नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको सम्झनामा

हिमालय टाइम्स   POSTED ON : श्रावण ७, २०७८ (६:४८ AM)

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको सम्झनामा

पुष्पलाल श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक हुनुहुन्छ । त्यसो त उहाँ सुरुमा नेपाली कांग्रेसका नेता विश्वेश्वरप्रसाद कोइरालाको प्रजातान्त्रिक समाजवादप्रति आस्थावान् हुनुहुन्थ्यो । कांग्रेस पार्टीको कार्यालय सचिवका रूपमा काम गर्नु भएका श्रेष्ठ पछि कम्युनिष्ट विचारधाराबाट प्रभावित बन्नुभयो । सुरुमा विचारको प्रतिपादन गर्ने काममा नेपाली कांग्रेस अग्रणी भएको सन्दर्भमा राजनीतिको प्रशिक्षण यसै पार्टीबाट पाएर अन्य पार्टीको स्थापना गर्नेहरू धेरै छन् । पञ्चायतका केही हस्तीहरू सुरुमा कांग्रेसकै सिद्धान्तबाट प्रेरित थिए । पुष्पलाल १९९८ सालका शहीद गंगालाल श्रेष्ठका भाइ हुनुहुन्थ्यो । गंगालालले आफ्नो अन्तिम क्षणमा आफ्ना माहिला भाइ पुष्पलाल श्रेष्ठलाई आपूmले सम्हालेको राजनीतिक जिम्मेवारी आफूपछि तिमीले सम्हाल्नू भनेर सहादत प्राप्त गर्नुभएको थियो भनिन्छ । 

रामेछापका यी दुई दाजुभाइ राजनीतिमा आउनुभन्दा पहिले साहित्यिक विद्रोहका माध्यमबाट कृष्णलाल अधिकारीले पनि बलिदानी दिइसकेका कारण यी तीनजना रामेछापका ‘तीन लाल’ भनेर चिनिए । नेपालमा कम्युनिजमको चेतना प्रजातन्त्रको चेतनाभन्दा पछि आएको हो । २००६ सालमा नेपाली कांग्रेसले राम्ररी आफ्नो वर्चस्व स्थापना गरिसकेको बेला स्थापना भएको कम्युनिष्ट पार्टी नेपालमा ‘कम्युनिष्ट सिद्धान्त त अराजक सिद्धान्त हो’ भन्ने सोचका कारण २००७ सालको प्रजातन्त्रपछि प्रतिबन्धमा परेको थियो । नेपाल प्रजापरिषद्का नेता टंकप्रसाद आचार्य २०१३ सालमा प्रधानमन्त्री बनेका बेलामा कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध फुकुवा भएको थियो । त्यसपछि नेपाल कम्युनिष्ट पार्टीले २०१५ सालको पहिलो आमनिर्वाचनमा भाग लिने अवसर पायो तर नेपाली कांग्रेसले प्रतिनिधिसभामा १०९ सिटमा ७४ सिट मा विजय गरेको अवस्थामा कम्युनिष्ट पार्टीले जम्माजम्मी चार सिट जितेको थियो । 

विभिन्न गुटउपगुटमा छरिएर व्यक्तिवादी पार्टीमा रूपान्तरण हुँदै गएर पनि नेपालमा कम्युनिष्ट पार्टी पछिल्लो समयमा सबल देखापरेको छ । यसको श्रेय पुष्पलाल श्रेष्ठलाई नै जान्छ । कहिले ‘महान नेता’ र कहिले ‘गद्दार पुष्पलालको’ को जसअपजस खेपेर भए पनि उहाँले नेपालमा कम्युनिष्ट विचारलाई स्थापित गरेर जानुभएको छ । उहाँपछि पनि उहाँकी धर्मपत्नी सहाना प्रधानले उहाँले सम्हाल्दै आउनुभएको जिम्मेवारी सम्हालेर निकै लामो समयसम्म पार्टीमा काम गर्नुभयो । यसरी एक परिवारका तीन सदस्यले नेपालको राजनीतिक अभियानमा जीवन समर्पण गरेको अवस्था छ । नेपालको पछिल्लो चरणको कम्युनिष्ट आन्दोलन निकै सबल र सफल रूपमा अगाडि बढिरहेको अवस्थामा सत्ता केन्द्रित राजनीतिका कारण हाल स्खलित बन्न पुगेको अवस्था छ ।

एकता भएर राजनीति गर्दा कम्युनिष्टहरू शक्तिशाली छन् भन्ने पनि देखिएको थियो तर आपसी अन्तरद्वन्द्वका कारणमात्र हालका दिनमा नेपालको कम्युनिष्ट आन्दोलन कमजोर बन्न पुगेको हो । नेपालले मनमोहन अधिकारी, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, झलनाथ खनाल र माधवकुमार नेपाल गरी पाँचजना कम्युनिष्ट नेताको प्रधानमन्त्रीत्व पाइसकेको छ । यसको पृष्ठभूमिमा कम्रेड पुष्पलाल श्रेष्ठको योगदान छ । नेपालको निरंकुश शक्तिलाई परास्त गर्न कम्युनिष्ट र प्रजातान्त्रिक शक्ति मिल्नुपर्छ भन्ने उहाँको विचार नेपाली कांग्रेसले सुरुमा स्वीकार गरेको थिएन तर जब नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा २०४६ सालको जनआन्दोलन गर्ने निर्णय गर्‍यो तब उहाँको उक्त विचारलाई स्वीकार गरेर नेपालका वामपन्थी शक्तिहरूलाई पनि आन्दोलनमा सहभागी गरायो । आन्दोलन सफल पनि भयो । 

अझै कतिपय कम्युनिष्टहरूले पुष्पलाल श्रेष्ठलाई नेता स्वीकार्न सकिरहेका छैनन् । एक पक्षले आफूसँग विचार मिल्नासाथ ‘महान् नेता’ र नमिल्नासाथ अर्कोपक्षलाई ‘गद्दार’ र ‘लालगद्दार’ घोषणा गर्ने कम्युनिष्टहरूको चरित्रका कारण उहाँलाई आत्मैदेखि नस्वीकार्नेहरूको कमी नहोला तर नेपालमा कम्युनिष्ट पार्टीको बिउ रोप्ने नै पुष्पलाल श्रेष्ठ भएका कारण यस यथार्थतालाई सबैले स्वीकार्नै पर्छ र यसलाई आत्मसात गरेर कम्युनिष्टहरू अघि बढ्दा उनीहरूको भलाइ हुन्छ । त्यसैले नेपालका लागि नितान्त नयाँ विचारको बिउ रोपेर राजनीतिक धरातल खडा गरिदिने पुष्पलाल श्रेष्ठको आज स्मृति दिवस भएको यथार्थलाई कसैले बिर्सनु हुँदैन । उहाँमा हाम्रोतर्फबाट श्रद्धासुमन अर्पण गर्न चाहन्छौं । 


Top