एमाले एकताको सम्भावना !

हिमालय टाइम्स   POSTED ON : श्रावण ३, २०७८ (६:१२ AM)

एमाले एकताको सम्भावना !

इतिहासमै सबैभन्दा नराम्ररी छिन्नभिन्न भएको दलमा नेकपा एमाले नै हो । हुन त टुट र फुटको इतिहास सबै दलमा छ तर यतिविघ्न छरपष्ट भएर पोखिने काम शायदै अरू दलमा भएको थियो । राजनीति गर्नेहरूका लागि राजनीति गर्ने केही बाटो सुरक्षित रहनु पथ्र्यो तर एमालेभित्रका नेताहरूले त्यस दृष्टिकोणले आफ्नो भावी मार्ग प्रसस्त गर्ने काम गरेनन् । अब नेपाली राजनीतिक धरातलमा तिनको बाटो बन्द हुँदै गएको छ । त्यहाँका तगाराहरू पन्छाउन सक्ने केही नेताहरूमात्र नेपालको भावी राजनीतिमा फेरि अगाडि बढ्ने आँट गर्लान् । यसका कारण हो पार्टीभित्रको फुट । कारण राजनीतिक सिद्धान्त होइन स्वार्थकेन्द्रित थियो । पद र प्रतिष्ठाको लडाइँ थियो । तारो प्रधानमन्त्री पद नै थियो । 

एक पक्ष मरिगए नछोड्ने र अर्को पक्ष जसरी भए पनि त्यहाँ आफ्नो सहभागिता जनाउने प्रयासमा रहने, नसके बरु सहकर्मीलाई नै त्यहाँबाट हटाउने । माधव नेपाल र केपी ओलीको यो प्रतिस्पर्धा निकै लामो समयसम्म चलिरहृयो । अन्ततः प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री पदबाट हट्नु प¥यो । हाल नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेको छ । त्यसमा माओवादी नेताहरू सहभागी बन्नुभयो । नेकपा एमाले आधिकारिक रूपमा फुटेको छैन र भावनात्मक रूपमा मिलेको छैन । आफ्नो बहिरगमनका कारण विपक्षीमात्र नभएर आफ्नै पार्टीका माधव नेपाल समूह पनि हो भन्ने कुरा केपी ओलीलाई जानकारी नभएको होइन । 

त्यसैले उहाँले बालुवाटार छोडेकै दिन आफ्नो बालकोट निवासबाट अब माधव नेपालले आत्माआलोचना गरेरै आए पनि नेकपा एमालेमा कुनै स्थान छैन भन्नुभएको थियो । शायद माधव नेपालले यसबारे राम्ररी चिन्तन मनन गर्नै भएको होला । त्यसैले अब उहाँ एमालेमै रहेर यसलाई गोडमेल गर्ने पक्षमा हुनुहुन्न र नै बृहत् बामएकताका पक्षमा रहनु भएको छ । त्यसैले अब नेकपा एमालेको एकता सम्भव हुनसक्ला जस्तो देखिएको छैन । माधव समूहको मन आफ्नै पार्टीका ओलीसँगभन्दा माओवादीका प्रचण्डसँग नजिक बन्न पुगेको छ । उता पार्टी अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आपूm प्रधानमन्त्रीबाट हट्नासाथ तुरुन्तै डाक्नुभएको स्थायी समिति बैठक नेपाल पक्षधरले बहिष्कार ग¥यो । 

हुन त बहिष्कार गर्नुपर्ने बाध्यता उक्त पक्षको थियो किनकि यो बैठक बोलाउनुमै ओलीको नेपाल पक्षप्रति प्रतिशोध लुकेको थियो । अब नेपाल समूहको बृहत् वाम एकताको नाराले धेरै वामपक्षधर समेटिन सक्छन् । उता नेकपा एमालेका पक्षका सांसदसहितको हसताक्षरबाट देउवालाई प्रधानमन्त्री पद प्राप्त भएको हो । तर, माधव पक्षीय नेताहरूबाटै देउवालाई विश्वासको मत नदिने भन्ने सार्वजनिक उद्घोष हुन थालेको छ । एमालेका नेपाल पक्षीय सांसदहरूको समर्थनविना देउलालाई विश्वासको मत प्राप्त हुन सक्दैन । यदि त्यसो भयो भने बाँकी समयसम्मका लागि राजनीतिमा स्थिरता होला कि भन्ने क्षीण आशामा समेत तुषारापात हुन पुग्नेछ र यस्तै अस्थिरता कायम भइरहनेछ । 

यदि त्यस्तो अवस्थाकै चाहना हो भने ओलीलाई पदबाट हटाउनकै लागि मात्र उहाँहरूको अभियान हो त भन्ने प्रश्न उब्जिन्छ । त्यसैले देउवा सरकारको भविष्य नेकपा एमाले माधव नेपाल समूहको र जनता समाजवादी पार्टी यादव भट्टराई पक्षको हातमा रहनेछ । उहाँहरूबाट देउवालाई विश्वासको मत नदिनु भनेको नेपालको राजनीतिलाई अँध्यारैमा राखिरहनु हो । अदालतले राजनीति गर्‍यो भन्नेहरूले अदालतकैविरुद्ध राजनीतिक अभियान चलाउने योजना बनाइरहेका छन् । एमालेको ओली पक्षले अब अदालतको आदेशविरुद्ध मेचीमहाकाली ‘भण्डाफोर अभियान’ चलाउने भएको छ । यस अभियानले स्वातन्त्र न्यायपालिकाको स्वतन्त्रतामाथि राजनीतिक हतकण्डा प्रयाग गर्नेछ । यसले अराजकतालाई अझै दह्रो पुठ प्राप्त हुनेछ । त्यसैले एमालेको नेपाल समूहले बाँकी समय सहज बनाउन भए पनि हालको सहकार्यलाई निरन्तरता दिन आवश्यक छ । 


Views: 130

Top