्सनु हुँदैन । रामायण उनको एउटा पुस्तकमात्र होइन यो नेपाली भाषा र साहित्यकै एउटा मानक कृति हो । जसले नेपाली जनका घरघरमा पुगेर राम र सीताको प्रेमकथा नेपालको मिथिला क्षेत्र र भारतको अयोध्याको आर्थिक, सामाजिक, राजनीतिक र कूटनीतिक तथा सांस्कृतिक सम्बन्धको सेतु भएर काम गरेको छ । 

पृथ्वीनारायण शाहले गरेको नेपालको भौगोलिक एकीकरणमा भानुभक्तले भाषिक साहित्यिक एकीकरण गर्ने काम गरेका थिए । यही जगमा नेपाली भाषा साहित्य हालको अवस्थासम्म विकसित बन्न सकेको यथार्थलाई सबैले स्वीकार्नुपर्ने हुन्छ । नेपालभित्र रहँदा हामीले उनको भाषिक साहित्यिक योगदानलाई महत्व दिन नसकिरहेको अवस्थामा नेपालभन्दा बाहिर रहेका नेपालीहरूले उनलाई दिएको सम्मान हाम्रा लागि ग्रहृय हुनसक्ला । भातरको दार्जिलिङ सिक्किमतिर रहेका नेपालीहरूले भानुभक्तलाई उच्च सम्मान दिने गरेका छन् । यसलाई हामीले हाम्रा आदिकविलाई राम्ररी चिन्न नसकेको अर्थमा बुझ्दा उचित हुन्छ । भानुभक्त आचार्यले वास्तवमा साहित्यको लेखनमात्र गरेको होइनन् नेपाली भाषा र साहित्यको श्रीवृद्धिका माध्यमबाट नेपाली समाज चित्रण, संस्कृतिको संबद्र्धन आपसी सद्भाव कायमका साथै नेपालका तराईका मैथिली, भोजपुरी, अवधि भाषाको प्रबद्र्धनको काम गरेका थिए । मैथिल समाज, भोजपुरा समाज र अवध समाजलाई यही माध्यमले निकट बनाएको थियो । 

यसका साथै तराईको भाषा संस्कृति र सभ्यतालाई नेपाली भाषा र समग्र नेपाली सस्ंकृतिसँग जोड्ने काम गरेका थिए । यसरी हेर्दा भानुभक्तले केवल साहित्यमात्र लेखेनन् । साहित्य सँगसँगै भाषिक, सांस्कृतिक समाजिक, तथा कूटनीतिक सम्बन्धमा महत्वपूर्ण सेतु भएर नेपाली सभ्यताको विकासमा योगदान दिए । यस अर्थमा उनका जे–जस्ता योगदान नेपाली भाषा साहित्यमा रहेका छन् तिनको अवमूल्यन गर्ने काम कतैबाट हुनु अक्षम्य अपराध हो । यस्ता कार्यलाई एक प्रकारले दुस्साहस भन्नै पर्ने हुन्छ । यस कारण भानुभक्त भानुभक्त नै हुन् र नेपालका आदिकवि नै हुन् । 


Views: 102

Top