पराजित ओलीको विजय यात्रा !

हिमालय टाइम्स   POSTED ON : श्रावण १, २०७८ (६:१९ AM)

पराजित ओलीको विजय यात्रा !

हालै ओली सरकारको अदालती फैसलाबमोजिम सत्ताबाट बहिरगमन भएको छ र प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेको छ । सरकारको फेरबदल नयाँ होइन, यो भइरहने प्रक्रिया हो तर विशेष अवस्थामा बाहेकको अवस्थामा बहुमत प्राप्त सरकारले पूर्ण समय वा पाँच वर्ष निर्विवाद रूपमा सरकार चलाउनुपर्ने हो । विपक्षीले पनि सरकार चलाउन दिनुपर्छ । हालको राजनीतिक अवस्था अलिक फरक ढंगले विकसित भएको छ । सत्ताको छिनाझपटीका कारण पूर्णबहुमतको सरकार पाँच वर्ष चल्नुपर्नेमा त्यसको आधा समय नबित्दै आन्तरिक विवाद चुलिएर छिन्नभिन्न बन्नपुग्यो । दुवै पक्षको आआफ्नो अडानका कारण पार्टी नै लथालिंग बन्दासमेत उहाँहरू मिल्न सक्नु भएन । 

माधव नेपाल पक्षले माओवादी केन्द्र, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर बहुमत दाबीका साथ राष्ट्रपति समक्ष हस्ताक्षर पेश गर्न पुगेको थियो । बहुमतको हस्ताक्षर भएर पनि सरकार बनाउन नदिएपछि मुद्दा अदालत पुगेको थियो । अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक ठहर गरी परमादेश जारी गरेर बहुमत सदस्यले चुनेका नेता नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिका नाममा परमादेश जारी गर्‍यो । जसका कारण केपी शर्मा ओली प्रधानमन्त्रीबाट हट्नु पर्‍यो । उहाँले त्यसपछि बालुवाटार क्वार्टर छोड्न केही तयारी गर्नुभयो । ठूलो तयारी गरेरमात्र उहाँ आफ्नो निवास भक्तपुरको बालकोट जानुभयो । 

यसको व्यवस्थापन उहाँका निकट नेता महेश बस्नेतले गर्नुभएको थियो । सयौं मोटरसाइकल र गाडीहरूको लर्को लगाएर उहाँ बालकोट जानुभयो । उहाँ यसरी सर्दा यातायात अस्तव्यस्त भएको थियो भने बाटाका दायाँबायाँ प्रायोजित कायकर्र्ता राखेर नारा लगाउन र झण्डा र हात हल्लाएर उहाँको स्वागत तथा बिदाइ गर्न लगाइएको थियो । यसरी हेर्दा उहाँले कुनै ठूलो विजय प्राप्त गरेर फर्किएको भान पथ्र्यो । बालुवाटारदेखि बालकोटसम्मको उहाँको प्रस्थान यात्रामा कार्यकर्ताले अदालत, वर्तमान सरकार र पार्टीका विद्रोही नेताहरूका विरुद्धमा नारा लागेका थिए । यस्ता नाराहरू आक्रोसले भरिएका थिए भने ती अशिष्ट पनि थिए । 

बालकोट निवासमा पुगेपछि उहाँले आफ्ना पक्षका नेता कार्यकर्तालाई घरको बरण्डाबाट सम्बोधन गर्नुभएको थियो । सम्बोधनमा उहाँले आपूm राम्रो काग गर्दागर्दै, देशको विकासमा समर्पित हुँदाहुँदै काम गर्न नसकेकाले होइन राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमा नेपालको छवि उच्च बनाइराखेका बेला एउटा जनादेश प्राप्त नेतालाई अदालतको परमादेशबाट हटाइयो । यसका लागि पार्टीभित्रैका नेताहरूले अन्तर्घात गरेको र अनेकौं जालसाझी गरेका कारण राम्रो काम गर्दागर्दै आफू हट्नुपरेको दुःख उहाँले पोख्नु भयो । निवास फिर्तीमा महेश बस्नेतको तयारी भएका कारण उहाँको बालुवाटार बहिरगमन हुँदा पराजित रूपमा होइन विजयी रूपमा जसरी फर्किनु भएको हो । एउटा आश्चर्यको कुरा के छ भने आफूलाई सर्वहारा वर्गको नेता मान्नेहरूको यस्तो तामझाम देख्दा र उहाँको सम्पन्न भौतिक जीवन देख्दा यसमा पत्यार लाग्दैन ।

चिनियाँ राष्ट्रपति सि चिङपिङको सम्पत्तिको लोभ गर्नेहरू कम्युनिष्ट हुन सक्दैनन् भन्ने भनाइलाई आधार मान्ने हो भने पनि उहाँहरूको यस्तो तामझाम र भोगीविलासी जीवनका कारण उहाँहरूलाई कम्युनिष्ट भन्न मिल्छ ? प्रधानमन्त्री पदमा रहेर उहाँ जसरी नै बालुवाटारबाट फिर्ता हुँदा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईले आफ्ना कार्यकर्तालाई समेत जानकारी नदिई सुराही, छाता र टिनको ट्यांका लिएर फर्किनुभएको थियो । उहाँहरूको भाषामा सामन्तीहरूका नेता भट्टराई र सर्वहारा वर्गका नेता ओलीको जीवन शेली र आहारविहारलाई एकै ठाउँमा राखेर हेर्न कसरी सकिएला ? आफ्ना अहम्ले राष्ट्र वर्वाद बनाउनेहरूले यसतर्फ पनि त सोच्नुपर्ने हो कि ? 


Views: 159

Top