एमालेको अधोगतिको कारक आफैँ

हिमालय टाइम्स   POSTED ON : श्रावण ३१, २०७८ (८:१० AM)

एमालेको अधोगतिको कारक आफैँ

नेकपा एमाले माले र ममाक्र्सवादीको एकतापछि एउटा शक्तिशाली पार्टीका रूपमा विकसित बन्न पुगेको निकै वर्ष भइसक्यो । जब यी दुई पार्टीको एकता भयो त्यसपछिको अवधिमा यो पार्टी निरन्तर नेपालको दोस्रो शक्तिका रूपमा आफ्नो अस्तित्व कायम गर्न सफल भयो । यस एकताको झण्डै तीन दशक बितिसकेको छ । वास्तवमा माओवादी पार्टीले बीचमा संविधानसभामा पहिलो पार्टीको रूपमा आफ्नो उपस्थिति देखाएको अवस्थालाई एउटा कागताली मान्ने हो भने एमाले २०४६ सालको प्रजातन्त्रपछि निरन्तर नेपालको दोस्रो ठूलो शक्ति हो भन्दा अन्यथा मानिने छैन । द्वन्द्व र द्वन्द्व व्यवस्थापनपछि संविधानसभाबाट संविधान बनेपछि भने पहिलो निर्वाचनमै एउटा अनौठो र सत्ताकेन्द्रित समीकरण तयार भयो । 

हिंसाको राजनीतिबाट आएको माओवादी केन्द्र र सुरुमा हिंसाको राजनीति गरेर पछि जनताको नौलो समाजवादको नीति लिएर अगाडि बढिरहेको नेकपा एमालेबीच एकता भएर नेकपा नामक पार्टी बन्यो र संयुक्तरूपमा निर्वाचनमा गएका उनीहरूकै भारी बहुमत कायम भएको थियो । यसपछि पूर्वएमालेका केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभयो । पूर्वमाओवादी केन्द्रका पुष्पकमल दाहालसँगको सहमति उहाँले बिर्सिँदै गएपछि उहाँहरूबीचको विवाद सडकमै पोखियो । प्रचण्डसँग मावध नेपाल र उहाँका सहकर्मीहरू सडक संघर्षमा जानुभयो । उता माओवादीका केही नेताहरू केपी ओली निकट बनेर मन्त्री पदमा लोभिनु भयो तर हाल उहाँहरूको अवस्था अन्योलपूर्ण छ । पूर्वएमालेका नेता माधव नेपालहरू हालका दिनसम्म अनवरत रूपमा केपी ओलीका पक्ष र प्रवृत्तिको विरोधमै रहनु भएको छ । 

माओवादी र एमालेको एकता त सर्वोच्च अदालतको फैसलाबाटै विच्छेद भइसकेको छ । यसरी हेर्दा एउटा शक्तिशाली पार्टी नेकपा हाल विभाजित भएर इतिहासमै जंगबहादुरपछिको शक्तिशाली भनिएको पार्टी टुक्रिँदै गएर अब न्युक्लियस पार्टी बन्न लागेको अवस्था छ । अहंकारको आगोले जलेर खरानी भएको पार्टीको दृष्टान्त दिन सकिने अवस्थामा हाल एमाले पुगेको छ । माधव नेपाल पक्ष र धेरै स्वतन्त्र पर्यवेषकहरूले यसका लागि अर्गेलो केपी आलीलाई नै देखिरहेका छन् । तर, उहाँको दम्भ भने अझै कम भएको छैन । अहंकारको आगोमा जलेर खरानी बन्न लागेको अवस्थामा एमाले पुगेको र यसका लागि ओली नै जिम्मेवार रहेको तर्क हिजोका दिनसम्म ओली पक्षमै रहेका नेताहरूसमेतले बताइरहेका छन् । 

एउटा अभेद्य किल्लाका रूपमा रहेको नेकपा एमाले र माओवादी अनि एमाले पनि माधव गुट र ओली गुटमा विभाजित भएपछि एमाले हाल अत्यन्त कमजोर सावित भएको छ । निरन्तरको अधोगतितिर लाग्दै जाँदा आफ्नै आन्तरिक कारणले एमाले अब निकै कमजोर सावित भएको छ । हिजो प्रदेश–२ मा बाहेक अन्य छवटै प्रदेशमा प्रदेश सरकार बनाउन र संघमा शक्तिशाली संघीय सरकार बनाएर प्रजातन्त्र आगमनको इतिहासदेखि निरन्तर पहिलो शक्तिका रूपमा सत्तामा रहँदै आएको नेपाली कांग्रेसलाई पछि पारेर सरकार बनाउन सफल शक्ति हाल केन्द्रमा पनि अर्को निर्वाचन पहिले सत्तामा जाने कल्पनासमेत नगरी बसेको कांग्रेसलाई उक्त मौका दिनेगरी आपूm पछारिन पुगेको छ । यतिमात्र होइन अब प्रदेश सरकारबाट पनि एकपछि अर्को गर्दै बाहिरिनु परेको अवस्था छ । 

गण्डकी प्रदेशका शक्तिशाली मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङपछि हालै लुम्बिनी प्रदेशका अर्का प्रभावशाली मुख्यमन्त्री शंकर पोखरेलको बहिरगमन भएको छ । उहाँहरू दुवै केन्द्रीय सरकारका मन्त्री भइसक्नुभएका नेता हुनुहुन्छ । सुदूरपश्चिम र कर्णाली प्रदेशबाट एमाले पहिले नै बाहिरिएको थियो । अब बागमती प्रदेश र प्रदेश–१ मा मात्र एमालेको प्रतिनिधित्व छ । बागमती प्रदेशमा पनि एमाले रेड जोनमा रहेको अवस्था छ । यसरी एउटा शक्तिशाली पार्टीको यस्तो दूरावस्था बन्नुमा नेताहरूको अहंकार मुख्य दोषी हो । आफ्नै पार्टीलाई तहसनहस बनाएर पनि अझै आफ्ना कमीकमजोरी नस्वीकार्ने हो भने अब म फेरि जनादेश लिएर आउनेछु भन्ने उद्घोषको कुनै अर्थ रहने देखिँदैन । यो पनि अहंकार र दम्भको शेष अभिव्यक्ति हो भन्न हिच्किचाउनुपर्ने छैन । यस्ता अभिव्यक्तिले पनि एकतामा तगारो हाल्ने काम गरिरहेकै हुन्छ । 


Top