सरकारलाई बधाई तथा शुभकामना !

हिमालय टाइम्स   POSTED ON : श्रावण ५, २०७८ (९:५१ AM)

सरकारलाई बधाई तथा शुभकामना !

नेपालको राजनीतिले हाल अर्को कोल्टो फेरेको छ । फेरि एक पटक प्रजातान्त्रिक शक्तिको अगुवाइमा मावपन्थी शक्तिको समर्थन पाएर सरकार अघि बढेको छ । वामशक्तिहरूको एकताले पछाडि परेको प्रजातान्त्रिक शक्ति वाम नेताहरूकै शब्द र दाबीअनुसार आगामी पचास वर्ष सत्तामा आउन नसक्नेगरी पछाडि पारिएको थियो । लामो इतिहास भएको र विभिन्न चरणमा नेपालका लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस आपूm पछाडि परेको अवस्थामा कत्ति विचलित नभई धैर्य गरेर बसेको थियो । यही अवस्थामा सत्ता सम्हालेको छोटो समयमै वामपन्थी दलहरूमा आएको विग्रहपछि पुनःनेपाली कांग्रेसको खोजी भयो र हाल नेपाली कांग्रेसले सरकारको नेतृत्वको जिम्मेवारी पाएको छ । 

निवर्तमान सरकारको बहिरगमनपछि सर्वोच्च अदालतको परमादेशका कारण राष्ट्रपतिबाट नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधामन्त्रीमा नियुक्त गरेपछि प्रधानमन्त्रीको पहिलो प्राथमिकता पुनःस्थापित प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने थियो । किनभने नेपाली कांग्रेसको बहुमत नभएका कारण अरू दलहरूसँगको सहकार्यबाट सरकार बनाउनुपर्ने बाध्यताका कारण ती दलहरूको ताजा विश्वास लिइहाल्नुपर्ने हुन्थ्यो । सरकारले विश्वासको मत लिएपछिमात्र अरू कामका लागि अगाडि बढ्नु स्वाभाविक हुन्थ्यो र सोहीअनुरूप विश्वासको मत लिने काम भएको छ । सरकारले विश्वासको मत लिन सक्ला वा नसक्ला भन्ने अड्कलबाजी भएरहेका बेला प्रधानन्त्रीका पक्षमा झण्डै दुई तिहाइ मत प¥यो । प्रतिनिधिसभाका तत्काल उपस्थित सदस्यहरूमध्ये उहाँका पक्षमा १६५ र विपक्षमा ८३ मत पर्‍यो । 

सदस्यहरूको परिवर्तित मनस्थिति र समीकरणको फेरबदल भने देखिन आयो । ओली सरकार गिराउन लागेकाहरूमध्ये एमालेको केही सदस्यले सरकारलाई विश्वासको मत दिनुभएन । उहाँहरू मतदानका बेला बाहिरिनुभयो तर सोही पक्षका केही सदस्यहरू कटिबद्धताका साथ सरकारलाई विश्वासको मत दिन लागिपर्नु भयो । अझै आश्चर्यको कुरा त्यहाँ के देखियो भने हिजोसम्म ओलीलाई हरिहत्ते गरेर काँध हालिरहेका केही सदस्यहरूले सरकारका पक्षमा मतदान गर्नुभयो । यसरी प्रधानमन्त्री देउवाले आश्चर्यका साथ यति धेरै मत पाएर विश्वासको मत लिन सक्नुभयो । तर, अब सरकारको जिम्मेवारी पनि सोहीअनुरूपको बनेको छ । सरकार सर्वदलीय स्वरूपकै हुनेछ । सुरुमै नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस सम्मिलित सरकार बनेको छ । 

अब प्रतिनिधिसभाको बाँकी समय लगभग डेढ वर्ष सरकराको समयावधि छ । यसलाई छोटो समय भन्न मिल्दैन । एमालेको माधव नेपाल समूह अब के गर्छ भन्ने पर्खाइ धेरै समयसम्म नरहला । यस समूहका केही सदस्यले सरकरालाई विश्वासको मत नदिएका कारण उहाँहरू सरकारमा सामेल नहुने सोचमै रहनुभएको हुनसक्छ तर केही सदस्यहरूको चाहना सरकारमा सामेल हुनेतर्फ नै रहेको जस्तो देखिएको छ । यसका लागि नेतृत्वको निर्देशन आवश्यक हुनसक्छ । जनमोर्चा र राप्रपाका एक-एकजना सांसदले सरकारमा नजाने बताइसक्नु भएको छ । वर्तमान परिप्रेक्षमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको संलग्नताले सरकार सबल बन्नसक्छ भन्ने त यसै प्रमाणितै छ । 

त्यसमा एमालेभित्रको नेपाल समूहले संलग्नता जनायो भने लगभग सरकारमा सबै दलको सहभागिता भएको सावित हुन आउँछ । त्यसैले मन्त्रिपरिषद्को विस्तारपछिको सरकारलाई सर्वदलीय सरकार भन्न सकिने आधार तयार हुन्छ । संयुक्त जनमोर्चा, राप्रपा र नेमकिपा अनि ओली नेतृत्वको एमालेमात्र सरकारबाहिर रहनेछन् । यसरी सबै दल समेटिनु भनेको तिनका मतदाताको साझा भावनासमेत एकै ठाउँमा समेटिनु हो । सरकारले भावी दिनमा नेपाली जनताको यही भावनाबमोजिम काम गर्नसमेत सक्नुपर्दछ । जनता माझ रहेका बग्रेल्ती समस्याको क्रमशः समाधान गर्दै जाने कार्यमा सरकाले सफलता पाओस् । सम्मानित व्यवस्थापिका वा प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरी काम गर्ने कार्यादेश प्राप्त गर्न सकेकोमा वर्तमान सरकारलाई शुभकामना । 


Views: 106

Top