ओली सरकारको बहिरगमन र नयाँ सरकार

हिमालय टाइम्स   POSTED ON : असार ३१, २०७८ (६:२८ AM)

ओली सरकारको बहिरगमन र नयाँ सरकार


नेपालको राजनीतिक परिवर्तन मौसमी परिवर्तन जस्तै देखिन पुगेको छ । सरकार छिनछिनमा फेरिने गरेका छन् । पार्टी प्रणाली सुरु भएपछि २०१५ सालमा नेपाली कांग्रेसले दुई तिहाइ बहुमत ल्याएको थियो तर नेपाली कांग्रेस सरकारले त्यसबेला १७ महिनामात्र सरकारमा बस्न पाएको थियो । अर्को दलले सरकार बनाएका कारण नभई एउटा निरंकुश व्यवस्थाको थालनी भएकाले नेपाली कांग्रेसले सत्ताच्युत हुनुपरेको थियो । २०४६ सालपछिको नेपाली कांग्रेसको बहुमतको सरकार भने आफ्नै आन्तरिक कारणले पूर्ण समय सत्तामा रहेन । मध्यावधिमा जानाले पराजयको सामना गर्नुपरेको थियो । २०५६ सालमा नेपाली कांग्रेसले बहुमत त पुर्‍यायो तर त्यसबेला आफ्नो कार्यकाल बाँकी छँदै पार्टी फुट्यो । 

त्यसपछिको समय भनेको माओवादी शान्ति प्रक्रियामा आएको समय हो र त्यसयता संविधानसभाका दुईवटा निर्वाचन भए अनि केही समय पालोफेरोका सरकारहरू चले । २०७४ सालको आमनिवार्चनमा माओवादी केन्द्र र नेकपा एमाले मिलेका हुँदा नेकपाको दुई तिहाइको निकटको बहुमत आयो । २०१५ सालको इतिहास बिर्सिएर त्यसबेला नेपालकै इतिहासमा आफूले दुई तिहाइ निकट संसदीय स्थान जितेको शैलीमा प्रचार गर्दै नेपाली कांग्रेसको पत्ता साफ पारेको प्रचार गरिएको थियो । नेकपाका नेताहरूले अब पचास वर्ष नेपालमा नेपाली कांग्रेस सत्तामा पुग्न नसक्ने उद्घोष गरेका थिए । नेपाली कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा रहन पुगेको थियो ।

तर अहिले सबैभन्दा बलवान् समय हो भन्ने देखिन आएको छ । दुई तिहाइ निकटको बहुमत ल्याएर सरकारमा पुगेका पार्टी छिन्नभिन्न बनेर अहिले लाखापाखा भएको छ । शक्तिशाली प्रधानमनत्री केपी ओली हाल निरिह भएर बालुवाटार सरकारी निवास छोडेर स्वानिवास बालकोट फर्किनु भएको छ । राजनीतिक परिदृश्यहरू अविश्वनीय ढंगले परिवर्तन भइरहेका छन् । नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले पाँचौं पटक नेपालको प्रधानमन्त्रको जिम्मेवारी सम्हालनु भएको छ । उहाँ राष्ट्रको ४३औं प्रधानमन्त्री बन्नुभएको छ । धु्रवसत्य कुरा के हो भने छोड्नेलाई पीडा हुन्छ र पाउनेलाई खुशी लाग्छ । हालको बहिरगमल र सरकार प्रवेश पनि यस्तै हो तर निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई यो बहिरगमन निकै नै पीडादायी भएको हुनुपर्छ । 

उहाँले सरकारमा रहँदा धेरै महत्वाकांक्षा राख्नुभयो । आफूलाई निर्विकल्प ठान्नुभयो । यसैलाई सावित गर्न अनेकौं गरेर संवैधानिक कामहरू गर्नुभयो । उहाँले चालेको सबैजसो कदमलाई सर्वोच्च अदालतले खारेज गरिदियो । यसलाई सत्तामा रहनेहरूले अदालतले राजनीति गरेको गुनासो गरे । निवर्तमान प्रधानमन्त्री ओलीले पनि पत्रकार सम्मेलन गरेर यसै भनेर यही गुनासो गर्नुभयो । जे भए पनि उहाँकै पार्टीका नेताहरूलेसमेत ओलीको बहिर गमनलाई ओलीयुगको अन्त्य भएको भनेर प्रतिक्रिया जनाउनु भएको छ । राजनीति हो छेउको सियो माझैमा कोही बेला भने जस्तै उहाँको युगको अन्त्यै भएको हो वा होइन त्यो पनि भविष्यको कुरा हो तर प्रधानमन्त्री शेरबहादुर देउवाका लागि यो समय त्यति अनुकूल भने छैन ।

पहिलो कुरा उहाँले निकट समयमै संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसो हुन सकेन भने पुनः राजनीतिक अवस्ता जटिल बन्न जान्छ । यदि उहाँले विश्वासको मत लिन सकेका खण्डमा एक डेढ वर्षको समयमा कोरोनाविरुद्धको खोप अभियान, चुनावी तयारी र चुनाव गराउने जिम्मेवारी उहाँकै काँधमा हुनेछ । पार्टीको महाधिवेशन त सामुमै आइसकेको छ । पार्टीमा सभापतिको आकांक्षी स्वयं उहाँ पनि हुनुहुन्छ । यी यावत् कुरामा उहाँको चौतर्फी जिम्मेवारी छ । यिनमा उहाँ कतै चुक्नु भयो भने उहाँको हालको सरकार गमनको परिणति सोचे जस्तो नहुन सक्छ । त्यसैले सरकारबाट बाहिरिनेको अध्याय समाप्त भइसकेको हुँदा नयाँ अध्याय थप्ने काम सरकारमा जानेहरूको । यसतर्फ सोच्नै पर्छ । 


Views: 89

Top