युद्ध संग्रहालय पहिलो युद्ध स्मारक

हिमालय टाइम्स   POSTED ON : श्रावण १५, २०७८ (६:३७ AM)

युद्ध संग्रहालय पहिलो युद्ध स्मारक

संसारको प्राचीनकालदेखि हालसम्मकै इतिहास हेर्ने हो भने यो वास्तवमा एकप्रकारले युद्ध नै युद्धको इतिहास हो भन्दा अत्युक्ति नहोला । समयसन्दर्भअनुसार युद्धका स्वरूप र साधनहरू भने फेरिएका छन् तर युद्ध समाप्त भएको छैन । नेपालका सन्दर्भमा पनि हाम्रा पुर्खाहरूले यो देशको अखण्डता र सार्वभौमिकता जोगाउन अनेकौं कालखण्डमा अनेकौंपटक युद्ध गरेका छन् । ७० वर्षका भक्ति थापाले देउथलको युद्धको नेतृत्व गरेको देखेर अंग्रेज पक्षसमेत चकित भएको थियो । यसैगरी वीर बलभद्र कुँवरले नालापानीको काँगडाकिल्लामा गरेको नेतृत्व होस् वा अमरसिंह थापाले गरेको प्रधानसेनापतिको हैसियतको नेतृत्व होस्, ती इतिहासमा नमेटिने सन्दर्भ भएर रहेका छन् । 

यसरी हाम्रा पुर्खाले कहाँ-कहाँ कसरी युद्ध लडेका थिए ? त्यहाँ क-कसको कस्तो संलग्नता थियो ? तिनले के-कस्ता युद्धसामग्रीको प्रयोग गरेका थिए ? ती सबै इतिहास सुरक्षित गर्नुपर्ने दायित्व वर्तमान पुस्तामा छ । नेपाली सेनाको इतिहास संसारमा पहिलेदेखि अहिलेसम्म नै गौरवमयरूपमा रहेको छ । त्यसलाई सुरक्षित र संरक्षित गर्ने पहलकदमी नेपाली सेनाले लिएर हालै यो युद्ध संग्रहालय स्थापना भएको हो । यो नेपालको इतिहासमै पहिलो हो । सिन्धुली जिल्लामा स्थापना भएको यस संग्रहालयको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको छ । सिन्धुली नेपाल-अंग्रेजबीच युद्ध भएका ठाउँमध्येको एक हो । विसं १८२४ असोज १५ गते किनलकको नेतृत्वमा कान्तिपुरका तत्कालीन राजा जयप्रकाश मल्लको सहयोगमा आएको अंग्रेज सेनालाई पृथ्वीनारायण शाहका सेनाले यहाँ परास्त गरेको थियो । 

यो संग्रहालय सबैका लागि उपयुक्त भ्रमणस्थलका रूपमा रहन सक्नेछ र सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारामा यसले सहयोग पु¥याउनेछ भन्ने राष्ट्रपतिको भनाइ यथार्थ मान्न सकिन्छ । एउटै संग्रहालयभित्र नेपालीहरूले लडेका युद्धसम्बन्धी सम्पूर्ण कुरा अवलोकन गर्न पाइने हुनाले आन्तरिक तथा बाहृय पर्यटनको प्रवद्र्धन गर्न यसले सघाउ पुर्‍याउने कुरा सही हो । यसका साथै नेपाली सेनाको गौरवमय इतिहासलाई सुरक्षित र संरक्षित गर्ने कामसमेत यस संग्रहालयका माध्यमबाट गर्न सकिनेछ । यसका लागि नेपाली सेनालाई कमलामाई नगरपालिकाको समेत उल्लेख्य सहयोग रहेको छ । राम्रा कार्यका लागि नगरपालिकाले गरेको यो सहयोग प्रशंसनीय छ । 

नेपाल पुर्खाहरूको बलिदानीबाट बनेको देश हो । अब यसलाई बचाउनुपर्ने दायित्व युवाहरूको काँधमा आएको छ । सिन्धुलीमा निर्माण भएको यो युद्ध संग्रहालय अनुसन्धानकर्ता, विद्यार्थीलगायत स्वदेशी तथा विदेशी पर्यटकहरूका लागि उपयुक्त भ्रमणस्थल बन्न सक्ने र पुर्खाको इतिहास थाहा पाउने माध्यम बन्नेछ । किनभने यो पुर्खाको इतिहास संरक्षण गर्ने सन्दर्भ हो । यसको अवलोकन गर्ने चाहना सबैमा हुने नै छ । नेपाली सेनाले पनि यस्ता गढी, किल्ला, दरबार, ऐतिहासिक स्थल, पदमार्ग, युद्धस्थल आदिको संरक्षण, संवद्र्धन गर्ने कार्यको थालनीका रूपमा यस संग्रहालयको निर्माण गरिएको बताएको हुनाले अबका दिनहरूमा नेपाली सेनाले क्रमिकरूपमा यसप्रकारका कामहरू गर्दै जानेछ भन्ने विश्वास गर्न सकिन्छ । 

नेपाल एकीकरणको सन्दर्भमा होस् वा नेपाल-अंग्रेज युद्धमा वा नेपाल-भोट युद्धमै किन नहोस्, नेपालले तयार पारेका गढी र किल्लाहरू असंख्य छन् । तत्कालीन राजामहाराजाहरूका दरबारहरूको संख्या पनि धेरै छ तर संरक्षणको अभावमा हाल तीमध्ये कतिपय भग्नावशेषमा परिणत भइसकेका छन् भने कति जीर्ण अवस्थामा रहेका छन् । तिनको संरक्षण, पुनर्निर्माण गर्नुपरेको छ भने अर्कातिर त्यसबेला सेनाले युद्धका लागि एक ठाउँबाट अर्को ठाउँमा जान प्रयोग गरेका मार्गहरूको पहिचान गरी तिनको समेत संवद्र्धन गर्न सके इतिहास संरक्षणको एक अर्को एक अध्याय थपिने कुरामा विश्वस्त बन्न सकिन्छ । यसतर्फ राज्य, प्रदेश सरकार, स्थानीय तह तथा नेपाली सेनालगायत सरोकारवालाहरूको ध्यान जान आवश्यक देखिन्छ ।   


Top