सरकारको जनस्वास्थ्यप्रतिको प्राथमिकता

हिमालय टाइम्स   POSTED ON : श्रावण १०, २०७८ (७:३४ AM)

सरकारको जनस्वास्थ्यप्रतिको प्राथमिकता

नेपालमा भरखर सरकार परिवर्तन भएको छ । पूर्णबहुमत भएर पनि आपसी कलहका कारण जनताका समस्यातर्फ भन्दा पनि आफ्ना व्यक्तिगत र समूहगत स्वार्थले राष्ट्रिय समस्यालाई ओझेलमा पारिएपछि एक थरीले प्रतिनिधिसभा भत्काउने र अर्कोले त्यसको कानुनी उपचार खोज्ने क्रममा विघटित प्रतिनिधिसभाको पुनःस्थापना भएपछि बनेको सरकार हो यो । यस सरकारले सुरुमै जनताको स्वास्थ्यप्रति चासो देखाएको छ । पूर्ववर्ती सरकारले पनि आपूmले यसतर्फ चासो राखेर अधिकतम काम गरेको दाबी नगरेको त होइन तर विदेशबाट खोप ल्याउने क्रममा पनि बिचौलियाहरूसँग कमिसनको कुरा नमिल्दा यसमा ढिलाइ हुन पुगेको थियो । यो कुरा पूर्ववर्ती सरकारका स्वास्थ्यमन्त्रीले बताउनु भएको थियो । उक्त सरकारले पहल गरेको केही खोप र हालको सरकारको प्रयासबाट समेत केही गरी खोप आउने क्रममा वृद्धि भइरहेको छ । 

केही अनुदानमा र केही खरिद गरेर ल्याउन लागिएको खोपको सबैमात्रा नेपालमा आइसकेपछि सबै जनतालाई पुग्ने विश्वास गरिएको छ । पहिलो चरणमा मित्रराष्ट्र भारतले केहीमात्रा अनुदानमा दिएको थियो । केही खरिद प्रक्रियाबाट ल्याउने भनेर पेश्कीस्वरूप केही रकम पठाइएको थियो तर भारतमै संक्रमितहरू बढेपछि भारतले उक्त खोप पठाउन सकेको थिएन । हालै भारतीय प्रधानमन्त्रीले त्यो खोपको मात्रा छिट्टै नेपाललाई उपलब्ध गराउने बताएका कारण रोकिइरहेको उक्त खोप आउने कुरामा विश्वस्त बन्न सकिन्छ । उक्त खोप आएपछि पहिलोमात्रा कोभिसिल्ड लगाएर दोस्रोमात्रा लगाउन नपाएकाले लाउन पाउनेछन् भन्ने आशा गर्न सकिन्छ । मित्र राष्ट्र चीनले पनि चिनियाँ खोप भेरोसिल्ड अनुदानमा दिएको थियो ।

कोभिसिल्डका तुलनामा कम जोखिमी मानिएको यो खोप लगाउन चाहने धेरै देखिएकाले सरकारले पुनःचिनियाँ सरकारसँग अरू मात्राको माग गरेर ल्याउने क्रम जारी छ । अर्कातिर अमेरिकी सरकारको सहयोगमा ल्याइएको जोनसन खोप लगाइएको छ र लगाउने क्रम जारी छ । एक पटकमात्र लगाए हुने यो खोप लगाउन पहिले मानिसहरू डराएका थिए तर यसले त्यति ठूलो असर नदेखाएकाले मानिसहरू अब यसतर्फ आकर्षित छन् । जोनसन खोपको खोप केन्द्रहरूमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालस्थित अमेरिकी राजदूत स्वायं पुगेर त्यसको सुरुवात गर्नुका साथै खोप केन्द्रहरूको अनुगमन तथा निरीक्षण गर्नु भएको थियो । यसबाट सरकारको जनस्वास्थ्यप्रतिको प्राथमिकता पुष्टि हुन्छ । उता जापान सरकारले पनि नेपाललाई कोरोनाविरुद्धको खोप दिने भएको छ । 

उपलब्ध हुने सबै खोपलाई व्यवस्थित गर्ने हो भने धेरै जनताले कोरोनाविरुद्धको खोप पाउने छन् । सरकारले पनि १९ अर्बको बजेट खोप खरिदकै लागि छुट्याएको भनेको छ । यी सबै खोप आइसकेपछि कोही खोपबाट वञ्चित हुनुपर्ने छैन भन्ने कुरामा विश्वस्त बन्न सकिन्छ । तर, सरकारले सबै नेपालीलाई खोप लगाइसक्न आगामी चैत मसान्तसम्म लाग्ने बताएको हुँदा सो समय भने ढिलो मान्नुपर्ने हुन्छ । त्यसका लागि झण्डै नौ महिनाको प्रतीक्षा गर्नुपर्ने भएको हुँदा कति नेपालीहरू संक्रमित बनिसक्ने सम्भावना रहन्छ । यसतर्फ भने सरकारले सोच्नै पर्ने हुन्छ । 

धेरैमा ६ महिनासम्ममा सबै नागरिकलाई खोप लगाइसक्ने व्यवस्था सरकारले मिलाउने हो भने जनताले कोरोनाबाट अकाल मृत्यु वरण गर्नुपर्ने थिएन र यातायात, हाटबजार, शैक्षिक संस्था, भोजभतेर, विभिन्न गोष्ठीलगायतलाई सुचारु गर्न डर मान्नुपर्ने अवस्था रहने थिएन । धेरै लामो समयदेखि अवरुद्ध हुँदै आएका यस्ता कुराहरूको सहज सञ्चालन हुन सके जनजीवनका सबै पक्ष सुचारु भएको महसुस सबैमा हुने थियो र तिनले आफ्ना दैनिकी सञ्चालन गर्न पाएपछि सरकार वा अन्य कुनै निकायको मुख ताक्नुपर्ने थिएन । सरकारले पनि यसको पहलमा सक्रियता देखाइरहेको हुनाले यसतर्फ आशावादी बन्न सकिन्छ । 


Top