बाकसबन्द शवहरू र परिवारको पीडा

हिमालय टाइम्स   POSTED ON : श्रावण ११, २०७८ (६:१६ AM)

बाकसबन्द शवहरू र परिवारको पीडा

गत शनिबार मलेसियाबाट बाकसमा बन्द भएर आएकाहरू सबै आफ्ना सपना कोरल्न त्यहाँ गएका थिए । भविष्यको सुन्दर सपना सिर्जना गरेका थिए, तर ती बाकस बन्द भएर फर्किए । चौबीस जनाको बाकस बन्द शव मलेसियाबाट एकै पटक ल्याइयो । विभिन्न गाउँबाट रोजगारीको खोजीमा उनीहरू मलेसिया पुगेका थिए । तीमध्ये धेरैको घरमा श्रीमती होलान्, सम्भवतः कलिला छोराछोरीहरू होलान् । कतिका वयोवृद्ध बाबुआमा होलान् । ती सबैका सपना चकनाचुर बन्ने । साना छोराछोरी छोडेर, बैंसालु श्रीमती र बुढा बाबुआमालाई सम्झाएर, अनेक सपना देखाएर, राम्रो कमाइ गरेर झोलाभरि पैसा लिएर फर्किनेछु भनेर गएका थिए होलान् तिनीहरू तर ती सपना पानीका फोका जसरी फुटेका छन् । 

एउटा देशमा केही समयावधिमा संकलन गरिएका शव हुन् यी मलेसियाको राजधानी क्वाललम्पुरमा । अनि थप तीनजनाको अस्तुमात्र ल्याइएको छ । एकै पटक मृत २७ जना ल्याइनुलाई लरतरो कुरा मान्न मिल्दैन । अझै मलेसियाभरि नेपालीका अरू पनि शव अलपत्र हुनसक्छन् । संसारका अरू देशहरूमा पनि नेपालीका शव छरिएका रहेका हुनसक्लान् । ती शवसँगै कति नेपालीहरूका सपना अलपत्र बनेका होलान् । यतातिर सम्झने हो भने जो कोही नेपालीको मन नकुँडिने कुरै छैन । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको समन्वयमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले त्यहाँ संकलन गरिएका उक्त शव लिएर आएको थियो । 

नेपाल श्रम बेच्ने नागरिकको देशका रूपमा चिनिएको छ । नेपाली नागरिकहरू श्रम गर्नकै लागि संसारका विभिन्न देशमा पुगेका छन् । त्यहाँ जोखिम मोलेर काम गर्ने क्रममा कतिको त ज्यान जनेगरेको छ । कति तथ्यांकमा समेटिन सकेको छैन । नेपालीहरू काम गर्न जाने ती देशहरूको अवस्था कस्तो छ भनेर सरकारले दृष्टि पु¥याउन सकेको छैन । मलेसिया तत्कालीन ब्रिटिश सरकारका पक्षबाट नेपालीहरूले युद्ध लडेको देश हो । मलेसियामा नेपाली मूलका मानिसहरूको बसोबास छ । नेपालीले त्यहाँ केही हदसम्म स्नेह पाउँछन् तर खाडी देशहरूमा जहाँ नेपालीहरू ठूलो संख्यामा वैदेशिक रोजगारीका क्रममा छन् त्यहाँको अवस्था अझै भयावह हुनसक्छ । त्यसतर्फ सरकारले विशेष ध्यान पु¥याउनुपर्ने हुन्छ । स्वदेशमै सरकारले रोजगारीको सिर्जना गर्न सकेको भए विदेशिनुपर्ने थिएन ।

एकातिर हाम्रो गरिबी यसको कारक बन्न पुगेको कुरा निर्विवाद त छँदैछ भने अर्कातिर हाम्रा पूर्ववर्ती र वर्तमान सरकारबाट यस्ता प्रयास गरेको देखिएन । राजनीतिज्ञहरूबीच केवल सत्ताको छिनाझप्टीमात्र हुने गरेको छ । देश र जनताबारेमा सोच्ने गरिएको छैन । जनताका लागि रोजगारी बन्दव्यापार, उद्योग कलकारखाना, कृषि, पशुपालन आदिको सिर्जना गर्ने भएका छैनन् । तिनका लागि प्रोत्साहन छैन, सुलभ ऋणको व्यवस्था छैन, आत्मनिर्भर शिक्षा व्यवस्था छैन । शिक्षामा व्यावसायिकतामात्र छ अनि ठूलो धनराशि खर्च गरेर सामान्य नागरिकले पढ्न सक्दैनन् र पढेकाहरूकै जति कमाइको बाटो पहिल्याउँदै वैदेशिक रोजगारीतिर लाग्छन् । 

त्यहाँ तिनीहरूले जोखिमपूर्ण काम गर्नुपर्ने हुन्छ । आफ्नो ज्ञानभन्दा फरक काम गर्न बाध्य पारिन्छ । जसले गर्दा उनीहरू दुर्घटनामा पर्छन् र अन्धअपांग बन्न पुग्छन् । कतिको ज्यानै जाने गरेको छ । बिरामी भएकाहरूले पैसाको अभावमा उपचार पाउँदैनन्, काम गरिरहेका कम्पनीहरू अनेक बाहनामा टाढिन्छन् । यस्ता अनेकौं कारणले गर्दा वैदेशिक रोगगारीका क्रममा विभिन्न देशमा छरिएर रहेका नेपालीले अनेक हण्डर खानुपर्ने र ज्यान गुमाउनुपर्नेसम्मका नियति भोग्दै आएका छन् । मृत्युपछि शव ल्याएर परिवारजनलाई दिनेमात्र होइन सरकारले विदेशमा रहँदाको समयमा आफ्ना नागरिकको अवस्थाको जानकारी राखी तिनको सुरक्षाको यथोचित व्यवस्थासमेत सरकारले गरोस् । 


Top